Comments Add Comment

भ्रम छरेर जनतालाई उत्तेजित बनाउने प्रयास भइरहेको छः मुख्यमन्त्री पोखरेल

१७ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कतिपय राजनीतिक दलहरुले अझै पनि अधिकारको लडाई टुंगिएको छैन भनेर जनतालाई उत्तेजित बनाउने काम गरिरहेको बताएका छन् ।

संविधानले सबै वर्ग, समुदाय, क्षेत्रका जनतालाई अधिकार सम्पन्न बनाइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले कतिपय दलले जनतामा भ्रम छरेर उत्तेजित बनाउने काम गरिरहेको बताए ।

प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कुनै दलको नाम नलिई अझै पनि अधिकारको लडाई बाँकी छ भन्दै हिंड्नु गलत निश्कर्ष भएको दावी गरे ।

संविधानमा केही कमी भए संविधानबाटै समाधान गर्न सकिने तर्क गर्दै संविधान बाहिरबाट निकास ननिस्कने स्पष्ट पारे ।

संविधानसभाबाटै राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र ल्याएर असम्भवलाई सम्भव बनाएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले हरेक समस्याको समाधान संविधानभित्रैबाट खोजिनुपर्नेमा जोड दिए । शान्ति सुरक्षाको विषय वहुआयामिक रहेको भन्दै उनले अपराध नियन्त्रणलाई मात्र नबुझ्न आग्रह गरे ।

शान्ति सुरक्षा सुशासनसंग पनि प्रत्यक्ष जोडिएको विषय भएकाले संगठित शक्ति (सिण्डिकेट), डन संस्कृति आदिका माध्यमबाट कानुनलाई हातमा लिन खोज्नेहरु,असंवैधानिक र कानन विपरीत काम गर्नेहरुलाई कडाईका साथ निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

शान्ति सुरक्षा कायम राख्न सबै सुरक्षा निकायले जनतासंग जोडिएर काम गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिए ।

जनतासंग जोडिएर काम नगर्ने, जनताको विश्वास नजित्ने सुरक्षा निकायले प्रभावकारी काम गर्न नसक्ने ठोकुवा गर्दै उनले जनतासंगको सम्बन्ध जीवन्त बनाउन सुझाव दिए ।

नेपाली सेना लगायत नेपालका सुरक्षा निकायहरुलाई राष्टिय सुरक्षाका लागि कुनै विदेशीसंग युद्ध लड्न पर्ने अवस्था नरहेको उल्लेख गर्दै उनीहरुले राष्ट निर्माणको राष्ट्रि य मनोविज्ञान तयार गर्ने काम गर्नुपर्ने धारणा राखे ।

सुरक्षाको विषय स्थानीय, प्रदेश र संघको भनेर छुट्याउन नमिल्ने भन्दै कन्चनपुर घटनाले सिंगो देशमा तरंग ल्याएको उदाहरण मुख्यमन्त्रीले दिए ।
अपराधी पहिचान हुन समय लाग्नसक्ने तर नागरिकले अनुसन्धानमा सुरक्षा निकायले उपेक्षा गरेको महसुस गरे त्यहां अविश्वास र समस्या पैदा हुने मुख्यमन्त्रीले बताए ।

कन्चनपुर घटनामा अनुसन्धानमा हेलचेक्राई देखिएकाले सुरक्षा निकायप्रति आक्रोश पैदा भएको उदाहरण दिंदै अनुसन्धानमा इमान्दारिता देखाउन निर्देशन दिए ।

कतिपय अवस्थामा घटना र अनुसन्धानलाई प्रभावित पार्न अपराधीहरुको पनि घुसपैठ हुने भन्दै मुख्यमन्त्रीले उनीहरुलाई समयमै पहिचान गर्नुपर्नेमा जोड दिए ।

सूचना प्रविधि र सञ्चारका कारण समाज धेरै खुला भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले कन्चनपुर घटनाबाट पाठ सिकेर आफ्ना कार्यसम्पादनलाई जवाफदेहितापुर्ण,वैज्ञानिक र पारदर्शी बनाउन पनि सुरक्षा निकायलाई निर्देशन दिए ।

गोष्ठीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. मानबहादुर विकेले प्रदेशभित्रको शान्ति सुरक्षा कसरी सबल र सक्षम बनाउने भन्ने उद्देश्यले गोष्ठी गरिएको बताए ।

गोष्ठीमा प्रदेश ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख,अनुसन्धान प्रमुख,सशष्त्र प्रहरी प्रमुख र नेपाली सेनाका पृतनापति सहभागी छन् ।

गोष्ठीमा १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, चुनौति, समस्याको समाधान र महिला हिंसा,सवारी दुर्घटना,लागू औषध नियन्त्रण,चोरी निकासी नियन्त्रणमा गरिएका उपायहरुबारे जानकारी गराउने छन् ।

यस्तै प्रदेश ५ टाफिक कार्यालयले प्रदेशको टाफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनिकरणको प्रयास,चुनौति र योजना, राष्टिय अनुसन्धान निर्देशकबाट सूचना संकलन तथा वितरणको अवस्था,प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतबाट समष्ठीगत सुरक्षा अवस्था र योजनाको बारेमा जानकारी गराइने छ ।

आन्तरिक मामिला तथा काननू मन्त्रालयका सचिवले विपद व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय कार्यक्रमको तयारीबारे जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment