Comments Add Comment

विद्यार्थीको कान फुटाउने शिक्षक रिहाइको माग गर्दै विद्यालय बन्द

१८ असोज, चितवन । कांग्रेसनिकट नेपाल शिक्षक संघले कान फुट्ने गरी विद्यार्थी पिटेका प्रधानाध्यापक रिहाइको माग गर्दै नवलपुरको बुलिङटार गाउँपालिकाका ४४ विद्यालय बन्द गराएको छ ।

बुलिङटार गाउँपालिकाका–६ को शिव माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्कीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापक ओमकुमार श्रेष्ठ रिहाइको माग गर्दै नेपाल शिक्षक संघले ३ दिनदेखि विद्यालय बन्द गराएको हो ।

नवलपुर प्रहरीले पीडितको उजुरीका आधारमा असोज ११ गते प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । कुटपिट एवं अंगभंग महलअन्तर्गत उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइरहेका बेला नेपाल शिक्षक संघले भने पक्राउको विरोध गर्दै ३ दिनदेखि विद्यालयको पठनपाठन ठप्प पारेको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष मोहनलाल कलवार र नेपाल शिक्षक संघ बुलिङटारका अध्यक्ष ऋषिराम कँडेलले असोज १८ गतेभित्र प्रअ श्रेष्ठको रिहाई नभए कडाभन्दा कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । उनीहरुले पत्रकार सम्मेलन नै गरेर विद्यार्थी कुट्ने प्रअलाई रिहाइ गर्न दबाव दिएका हुन् । असोज १८ गतेसम्म रिहा नभए जिल्लाभरका विद्यालय बन्द गर्ने चेतावनी उनीहरुको छ ।

गाउँपालिकाको पठन–पाठन ठप्प भए पनि अवरोध हटाउन गाउँपालिकाले पहल नगरेको अभिभावकहरुको गुनासो छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण वास्ताकोटीले ३ दिनका लागि भनेर बन्द गरेकोले कुनै पहल नगरेको बताए ।

‘तीन दिनका लागि बन्द गर्ने भनेर विज्ञप्ति दिनुभयो, अब आज तीन दिन पुग्यो, सायद भोलिबाट खुल्छन् होला’ अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै अध्यक्ष वास्ताकोटीले भने ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने भएकाले यसबारे आफूले केही गर्न नसक्ने बताए । तथापि, उनले प्रशासनको तर्फबाट केही पहल भएको उनको भनाइ छ ।

विद्यार्थी कुटेर कान नै फुटाइदिने प्रधानाध्यापक ओमकुमार श्रेष्ठलाई कुनै पनि राजनीतिक दवावमा नछाड्न विद्यालयका अभिभावक, विद्यार्थी र मानवअधिकारकर्मीहरुले सबैसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment