Comments Add Comment

सिन्धुपाल्चोकका ४८ हजार भूकम्पपीडितले टहरोबाट मुक्ति पाए

१० असोज, सिन्धुपाल्चोक । भूकम्प अति प्रभावित सिन्धुपाल्चोकमा ४७ हजार ९ सय ५४ घर निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणको प्रगति हेर्दा बलेफी गाउँपालिका सबैभन्दा अघि र भोटेकोशी गाउँपालिका सबैभन्दा पछि देखिएको छ ।

तर, सरकारले जोखिमस्थलका बस्ती छिटो स्थानान्तरण नगरिदिँदा १७३ परिवारले जोखिम स्थलमा नै घर निर्माण गरेर बस्न सुरु गरिसकेका छन् ।

गोर्खा भूकम्पको ठीक एक वर्ष अर्थात २०७३ वैशाखदेखि जिल्लामा निजी आवास पुनर्निर्माण सुरु भएको थियो । ८६ हजार ९ सय ७१ लाभग्राहीमध्ये २९ महिनाको बिचमा जिल्लामा ५५ प्रतिशत पुनर्निर्माण सकिएको छ ।

८३ हजार १ सय ७४ लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भएकोमा ८२ हजार ८ सय ४७ ले पहिलो किस्ताको अनुदान लिएका थिए । यस्तै ७४ हजार २ सय १९ ले तेस्रो र ४७ हजार ९ सय ५४ ले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिएको पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार आयोजनाका व्यवस्थापक इन्जिनियर माधवजंग कार्कीले जानकारी दिए ।

‘स्थानीय तहमा जनप्रतिनिधि आएसँगै जिल्लामा पुनर्निर्माणले तीव्रता पाएको छ । अहिलेकै रफ्तारमा पुनर्निर्माण अघि बढ्ने हो भने एक वर्षमा सबै निजी आवास पुनर्निर्माण सकिन्छ,’ व्यवस्थापक कार्कीले भने ।

४८ हजारले तेस्रो किस्ता लिए

तर, कामदार अभाव, निर्माण सामग्रीको अभाव, सडक लगायतका समस्याका कारण पुनर्निर्माणमा समस्या भएको उनले बताए । बैकिङ प्रक्रिया पनि झन्झटिलो भएकाले पीडितहरुलाई समस्या भएको उनको भनाइ छ ।

अहिले झण्डै ४८ हजारले तेस्रो किस्ता लिएका छन् तर घर निर्माण गर्नेको संख्या योभन्दा धेरै छ । केही प्राविधिक कारणले मात्रै सबै कागजपत्र प्राप्त नभएकोले तथ्यांकमा केही कमी देखिएको कार्की बताउँछन् ।

पुनर्निर्माण सुरु भएदेखि गएको आर्थिक वर्षसम्म निजी आवास निर्माणमा १६ अरब ९१ करोड २२ लाख रुपियाँ सिन्धुपाल्चोकमा मात्रै सकिएको छ । निजी आवास पुनर्निर्माण कार्यले जनप्रतिनिधिको देखिने मध्येको एउटा काम भएकाले सबै स्थानीय तहले पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए ।

लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले पुनर्निर्माण गर्न सहज होस् भनेर सडक व्यवस्थित बनाउने कामलाई प्राथमिकतामा राखिएको बताए । ‘हामी निर्वाचित भएदेखि नै पहिलो प्राथमिकता जनताको घर निर्माणमा सहज गराउनेमा लागेका छौं,’ नेपालले भने, ‘पुननिर्माणलाई सहज होस् भनेर गाउँ गाउँमा पुग्ने कच्ची सडकहरुलाई समेत व्यवस्थित गराउनका लागि सबै जनप्रतिनिधिहरु लागेका छौं ।’

‘स्थानीय तहले पाए एक वर्षभित्रै पुर्निर्माण सम्पन्न’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पछिल्लो समय प्रवलीकरण (रेक्टोफिटिङ) लाई पनि मान्यता दिएपछि ५ सय ६२ घर प्रवलीकरण गरिएको छ ।

गुनासो सम्बोधनमा सबैभन्दा बढी समस्या देखिएको छ । २३ हजार ९ सय ५४ ले गुनासो दर्ता गराएकोमा १० हजारको मात्रै गुनासो सम्बोधन भएको छ । पुनर्निर्माणको जिम्मा तत्कालै स्थानीय तहलाई दिने हो भने आगामी वर्षभित्र सिन्धुपाल्चोकमा भूकम्पले क्षती भएका सबै घर निर्माण सम्पन्न हुने बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले दाबी गरे ।

१२ स्थानीय तहमध्ये सबैभन्दा बढी घर निर्माण गर्नेमा बलेफी गाउँपालिका देखिएको छ । ६ हजार ४३ पहिचान भएका लाभग्राही मध्ये ५ हजार ६ सय ५४ ले पहिलो किस्ता, ५ हजार ४ सय ४५ ले दोस्रो र ४ हजार ५ सय ४६ लाभग्राहीले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिइसकेका छन् ।

पुनर्निर्माणमा भोटेकोशी गाउँपालिका सबैभन्दा पछि देखिएको छ । भेटेकोशीमा अहिलेसम्म २६ प्रतिशत मात्रै घर निर्माण सम्पन्न भएका छन् ।

१२ स्थानमा एकीकृत बस्ती

भूकम्पपछि जिल्लामा एकीकृत बस्ती निर्माणले पनि तिव्रता पाएको छ । मेलम्ची गिरानचौरमा धुर्मुस–सुन्तली फाउण्डेशनले एकीकृत बस्ती निर्माणको सुरुवात गरेसँगै अहिले जिल्लाका १२ स्थानमा एकीकृत बस्ती निर्माण भइरहेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको १४ नम्बर वडा भिमटारमा नायीका स्वेता खड्काले निर्माण सुरु गरिरहेको एकीकृत माझी बस्ती तिहारसम्म समुदायलाई हस्तान्तरण गर्ने योजना छ । स्वेता श्री फाउण्डेशनले माझी परिवारका लागि ५३ घर निर्माण गरिरहेको छ ।

त्यस्तै जिल्लाको पर्यटकीय स्थल हेलम्बुको तेम्बाथानमा अक्सफाम र जनहित ग्रामीण सेवा समितिले ह्योल्मोको परम्परागत सांस्कृतिक पहिचान झल्कने झ्याल, ढोकासहित एकीकृत बस्तीको निर्माण पनि तीव्र रुपमा भइरहेको छ ।

हेलम्बुमा कुल ४० घर आफुहरुको सहयोगमा निर्माण भइरहेको जनहित ग्रामीण सेवा समितिका कार्यक्रम संयोजक राजेन्द्र शर्माले जानकारी दिए । निर्माण भइरहेका घरमध्ये नौ घर सम्पन्न भएका छन् भने दुई घरमा छानो लगाउने काम भइरहेको छ । ३२ घरको डीपीसी सकिएको शर्माले बताए ।

पुससम्ममा स्थानीयलाई घर हस्तान्तरण सक्ने गरी काम भइरहेको जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले बताए । भूकम्पका कारण विस्थापित हेलम्बु १ यामालामा र टासीथाका ४० घरधुरीका तेम्बाथानमा घर निर्माण गरिएको न्यौपानेले बताए ।

जोखिम स्थानमा घर

भूकम्पपछि पुनर्निर्माण प्राधिकरणले बस्ती नै अन्यत्र स्थान्तरण गर्नुपर्ने पहिचान भएका स्थानहरुको पनि बस्ती स्थान्तरण नहुँदा समस्या देखिएको छ ।

बस्ती स्थानान्तरण नभएपछि कतिपय भूकम्प पीडितहरुले जोखिमस्थलमा नै घर निर्माण गरेका छन् । १७३ ले त जोखिम स्थलमा नै घर निर्माण गरेर बस्न समेत सुरु गरिसकेका छन् ।

हालसम्म १८४ लाभग्राहीलाई मात्रै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अझै १ हजार बढी लाभग्राहीलाई सुरक्षित स्थानमा सार्नु पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment