Comments Add Comment

तरकारी किनेर आउँदा बाटो ढुकेर एसिड आक्रमण

९ असोज, चितवन । एसिड आक्रमणमा परी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै नवलपुरमा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ ।

कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियार भरतपुर अस्पतालमा मृत्युसँग लडिरहेकी छन् । उनको अवस्था गम्भिर रहेको चिकित्सक डा. सुरेश प्रधानले अनलाइनखबरलाई जानकारी दिए ।

एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ । छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ ।

देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको डा. प्रधानले बताए । अन्य स्थानको घाउ भन्दा यो गम्भिर हेको डा. प्रधानले जानकारी दिए । देव्रे तर्फको पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ ।

बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अपराध स्वीकार गरेका छन् । प्रारम्भीक बयान दिएका विमलले ‘पूर्वसहमति अनुसार काम नभएकाले’ एसिड प्रहार गरेको बताएका छन् ।

योजनाबद्ध रुपमा बसन्तीमाथि एसिड प्रहार गरेको देखिएको नवलपुरका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । बिमलले तीजमा भारत जाँदा एसिड किनेर ल्याएका रहेछन् । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलको दाबी छ ।

कस्तो छ बसन्तीको अवस्था ?

भरतपुर अस्पतालको आइसीयूको भेन्टिलेटरमा राखेर बसन्तीको उपचार भइरहेको छ । आइतबार ८ बजे आकस्मिक कक्षमा भर्ना भएकी उनको राति नै अप्रेशन गरिएको छ ।

सर्जन डा. सुरेश प्रधान, डा. प्रितम गुरूङ, डा. ज्ञानेन्द्र न्यौपानेको टोलीले ३ घण्टा लगाएर बसन्तीको अप्रेशन गरेको हो । उनको दाहिने र देब्रे गालाका दुवैतर्फ एसिडका साथै चक्कु प्रहार भएको पाइएको छ । दायाँ गालाको हड्डी फुटेको छ ।

बिमलले बसन्तीको देव्रेतर्फको पेटमा प्रहार गरेको छुराले सानो आन्द्रा बाहिर आएको थियो । त्यसको अप्रेशन गरिएको डा. प्रधानले बताए ।

एसिडले अनुहार, घाँटी, पाखुरा र छातीमा असर गरेको छ । एउटा आँखामा पुरै क्षति भएको जस्तो देखिएको चिकित्सकले बताए । एसिडको असर श्वासप्रश्वासमा पुग्न सक्ने हुँदा समस्या जटिल पनि हुन सक्ने डा. प्रधानले बताए । चिकित्सक डा. प्रधानले भने, ‘अहिले यसै भन्न सकिने अवस्था छैन, अवस्था स्टेबल छ ।’

कसरी भयो घटना ?

बसन्ती परियार र बिमल शिर्पाली छिमेकी हुन् । बसन्तीका एक छोरा र एक छोरी छन् । श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा थिए ।

उनी हालै मात्र नेपाल फर्किएका छन् । आइतबार बसन्तीकी छोरी रितिषा चाउचाउ किन्न जाँदा बिमलले कुटपिट गरे । उनी रुँदै घर फर्किइन् । तर, जिस्काउँदा रोएकी होला भनेर अभिभावकले वास्ता गरेनन् । साँझतिर नजिकैको बजारमा तरकारी किन्न भनेर बसन्ती सँगै बस्दै आएकी मामाकी छोरी अनुलाई लिएर गइन् ।

तरकारी किनेर फर्कंदै गर्दा लुकेर बसेका विमलले पछाडिबाट बसन्तीको कपाल समातेर अनुहारमा एसिड खन्याइदिए । उनी अत्तालिएर छट्पटाउन थालिन् । त्यसपछि बिमलले तरकारी काट्ने चक्कुले बसन्तीको अनुहार, छाती, पेटमा जथाभावी छुरा हाने । अनुले छुट्टाउन खोज्दा उनीमाथि पनि चक्कु प्रहार भएको छ । भरतपुर अस्पतालमा उपचाररत अनुको हातमा ४ वटा टाँका लगाइएको छ ।

बसन्तीका श्रीमान यमनारायण र बिमल साथी हुन् । उनीहरुले १२ बर्ष अघि १४ दिनको फरकमा बिहे गरेका थिए । झण्डै उस्तै समयमा उनीहरु विदेश गएका थिए ।

बिमल साउदी अरबबाट ५ महिना अघि नेपाल फर्किए । उनकी श्रीमतीले भने सन्तानसहित माइतमा बस्दै आएकी छन् । श्रीमतीसँग डिभोर्स गर्ने प्रक्रियामा रहेका विमलले आफ्नो श्रीमतीलाई आँखा लगाएर हुनसक्ने यमनारायणले बताए । यही कारण यो घटना भएको पो होकी भन्ने आशंका उनको छ ।

बहिनी बसन्तीलाई भेट्न भरतपुर अस्पतालमा आएकी दिदी मिठुले बिमल र आफूहरुबीच नराम्रो केही नभएको बताइन् । ‘आउने जाने त सामान्य कुरा हो, हामी त देवर बाबु भनेर नै बोल्थ्यौं, तर उसले नराम्रो सोचेको रहेछ मिठुले भनिन् ।

बसन्तीका श्रीमान यमनारायणले विमलमाथि फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । ‘मलाई पैसा वा क्षतिपूर्ति चाहिएको छैन, जति खर्च लाग्छ म नै व्यहोरौंला तर, उसलाई पनि यस्तै गराउनुपर्छ,’ भरतपुर अस्पतालमा रहेका यमनारायणले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment