Comments Add Comment

नेकपा एकताको एक वर्षः बाबुरामको बहिर्गमनदेखि माधव नेपालको गुनासोसम्म

१७ असोज, काठमाडौं । गत वर्ष दशैं मनाइरहेकै बेला पनि रुकुम, दोलखालगायत कतिपय जिल्लामा तत्कालीन एमाले र माओवादीका कार्यकर्ताहरु आपसमा सांघातिक हमलामा उत्रिरहेका थिए । तर, सबैलाई चकित पार्दै त्यही दिन केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सातबुँदे सम्झौतामा हस्ताक्षर गर्दै चुनाव गठबन्धन र पार्टी एकताको दशैं उपहार दिएका थिए ।

असोज २ गते सम्पन्न स्थानीय तहको तेस्रो चरणको चुनावसम्म एकले अर्कोलाई सिध्याउन कुनै हर्कत बाँकी नराखेका एमाले र माओवादी असोज १७ गतेसम्म पुग्दा चुनाव मिलेर लड्नेमात्र होइन, एउटै कम्युनिस्ट पार्टी बनाउने तहमा पुग्नु आफैंमा सरप्राइज थियो । जब कि दशैं विदा चलिरहँदा पनि आसन्न चुनावमा कांग्रेस र माओवादी मिलेर एमालेलाई पराजित गर्ने चर्चाले बजार तातेको थियो ।

एमाले र माओवादी एकताको सूत्रपात भएको आज ठिक एक वर्ष पुगेको छ । एक वर्ष बित्दा पार्टी एकीकरण समेत भइसकेको छ । सम्भवतः दशैंपछि तिहार अघिको बीचमा नेकपाका सबै तहका कमिटीहरु पनि एकीकरण भइसक्नेछन् । दुनियाले कल्पना गर्न नसकेको एमाले माओवादी एकीकरण कसरी सम्भव भएको थियो ? को को थिए यस एकताका सूत्रधार ?

एमाले माओवादी एकता शुरु भएको वर्षगाँठ मनाइरहँदा हामी हाम्रा पाठकलाई एकपटक अतिततर्फ फर्काउँदैछौं ।

सके निल्ने, नसके मिल्ने

एमाले माओवादी एकीकरण २०७४ को दशैं विदाको मात्र खेल थिएन । यो कम्तिमा एक दशक लामो प्रयासको प्रतिफल थियो । यसबीचमा एमाले र माओवादीले एकले अर्कोलाई निल्ने प्रयास गरे । एकले अर्कोलाई निल्न नसकेपछि दुवै पार्टी अन्ततः मिल्ने निष्कर्षमा पुगेका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी ठूलो मतान्तर सहित मुलुकको पहिलो दल बनेपछि प्रचण्डले आन्तरिक भेलाहरुमा भनेका थिए-अब सके एमालेलाई निल्ने नत्र उसँग मिल्ने नीति अनुरुप नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ ।

सके मिल्ने नसके निल्ने नीति कुनै बेला माओवादीले लियो भने त्यहि नीति एमालेले २०७० को संविधानसभा चुनावपछि लिएको हो । एकले अर्कोलाई निल्ने नीति असफल भएपछि अन्ततःसबैलाई सरप्राइज दिदै यी दुई ठूला कम्युनिस्ट पार्टी मिल्ने निर्णयमा पुगे ।

माओवादीले शान्ति प्रक्रियामा आएपछि सबैभन्दा ठूला दुश्मन देखेको थियो केपी ओलीलाई । ओलीमाथि तत्कालिन माओवादीले पटक पटक बैचारिक मात्र होइन भौतिक आक्रमणको प्रयास समेत गरेको थियो । ओली पनि समकालिन नेताहरुमा माओवादीको सबैभन्दा उग्र आलोचक थिए ।

ओली जब नेकपा एमालेको अध्यक्ष निर्वाचित भए,त्यस लगत्तै उनका बैचारिक आर्किटेक्ट शंकर पोखरेलले अनलाइनखबरको एउटा अन्तर्वार्तामा भनेका थिए-ओली र प्रचण्डको रिस्क लिने र लचकता तथा कठोरताको हद पार गर्ने स्वभाव मिल्छ । यी दुई नेताकै नेतृत्वमा दुई पार्टी एकता हुनसक्छ ।

शंकर पोखरेलको यो भविष्यवाणी केही वर्षभित्रै सत्य सावित भयो । एमालेले स्थानीय चुनावमा माओवादीलाई निल्न खोजेकै थियो । तर माओवादी निर्णायक सिटसहित तेस्रो भएपछि दुवैका लागि एकता अनिवार्य बन्यो ।

यी हुन् एकताका सूत्रधार

एमाले माओवादी एकता केही दिन वा महिनाको प्रयासबाट भएको होइन । दुवै पार्टीका केही नेताहरुको १० वर्षदेखिको निरन्तर प्रयासबाट चुनावी तालमेल हुँदै एउटै पार्टी निर्माणको चरणमा पुगेको नेकपाका महासचिव बिष्णु पौडेल स्मरण गर्छन् । पौडेल ती नेता हुन्, जो यो एकताका एक प्रमुख सूत्रधारमा पर्छन् ।

कम्युनिस्ट पार्टी स्थापनाको ६८ वर्षपछि नेपालमा एकीकृत कम्युनिस्ट पार्टी बनाउने अभियानका पर्दा पछाडिका खेलाडी को को हुन् ? हामीले दुवैतिरका सूत्रहरुसँगको चरणबद्ध छलफलपछि निकालेको निष्कर्ष हो-यो एकताका १० वर्षदेखिका निरन्तर सूत्रधार एमालेका बामदेव गौतम र बिष्णु् पौडेल हुन् । माओवादीबाट भने समयक्रममा पात्रहरु फेरिएका थिए ।

एक वर्षअघि आजकै दिन भएको सरप्राइज एकताका सूत्रधार माओवादीबाट जनार्दन शर्मा बने भने एमालेबाट बामदेव र बिष्णु पौडेल नै थिए । गौतम र पौडेलले केपी ओलीको दूतका रुपमा काम गरका थिए भने ,शर्माले प्रचण्डको दूतका रुपमा । उनीहरुबीच दर्जनौं पटक भेटघाट र छलफल भएरमात्र दुई नेता एक ठाउँमा बस्ने वातावरण बनेको थियो ।

ओलीले माओवादीसँग एकताका लागि ट्रयाक वानमा बामदेव गौतम र बिष्णु पौडेललाई निरन्तर लगाएकै थिए । ‘ट्र्याक टु’मा उनले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पनि लगाइरहेका थिए । जसले माओवादीका बिभिन्न तहका नेताहरुलाई इंगेज गराए ।

एमालेका तत्कालिन उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले आ-आफ्नै ढंगबाट माओवादीलाई कांग्रेससँगको सहकार्यबाट अलग गराउने प्रयास जारी राखेका थिए । किनकि त्यतिबेला पनि कांग्रेसले माओवादीलाई ४० प्रतिशत सिट दिएर संसदीय चुनावमा तालमेल गर्ने प्रस्ताव राखिसकेको थियो । तर, स्थानीय चुनावमा देशका ९३ स्थानीय तहमा कांग्रेससँग गरिएको तालमेल आफ्नो लागि फलदायी नभएपछि माओवादी नेताहरुमा छटपटी थियो ।

माओवादी एक्लै लड्दा धेरै ठाउँमा नजित्ने र कांग्रेससँग तालमेल गर्दा कांग्रेसको भोट माओवादीमा नआउने यथार्थ बुझेर एमालेसँग एकता बाध्यात्मक बनिसकेको थियो । कांग्रेसको आँखा छलेर गरिएका वार्ताहरु निष्कर्षमा पुग्ने बेलामात्र एमालेका झलनाथ खनाल, माधव नेपाल तथा माओवादीका नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादलहरुलाई सहभागी गराइयो ।

दुवैतिर दबिएको असन्तुष्टि

अघिल्लो वर्ष विजयादशमीको जनताले टिका लगाइरहेका बेला ओली र प्रचण्ड माइतीघरस्थित एक व्यवसायी नविन कँडेलको घरमा भेला भएका थिए । उनीहरुलाई त्यहाँ लैजाने विष्णु पौडेल र जनार्दन शर्माले एउटा कागजमा सही गर्न दबाव दिए । ‘आजै सही गर्ने र ?’ प्रचण्डले सोधेका थिए ।
तर जनार्दन शर्माले कड्किदै आज नगरे तपाईहरुको भर छैन । एउटा-एउटा कागज आफ्नै खल्तीमा राख्नुस् । हामी बरु यो सहमतिको कागज लिदैनौं । तर, आजै हुनुपर्छ । ट्र्याक सुटमै हतार हतार गएका बिष्णु पौडेलले पनि आजै गर्नुपर्छ भनेर दबाव दिए ।

वास्तवमा त्यो कागजमा एमाले र माओवादी दुवैले सूर्य चिन्हबाट चुनाव लड्ने सहमति पनि थियो । प्रचण्ड र ओलीले सही गरेर एक एकवटा कागज बोके । तर, सूर्य चिन्हमा चुनाव लड्ने प्रचण्डको सहमतिमा महरा र वर्षमान लगायत माओवादी नेताहरुले असहमति जनाएपछि प्रचण्ड ब्याक भएको पौडेलले अनलाइनखबरलाई बताएका थिए ।

एमालेसँगको एकता प्रक्रियामा कृष्णवहादुर महरा र वर्षमान पुन असन्तुष्ट रहे पनि उनीहरुले सार्वजनिक बिरोध गरेनन् । १६ बुँदे सम्झौताका बेला एमालेसँग पार्टी एकीकरण गर्नुपर्छ भनेर लागेका पुन पछिल्लो प्रक्रियामा प्रचण्डले जनार्दन शर्मालाई अघि सारेपछि चुपचाप रोल्पातिर व्यस्त भएका थिए । उनी एकता घोषणासभामा समेत उपस्थित भएका थिएनन् । यद्यपि उनले पार्टी एकताको आफू विरोधी नभएको अनलाइनखबरसँगैको अन्तर्वार्तामा उतिबेलै बताएका थिए ।

एमालेमा माओवादीसँग पार्टी एकता गर्नेसम्मको ओलीको प्रस्तावको कोही पनि बिरोधमा भएनन् । तर माधव नेपालले आफ्नो भूमिका कमजोर पार्न खोजिएको आशंकामा चित्त दुःखाएको चर्चा त्यतिबेला चलेको थियो । शान्ति प्रक्रियादेखि अहिलेसम्मको आफ्नो भूमिकालाई नजरअन्दाज नगर्न उनले ओलीलाई पटक पटक चेतावनी समेत दिएका थिए । जुन कुरा अहिले पनि उनले बेलाबेलामा प्रकट गरिरहेका हुन्छन् ।

पार्टी एकीकरण संयोजन समितिमा तत्कालिन एमालेबाट ४ जना सदस्य राख्दा झलनाथ खनाललाई छुटाइयो । पार्टी अध्यक्ष भइसकेका पूर्व प्रधानमन्त्री तथा ओलीपछिको बरियतामा रहेका नेता खनाललाई संयोजन समितिमा नराख्न माधव नेपालले पनि साथ दिएको भन्दै खनालले तीब्र असन्तुष्टि जनाए ।

संयोजन समितिमा खनाल र इश्वर पोखरेलमध्ये को रहने भन्ने प्रश्न उठेपछि तत्कालिन महासचिव कार्यकारी भएकाले पोखरेललाई राखिएको थियो । केही समयको विवादपछि प्रचण्डको समेत आग्रहमा खनाललाई हाइकमाण्डमा थपिएको थियो, जुन हाइकमाण्डमा पौडेल थपिएपछि अहिले सचिवालय बनेको छ ।

