+
+
Shares

एसिड आक्रमणमा मारिएकी किशोरीका अभिभावक भन्छन् : हामी गरीबको कोही रहेनछ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ९ गते ३:००

८ असोज, काठमाडौं । सोमबार दिनको एक बजे । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पोस्टमार्टम विभाग अगाडि केही क्यामेराले घेरिएकी एक महिला भुँइमा थचक्क बसेर रोइरहेकी छन् । उनको काखमा छिन् पाँच महिनाकी छोरी ।

नजिकै उनका श्रीमान उत्तिकै विहृवल मुद्रामा छट्पटाइरहेका छन् । तर, फोनले एकछिन फुर्सद दिएको छैन । खुट्टामा चप्पल, निलो जिन्स पाइन्ट, पुरानो टिसर्ट र कालो ज्याकेट लगाएका उनी हुन् जादोलाल यादव । भूईंमा बसेकी उनकी कान्छी श्रीमती हुन्, जो आफ्नी सौताकी छोरीलाई आफ्नी छोरीजस्तै माया गर्थिन् ।

हुर्किएकी छोरीलाई एउटा दुष्टले एसिड प्रहार गरेर मृत्युमा धकेलेपछि जादोलाल दम्पत्ति भावविहृवल छन् । एसिड छाप्दा घाइते भएकी एउटी छोरीलाई अस्पतालमै छोडेर अर्को छोरीको अत्येष्टी गर्न लागेका जादोलाल वेला-वेला भक्कानिन्छिन् । एसिड पीडित सीमा बस्नेत उनलाई सम्झाउने प्रयास गर्छिन् ।

अब सम्झनाको शवलाई रौतहट चन्द्रनिगाहपुर-६ स्थित त्यही गाउँमा लैजानेछन् जादुलाल, जहाँ उनको सानो झुप्रो छ । बनमारा झार र माटोले लिपेको भित्ताहरु छन् ।

***

एसिडले शरीरको अधिकांश भाग जलेर उपचाररत सम्झना दासले दुई दिन पहिले मात्र मुख खोलेकी थिइन् ।

कीर्तिपुर अस्पतालको बेडमा होस खुल्नासाथ उनले बुवा जादोलाललाई भनेकी थिइन्, ‘त्यसले मार्‍यो मलाई बाबा ।’ कान्छी आमासँग भनिन्, ‘आमा स्याउ खाने ।’

आफ्नो पाँच महिनाकी छोरीलाई काखमा च्यापेर बजारबाट स्याउ ल्याइन् कन्छीआमाले । अलिकति स्याउ पनि टोकिन् सम्झनाले । आमाले मुखमा थोरै पानी राखिदिइन् । जादोलाल दम्पत्तिलाई त्यतिबेला छोरी बाँच्छिन् कि भन्ने आशा पलाएको थियो ।

तर, सम्झना अन्ततः मृत्युसँग हारिन् । आइतबार करिव १२ बजे उनको प्राणपखेरु उड्यो ।

सम्झनाको अन्तिम क्षणमा कान्छीआमा साथमा थिइन् । उनले धरधरी आँशु झार्दै भनिन्, ‘सँगै बसिरहेकी थिएँ । रात छिप्पिएको थियो । कति बजेको थियो थाहा छैन । छोरी एकाएक चल्मलाउन छोडी । अनुहार छामेँ । अहँ केही बोलिनन् । म आत्तिएर दौडिँदै श्रीमानसँग गएर भने, ‘हेर त बुढा सम्झनालाई के भयो ?’

***

२६ गते राति जादोलाल आफ्नै पुल हाउसमा व्यस्त थिए । उनले धेरै दुःख गरेर यो पुल हाउस सञ्चालनमा ल्याएका हुन् । उनले रिक्सा चलाए, तरकारी बेचे, डकर्मी काम गरे । धेरै मेहनत गरेर परिवारलाई भोको राखेनन् ।

त्यस दिन पनि पुलहाउसबाट घर फर्कने सुर गर्दै थिए । अकस्मात घरबाट चिच्याएको आवाज सुने । उनी हतारहतार घरतर्फ लागे । घरबाहिर बत्ति थिएन । मोवाइल बालेर परिवारका सदस्यहरु खोजे । जेठी छोरी सम्झना कालै भएकी थिइन् । कान्छी सुस्मिता पनि चिच्याउँदै थिइन् । पछि थाहा लाग्यो, उनीहरु निदाइरहेको बेला कसैले झ्यालबाट एसिड छ्यापेर भागेछ ।

जादोलाल भन्छन्, ‘सम्झनाको कुनै अंग बाँकी थिएन, जहाँ एसिड नपरेको होस् । उ बोल्न सक्ने अवस्थामा थिइन । सुस्मिताको दाहिने हर डढेको थियो । त्यतिबेला मेरो गोजीमा चार हजार रुपैयाँ मात्र थियो । भान्जालाई फोन गरेर केही पैसा मागेँ । जिल्लामा उपचार हुन सकेन अनि सिधै काठमाडौं दौडाएँ ।’


भर्खर १८ वर्षमा टेकेकी सम्झना सात कक्षामा पढ्दै थिइन् । १५ वर्षकी सुस्मिता ५ कक्षा पढ्छिन् ।

दुबै टोलीलाई उपचार गर्न काठमाडौं ल्याएका जादोलाललाई आर्थिक अभाव हुन थाल्यो । चन्दा संकलनमै चलाए उपचार । तीन दिन पहिले सम्झनाले बुवासँग भनेकी थिइन्, ‘मलाई रामबाबुले तारन्तार फोन गरिरहन्थ्यो । विभिन्न लोभ देखाएर सम्बन्ध राख्न ढिपी गर्थ्यो । बिहे गरौँ भन्थ्यो । त्यस दिन पनि निकै फोन गरेको थियो । मैले उसले भनेको कुरै सुनिनँ । त्यसैले मलाई एसिड हान्यो बाबा ।’

रोजगारीका लागि मलेसिया पुगेकी सम्झना र सुस्मिताकी आमा पनि काठमाडौं आइपुगेकी छन् । अहिले आँशु चुहाउँदै अर्की छोरी सुस्मितालाई अस्पतालमा कुरेर बसेकी छिन् उनी ।

जादोलाल निराश छन्, ‘मेरो छोरीको ज्यान लियो त्यसले । प्रहरीले त्यसलाई छोड्नु हुँदैन । तर, सरकारबाट खै केही सहयोग पाएको छैन । छोरी गइहाली, अव सरकारसँग के माग्नु ! हामी गरिवको कोही रहेनछ यो संसारमा ।’

प्रहरीले केही दिनअघि जदुलालकै छिमेकी रामबाबु पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तस्वीरहरूः चन्द्र अाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?