१८ असोज, विराटनगर । सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका अभियुक्त थाई एयरवेजका कर्मचारी गोपालकुमार श्रेष्ठलाई उच्च अदालतले थुनामै राख्न आदेश दिएको छ ।
जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागिथुनामा रहेका काठमाडौं महानगरपालिका ८ का ५८ वर्षीय श्रेष्ठलाई बिहीबार उच्च अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीस नारायणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते श्रेष्ठसहित तत्कालिन समयमा पक्राउ परेका २८ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।
श्रेष्ठले जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिए पनि उच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरेको हो ।
उच्च अदालतमा निवेदन दिएकामध्ये पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डीएसपी प्रजित केसी साधारण तारेखमा छुटिसकेका छन् ।
त्रिभुवन विमास्थलबाट साढे ३३ किलो तस्करीको सुन हराएपछि सुन खोज्ने क्रममा गत फागुन १८ गते तस्करका नाइके चुणामणि उप्रेती गोरे सहितको टोलीले यातना दिदा भरिया सनम शाक्यको मृत्यु भएको थियो ।
शाक्यको मृत्यु भएपछि अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले गत बैशाख १९ गते जिल्ला अदालत मोरङमा अपराधिक समुह स्थापना गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण, तथा शरिर बन्धक र कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।
तीन पटक गरी सुन मुद्दामा ७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
प्रतिक्रिया 4