Comments Add Comment

दशैंको असन बजारः जे छोयो त्यही महंगो !

१७ असोज, काठमाडौं । असन बजारलाई दशैंले छपक्कै छोपिसकेको छ । लुगाफाटा, मरमसाला, टिका सरदमदेखि भाँडाकुँडासम्मका पसलमा उपभोक्ताको भीड देखिन्छ । असन त्यसै पनि भीडभाड हुने ठाउँ हो । दशैंको मुखमा त खुट्टा टेक्ने ठाउँ छैन ।

सबै किसिमका सामान पाइने भएकाले दशैंको किनमेल गर्ने धेरै उपभोक्ता असन बजार पुग्ने गरेका छन् । असनको वल्लो छेउदेखि पल्लो छेउसम्म नियाल्दा बुढापाकाहरु टिकासरदम र भाँडाकुँडा पसलमा झुम्मिएका देखिन्थे भने युवायुवती जुत्ता, कपडा र कस्मेटिक पसल चहार्दै थिए ।

हामीले केही उपभोक्ता र विक्रेतासँग विगतका वर्ष र यसपालीको दशैंको किनमेल अनुभवबारे सोध्यौं । धेरैजसोले वर्षैपिच्छे भाउ बढ्दै गएको सुनाए । विक्रेताले भने आयात गरिएका सामानको भन्सार शुल्क वृद्धि भएकाले महंगी बढेको दावी गरे ।

मरमसलाको पसलमा भेटिएकी बिशालनगरकी ५४ वर्षीया महालक्ष्मी कँडेल भन्दै थिइन्, ‘अरु जे भएपनि खानेकुराको भाउ नबढ्दिए हुन्थ्यो ।’ बजार महंगिनुमा सरकार नै दोषी रहेको उनको बुझाई छ ।

दुई छोरी लिएर दशैंको किनमेलमा आएकी मध्यपुर थिमीकी ४६ वर्षीया कृष्णादेबी बारेलाई लत्ताकपडा पोहोरभन्दा निकै महंगो लाग्यो । सारी पसलमा भेटीएकी उनले भनिन्, ‘एउटैलाई ८–९ हजार भन्छन्, कसरी किन्नु ?’

स्वयंम्भूका राजेश तामाङ कपडा पसलका विक्रेतासँग पाइन्टको मूल्य बढी भयो भन्दै बार्गेनिङ गरिरहेका थिए । पोहोर १६ सय रुपैयाँमा किनेको जस्तै पाइन्टको अहिले २५०० भनिएपछि उनको पारो तातेको रहेछ ।

‘कपडा उही हो, रेट कसरी यति धेरै हुन्छ,’ राजेशले यति भन्न नपाउँदै पसलवालाले जवाफ फर्काए, ‘सरकारले भन्सार बढायो, अनि मूल्य बढिहाल्छ नि ।’ तर, राजेश भने भन्सार बढेकाले नभइ विक्रेताले नै मनपरी लत्ताकपडाको भाउ बढाएको बताउँछन् ।

आयातमा निर्भर बजार

नुनदेखि सुनसम्म आयातमा निर्भर नेपाली बजार वर्षैपिच्छे महंगिदो छ । त्यसमाथि व्यापारीले चाडबाडका बेला मनपरी दरभाउ तोक्छन् । कमाउने बेला यही हो भन्ने मनस्थिति पाइन्छ ।

असनमा भाँडा पसल चलाउँदै आएका नबीन कायस्थ र कपडा पसलका सञ्चालक रौतहटका श्याम रौनियार भने दशैंको कारणले भाउ बढेको अस्वीकार गर्छन् । आफ्नो पसलका सबै कपडा भारतबाट ल्याउने गरेको भन्दै रौनियारले भने, ‘भन्सार मुल्याकंन बढेपछि हामीले पनि बढाउनै पर्‍यो ।’

चालु आर्थिक वर्षको बजेट घोषणा गर्दा सरकारले आगामी २ वर्षभित्र चिनी, औषधि, लगायत कम्तीमा १ दर्जन वस्तुमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । जुट, गलैंचा, तयारी पोसाक, पश्मिना, रेशम र कपासमा आधारित उद्योग, जुत्ता र हस्तकलालगायतका निर्यातजन्य उद्योगको प्रबद्र्धन गर्ने पनि भनेको छ । तर, बजेट घोषणाको दुई महिना पुग्दै गर्दा त्यस्तो छनक भने पाईंदैन ।


आन्तरिक उत्पादनमा निर्भर नभइन्जेल आयातित वस्तुमा भन्सार शुल्क बढाउँदै जाँदा उपभोक्ता नै मारमा पर्ने विज्ञहरु बताउँछन् । अर्थविद दीपेन्द्र कुमार क्षेत्रीले भन्सार दर बढेर नभई फितलो अनुगमनका कारण उपभोक्ता ठगिइरहेको बताए । चाडपर्वलाई भनेर धेरै उपभोक्ताले रकम सञ्चिती गर्ने र यसैलाई कमाउने बेला ठानेर व्यापारीले मनपरी दर तोक्ने उनको भनाइ छ ।

खाद्यवस्तुमा केन्द्रित अनुगमन

सरकारी निकायका अधिकारी निरन्तर बजार अनुगमन गरिरहेको दाबी गर्छन् । तर, लत्ताकपडा, भाँडा, मरमसला, किराना पसलमा अनुगमन भएको पाइँदैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले विभागको टोली दैनिक रुपमा बजार अनुगमनमा गइरहेको बताए ।

हाल खाद्य वस्तुमा अनुगमन केन्द्रीत रहेको उल्लेख गर्दै उनले शुक्रबारसम्म विस्तृत कार्ययोजना बनाएर कपडा, भाँडावर्तन लगायतका पसलमा पनि अनुगमन गर्ने जानकारी दिए । ‘कपडा पसलमा ठगी बढेको सुनेका छौं’, उनले भने, ‘शुक्रबारदेखि हाम्रो टोली त्यस्ता पसलमा पनि जान्छ, बिलबिजक हेर्छौं, ठगी गरेको पाइए कारवाही हुन्छ ।’

विभागले चाडपर्व लक्षित कार्ययोजना बनाएर नियमन गरिरहेको भन्दै उनले अनुगमन टोली मुख्यतः थोक विक्रेतामा केन्द्रीत रहेको बताए । ‘ठगी, कालोबजारी माथिबाटै सफाई हुनुपर्छ भन्ने उद्देश्यले हामीले थोक विक्रेताहरुकोमा केन्द्रीत भएर अनुगमन गरिरहेका छौं’, उनले भने ।


तर उपभोक्ता खुद्रा विक्रेतामा जाने भएकाले त्यता हुने ठगी रोक्न पनि विभाग सचेत रहेको उनको दाबी छ । संविधानअनुसार बजारको नियमनकारी निकाय स्थानीय तह हो । तर काठमाडौं महानगरपालिकाका तर्फबाट अहिलेसम्म अनुगमन भएको पाइएको छैन । आफैं सक्रिय हुनुपर्नेमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बोलाउँदा पनि महानगरले प्रतिनिधि नपठाउने गरेको बताइन्छ ।

‘अनुगमनमा जाँदा हामीले खबर गर्ने गरेका छौं, तर खासै सक्रियता देखिएको छैन’, विभागका एक अधिकारीले भने । नयाँ अपराध संहितामा कसैलाई झुक्याएर कुनै पनि वस्तु बेचबेबिखन गर्न नहुने भनिएको छ । त्यस्तो भेटिए ठगी गर्नेमाथि ३ वर्ष कैद र तीन हजार जरिवानाको प्रावधान छ ।

ठगीसम्बन्धी उजुरी गर्न सिधै विभागको हटलाईन नम्बर ४२४७९१२/९१ मा कल गरेर भन्न सकिने सकिन्छ । तर उपभोग्य वस्तु र लत्ताकपडामा हुने ठगीबारे उजुरी नै नआउने गरेको विभागका अधिकारी बताउँछन् ।

 

फाेटाेहरूः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment