१८ असोज, काठमाडौं । निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै टिपरलाई साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको छ । तर, निर्णय भएकै दिन टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।
साउन १ देखि उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो । भक्तपुरले साँगा चोकमै टिपर रोक्ने गरेको थियो ।
तर, बुधबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले यो समय दुई घन्टा घटायो ।
विहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र टिपरलाई रोक्ने निर्णय भयो । निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै यो निर्णय गरिएको हो ।
भक्तपुर जिल्ला प्रशासनले पनि चार दिन अघि टिपरलाई साँगा चोकको साटो सल्लाघारीमा रोक्ने निर्णय गरेको छ ।
काठमाडौं र भक्तपुर प्रशासनले टिपर सञ्चालनको व्यवस्था परिवर्तन गरेलगत्तै दुर्घटना भएको छ ।
बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले सूर्यविनायकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका हुन् । उनीहरुको सनाखत भइसकेको छैन ।
घटनापछि आक्रोशित भीडले टिपरमाथि आगजनी गरेको छ भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि तनाव कायमै छ ।
प्रतिक्रिया 4