एक वर्षअघि एमाले माओवादी एकताको सूत्रपात हुनुभन्दा अघि के के घटनाक्रम भएका थिए ? एकताका सूत्रधारहरुसँगको कुराकानीका आधारमा केही घटनाक्रम सिलसिलेवार ढंगमा प्रस्तुत गर्न खोजिएको छ ।

सिलसिला १ः विसं २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएर शान्ति सम्झौता हुनासाथ एक दिन एमालेका तत्कालिन स्थायी कमिटी सदस्य बामदेव गौतम र बिष्णु पौडेल बागबजारस्थित एक होटलमा प्रचण्डलाई भेट्न गए । त्यतिबेला माओवादी नेताहरुको स्थायी आवास व्यवस्था भइसकेको थिएन । उनीहरुले त्यहाँ प्रचण्ड अब माओवादी आन्दोलन सकिएकाले अलग पार्टी भएर बस्नुको औचित्य छैन भन्दै एकताको प्रस्ताव गरे । यो नै एमाले र माओवादीबीच एकताको पहिलो शुरुवाती छलफल थियो ।

सिलसिला २ः २०६४ को चुनावअघि एमाले र माओवादीबीच पहिलो पटक औपचारिक रुपमै एकताको वार्ता भयो । नयाँ बानेश्वरस्थित एक घरमा भएको त्यो वार्तामा एमालेबाट तत्कालिन महासचिव माधवकुमार नेपाल,केपी शर्मा ओली,झलनाथ खनाल,बामदेव गौतम,इश्वर पोखरेल र बिष्णु पौडेल थिए । माओवादीबाट प्रचण्ड,मोहन वैद्य,बाबुराम भट्टराई,रामवहादुर थापा बादल,कृष्णवहादुर महरा र देव गुरुङ सहभागी थिए ।

सुकुलमा बसेर उनीहरुबीच लामो छलफल भयो । एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न दुवै पार्टीका नेताहरु नीतिगत रुपमा सहमत भएर उठेका थिए । तर यो सिलसिला टुंगिदा मोहन वैद्य र बाबुराम भट्टराई भने छुट्न पुगे ।

सिलसिला ३ः बानेश्वर वैठक लगत्तै एमालेले केन्द्रीय कमिटी बैठक राखेर एउटै कम्युनिस्ट पार्टी निर्माणमा अघि बढ्ने निर्णयनै गरायो । एमाले बैठकपछि बिष्णु् पौडेललाई अन्तरपार्टी निर्देशन तयार गर्न लगाइयो । संगठित सदस्यसम्म जाने अन्तरपार्टी निर्देशनको एउटा कपी बोकेर बामदेव गौतम र बिष्णु पौडेल प्रचण्डलाई भेट्न गए ।

त्यतिबेला प्रचण्ड बौद्धको एक होटलमा बस्थे । त्यहि होटलको एउटा कोठामा प्रचण्ड,बाबुराम र मोहन वैद्यलाई बामदेव र बिष्णु पौडेलले एमालेको अन्तरपार्टी दिर्नेशननै देखाए । यो विल्कुल नयाँ परिघटना थियो ।

सिलसिला ४ः एमालेको निर्णयपछि तत्कालिन नेकपा माओवादीको काभ्रे फुलबारी रिसोर्टमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको मार्गनिर्देशक सिद्धान्तबाट प्रचण्डपथ हटाएर एमालेसँग एकताको ढोका खोल्यो । दुई पार्टीबीच पार्टी एकताका लागि डकुमेन्टनै आदान प्रदान भए पनि त्यो बेला एमालेको दम्भ र माओवादीको अति महत्वकांक्षाका कारण एकता होइन तालमेल समेत हुन सकेन ।

सिलसिला ४ः पहिलो संविधानसभामा तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने प्रयास असफल भएपछि एमालेका बिष्णु पौडेल र माओवादीका टोपवहादुर रायमाझीले लुम्बिनीमा मात्रै भने पनि तालमेल गर्न खोजे । लुम्बिनीका २६ मध्ये १३/१३ सिट बाँड्ने सहमति भयो ।

प्रचण्डनिवासमा एमालेका पौडेल र रामनथ ढकाल गएर वार्ता गरे । गुल्मी ३ मा पौडेलले गोकर्ण विष्ट छाड्न नसक्ने र प्रचण्डले चन्द्रवहावदुर थापा सागर छाड्न नसक्ने अवस्थामा पनि अन्तिममा प्रचण्ड पछि हटे । तर त्यो तालमेल पनि अन्तिममा भाँडियो ।

चुनावबाट माओवादी ठूलो दल बनेर आएपछि एमालेका बामदेव र बिष्णु पौडेललेनै माओवादीसँग पुनः वार्ता थाले । प्रचण्ड नेतृत्वको सरकारमा दुवै एमाले नेता मन्त्री बनेर गए । तर प्रधानसेनापति काण्डका कारण यो एकता पनि लामो समय चल्न सकेन ।

पछि वर्षमान पुन र जनार्दन शर्माहरुको पहलमा प्रचण्ड झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन सहमत भए । खनालले निर्णय क्षमता देखाउन नसकेपछि एमाले माओवादी एकताको प्रक्रिया अघि बढ्न सकेन ।

सिलसिला ५ः वैशाख १२ को बिनाशकारी भूकम्पको धक्काले नदीको दुई किनारामा रहेका ओली र प्रचण्डलाई एउटै धारमा ल्याइदियो । त्यसअघिसम्म ओली र प्रचण्ड आम्ने साम्ने भएर दुई धारको नेतृत्व गरेका थिए ।

कसैले सोचेकै थिएनन्,यी दुई नेता मिल्छन् भनेर । तर उनीहरु मिलेर १६ बुँदै सम्झौता हुँदै भारत र देशभित्रकै शक्तिहरुको असहमतिबीच संविधान जारी भयो । यसबीचमा प्रचण्डको समर्थनमा ओली प्रधानमन्त्री मात्र भएनन् दुई पार्टी एकीकरणको प्रक्रिया समेत अघि बढेको थियो ।

सिलसिला ६ः आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुरुप ओलीले आफूलाई सत्ता हस्तान्तरणमा आनाकानी गरेपछि प्रचण्डले ओलीकै शब्दमा ‘छापामार शैलीमा झ्याप्पै’ अविश्वास प्रस्ताव ल्याएर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । यो घटनापछि एमाले र माओवादीको आरोप प्रत्यारोप निकृष्ट तहमा पुग्यो । यो तिक्तता स्थानीय तहको चुनावसम्म पुग्दा कांग्रेससँगै माओवादीको तालमेलसम्म पुग्यो ।

सिलसिला ७ः भरतपुर लगायतका केही ठाउँ बाहेक कांग्रेससँगको तालमेल माओवादीका लागि लाभदायक नभएपछि जनार्दन शर्माले पुनः एमालेसँग छलफल अघि बढाएका थिए । हुन त स्थानीय तहमा तालमेलका लागि एमालेले माओवादीसँग निकैपटक छलफल गरेको थियो । तर सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न माओवादीले नचाहेको शर्माले हामीसँगको कुराकानीमा पनि स्वीकार गरेका छन् ।

एमालेसँग तालमेल गर्ने भए माओवादीले ४ मध्ये २ महानगर मागेको थियो जुन ओलीले अश्वीकार गरे । केही ठाउँमा स्थानीय आवश्यकताका आधारमा एमालेसँग तालमेल गरेपनि आम रुपमा कांग्रेस माओवादी तालमेल भयो । यसले एमाले माओवादी तिक्तता विशेष गरि भरतपुर प्रकरणले झनै बढ्यो ।

सिलसिला ८ः कांग्रेस माओवादी तालमेलको प्रक्रिया २ नम्बर प्रदेशको चुनावसम्म आउँदा लगभग भत्कियो । माओवादीलाई अत्यन्तै कम आँकेर कांग्रेसले हेपेको र भरतपुर महानगरको कार्यपालिका चुनावमा कांग्रेसले घात गरेर एमालेलाई जिताएपछि प्रचण्ड झस्किए ।
उनले भरतपुर प्रकरणलाई लिएर देउवासँग यसले भविष्यको गठबन्धनलाईनै असर पार्न सक्ने चेतावनी दिए । तर देउवाले प्रचण्डको कुरालाई गम्भिरतापूर्वक लिएनन् । उनले माओवादीलाई केही सिट दिएर एमाले हराउने दाउ खेलेका थिए । यहीबीचमा एमालेले राम्र्रैसँग खेल्यो ।

स्थानीय तहको चुनावमा माओवादी कांग्रेससँग मिलेकै कारण धेरै ठाउँ गुमाउनुपरेको र आउने चुनावमा कांग्रेस माओवादी तालमेल हुँदा पहिलो पार्टी बन्ने लक्ष्यमा धक्का लाग्ने देखेपछि एमालेले माओवादीसँग तालमेल होइन एकताकै प्रस्ताव अघि सार्‍यो । देउवाले जतिबेला यो कुरा थाहा पाए त्यतिन्जेलसम्म धेरै ढिला भइसकेको थियो ।

बामदेवले त्यतिबेलै प्रचण्डले गम्भिर भूल गरेको, अधैर्य बनेकाबताउ । सात जुनीसम्म पाप लाग्ने कुरा पनि गरे । तर स्थानीय चुनावकै बेला उनले अनलाइनखबरमार्फत एउटै चुनाव चिन्हबाट चुनाव लड्ने प्रस्तावमात्र राखेनन्,ढिलो चाँडो आफ्नो लाइनमा एमाले र माओवादी आउने ठोकुवा गरे । उनले लेख लेखेको एक महिना नपुग्दै त्यो परिघटना भयो ।

सिलसिला ९ः एकता माओवादीको आवश्यकता र एमालेको बाध्यता बनिसकेको थियो । आन्तरिक र बाहृय चलखेलले एकता भाँडिने डरले रातारात दुई पार्टीबीच लिखित सहमति भयो । एमालेले एकादशीकै दिन ओलीको प्रस्तावलाई कमा र फुलिस्टम समेत परिवर्तन नगरी हुबहु अनुमोदन गर्‍यो ।

माओवादीमा भने गोपाल किराती,मणी थापा,मात्रिका यादव,आहुती लगायतका नेताले असहमति जनाए । अन्य नेेताले मुखले बिरोध गरेनन् । किराती र आहुती पार्टी एकीकरणमै सहभागी भएनन् । योसँगै १० वर्ष लामो एकता,संघर्ष र फेरि एकताको परम्परागत ‘बामपन्थी जार्गन’ व्यवहारमा प्रयोग भयो ।

त्यसबीचमा एमालेले हृदयेश त्रिपाठी नेतृत्वमा राजपाको एउटा हिस्सालाई पनि आफूतिर तानिसकेको थियो । बाबुराम भट्टराईको नयाँ शक्ति पनि एमालेकै सूर्य चिन्हमा बिलिन भइसकेको थियो ।

तर गोरखा २ बाट बाबुरामले चुनाव लड्न नपाएपछि गठबन्धन घोषणसभामा सहभागी भएर भाषण गरेका बाबुराम एकाएक बाहिरिएर कांग्रेससँग तालमेल गर्न पुगे ।

गोरखा २ बाबुरामलाई नदिनुमा तत्कालिन माओवादीको इगो समस्या थियो । अन्ततः माओवादी नेता नारायणकाजी बाबुरामसँग पराजित भए । यदि बाबुरामप्रति माओवादी अनुदार नभएको भए सम्भवतः बाम गठबन्धन एक्लैको दुई तिहाई बहुमत आउने रहेछ ।

एकताका आरोह अवरोह र भावी परिदृष्य

एक वर्षअघि सात बुँदे सम्झौता भएर चुनावी गठबन्धन हुँदै पार्टी एकता गर्ने निर्णयपछि पनि तत्कालिन एमाले र माओवादीबीच धेरै समस्या आए । ईश्वर पोखरेल संयोजकत्वको सिट बाँडफाँड समितिले धेरै मेहनत गरेर एकताको समेत आधार तयार पारेको थियो । यद्यपी त्यतिबेला पूर्व एमालेभित्र माधव नेपाल पक्षलाई ठेगान लगाउन सिट बाँडफाँडमै गडबडी गरिएको आरोप पनि लाग्यो ।

जुन आरोप अहिले पार्टीका प्रदेश र जिल्ला कमिटीहरु एकीकरणमा पनि लागिरहेकै छ । जति अशन्तुष्टि भए पनि एमाले र माओवादीका कुनै नेता कार्यकर्ताले पार्टी एकताको बिरोध गरेनन् । यति चाँडै पार्टी एकीकरण हुने मुख्य कारण भनेकै एकता दुवै पक्षको आवश्यकता भइसकेको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६०/४० को घोषित भागबण्डाबाट शुरु भएको एमाले माओवादी एकीकरण राष्ट्रियसभा र प्रदेश सरकार गठनसम्म आइपुग्दा ७०/३०मा पुग्यो । चुनावी परिणामले दिएको त्यो म्याण्डेट अघोषित थियो र राष्ट्रियसभा तथा प्रदेश सरकार गठनमा मात्र लागु भयो ।

पार्टी एकताका सन्दर्भमा धेरै विवाद भए । एकीकरण नहुने ढंगले दुवैतिरबाट छलफल बहस र सार्वजनिक आरोप प्रत्यारोप पनि भए । तर एकताका सूत्रधारहरु भित्रभित्रै लागिरहेकै थिए । प्रचण्डको ‘फियर फ्याक्टर’लाई सम्बोधन गर्न माधव नेपालदेखि ईश्वर पोखरेल, बामदेव गौतम र बिष्णु पौडेलहरुले मेहनत गरे ।

अन्ततः ओली र प्रचण्डबीच प्रधानमन्त्रीमा आलोपालो, दुवैजना अध्यक्ष हुने लगायतका केही लिखित र केही साक्षी राखेर सहमति भए । केन्द्रीय कमिटीमा माओवादीले करिव ४५ प्रतिशत पायो । अझ प्रदेश र जिल्ला तहमा पुग्दा बारबरीको हैसियतमा हुनसक्ने देखिन्छ ।

माओवादीले पार्टी एकीकरणमा अवरोध आइरहँदा भनेको थियो-चुनावमा जाँदा ६०/४० मा गयौं । तर पार्टी एकता बराबरी हैसियतमा हुनुपर्छ ।

एमाले माओवादी एकताको सूत्रपात भएको ठिक एक वर्ष पुग्दा यी दुई पार्टीको सांगठानिक एकीकरण टुंगि नसके पनि हिजोका पक्षधरता र गुटहरु नयाँ आधारमा गठन र विघटनको सिलसिला शुरु भएको छ ।

माधव नेपालको पछिल्लो बगावत त्यसको संकेत हो । अब २ वर्षपछिको महाधिवेशनलाई केन्दि्रत गरेर बन्ने नेकपाका धुरीभित्र कसले कति मान्छे पाल्न सक्छन् ? त्यसका आधारमा एशियाकै शक्तिशाली कम्युनिस्ट पार्टीको भावी कमाण्डर तय हुनेछन् ।

(नेकपा एकीकरणका प्रमुख सूत्रधारहरुसँग गरिएको अनौपचारिक कुराकानीमा आधारित टिप्पणी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment