Comments Add Comment

चीनमा क्रिकेटको विजोगः न सरकारी प्राथमिकता, न जनचासो

२६ असोज, काठमाडौं । चीन अर्थात् विश्वकै महाशक्ति राष्ट्र । खेलकुदमा हरेक विधामा प्रगति गरिरहेको देश । तर, जब क्रिकेटको कुरा गछौंर्ं, यो असाध्यै निरिह प्रतीत हुन्छ ।

मलेसियामा जारी रहेको टि-२० विश्वकपको एसिया क्वालिफायर ‘बी’ मा सहभागी छ चीन । अहिलेसम्म पाँच खेल खेलिसक्दा सतप्रतिशत हारका साथ अंक तालिकाको पुछारमा छ । यस प्रतियोगितामा चीनले हासिल गरेका नतिजा हेरौं ।

थाइल्यान्डविरुद्धको पहिलो म्याचमा चीनले पुरै २० ओभर खेलेर ३५ रन बनायो । आठौं नम्बरका ब्याट्सम्यानले सर्वाधिक ७ रन बनाएका थिए । सो लक्ष्य थाइल्यान्डले २.४ ओभरमा विना विकेट क्षति हासिल गर्‍यो ।

सिंगापुरविरुद्ध चीनले २६ रन बनायो जसमा एक्स्ट्रा १२ रन समावेश थिए । चीनका ब्याट्सम्यानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर थियो ५ रन । सिंगापुरले २.३ ओभरमा १० विकेटको जित हासिल गर्‍यो ।

म्यानमारविरुद्ध चीनले पहिलो ब्याटिङ गरेर ४८ रनको योगफल बनायो । ४९ रनको लक्ष्य म्यानमारले ७.५ ओभरमा २ विकेट गुमाएर हासिल गर्‍यो । सो म्याचमा चीनका एक ब्याट्सम्यानले मात्र दुई अंकमा रन बटुलेका थिए ।

भुटानविरुद्ध चीनले ४५ रनको योगफल खडा गर्‍यो, जसमा २१ रन एक्स्ट्रा थियो । चीनका ब्याट्सम्याले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर थियो ५ । भुटानले ३.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य हासिल गर्‍यो ।

नेपालविरुद्ध चीन २६ रनमा अलआउट भयो । सो म्याचमा चीनका लागि सर्वाधिक व्यक्तिगत स्कोर ११ रन थियो । नेपालले विना विकेट क्षति १.५ ओभरमा लक्ष्य भेट्टायो ।

यसरी ५ म्याच खेलिसक्दा चीनले हरेकपटक पहिलो ब्याटिङ गरेको छ, जसमा उसले बनाएको सर्वाधिक स्कोर हो, म्यानमारविरुद्धको ४८ रन । सर्वाधिक व्यक्तिगत स्कोर हो ११ रन । ५ म्याचमा चीनका बलरहरुले ३ विकेट लिएका छन् । चीनको रनरेट माइनस आठभन्दा कम छ ।

म्यानमार, भुटान र थाइल्यान्डजस्ता कमजोर टिमहरुसँग पनि ठूलो अन्तरालको हार व्यहोर्नुले चीनमा क्रिकेटको दुर्दशा छर्लङ्ग हुन्छ । यद्यपि, उसलाई राहतको विषय के छ भने अहिले खेलिएका म्याच ‘अन्तर्राष्ट्रिय टि-२०’ का रुपमा दर्ज हुने छैनन् । किनकी आफ्ना सबै सदस्य राष्ट्रलाई टी-२० इन्टरनेसनलको स्टाटस दिने आइसीसीको निर्णय आगामी जनवरी १ बाट मात्रै लागू हुनेछ ।

टि-२० मात्रै नभएर एक दिवसीय क्रिकेटमा पनि चीनको अवस्था उत्तिकै नाजुक छ । सन् २०१७ को अपि्रलमा साउदी अरेबियाविरुद्ध खेलेको वर्ल्ड लिग क्वालिफायर म्याचमा यसले ३ सय ९० रनको हार व्यहोरेको थियो । जबकि साउदी अरेबिया कुनै गतिलो क्रिकेट खेल्ने देश होइन ।

०००

विश्वकै सर्वाधिक डेढ अर्ब जनसंख्या भएको चीनले खेलकुदलाई प्राथमिकतामा नराखेको भन्ने होइन । ओलम्पिक खेलकुदमा सँधै अग्रस्थानमा हुन्छ चीन । सन् २००८ को ओलम्पिक चीनमै आयोजना भएको थियो । हालै उसले चाइना सुपरलिगको रिलन्च गरेको छ । सन् २०२५ सम्ममा खेलकुद उद्योगबाट ५ सय अर्ब डलरको जीडीपी सिर्जना गर्ने लक्ष्य छ उसको ।

खेलकुदमा धेरै विधामा अगाडि बढिरहेको चीनले फुटबलमा पनि पछिल्लो समय ठूलो लगानी खन्याइरहेको छ, सन् २०५० भित्र विश्वकप जित्ने लक्ष्यका साथ । तर, क्रिकेटलाई भने यहाँको सरकारले खासै महत्व दिएर लगानी गरेको पाइँदैन ।

चीनबिना क्रिकेट अधुरो हुने ठानेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा तानिरहेको छ । १० वर्ष अगाडि आईसीसीले बंगलादेशका पूर्व कप्तान एमिनुल इस्लामलाई चिनियाँ राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बनाएर पठायो ।

त्यतिबेला इस्लामले प्रतिक्रिया दिँदै आफू ‘चिनियाँ क्रिकेटको निल आर्मस्ट्रङ’ भएको प्रतिक्रिया दिएका थिए । यद्यपि, उनको कडा प्रयासका बाबजुद चिनियाँ क्रिकेट खासै अगाडि बढ्न सकेन ।

‘हामी चीनमा अतिरिक्त प्रयास गरिरहेका छौं । किनकी चीनबिना क्रिकेट ग्लोबल स्पोट्र्स बन्न सक्दैन,’ एमिनुलले त्यतिबेला भनेका थिए ।
तर, उनले अन्ततः निराश बनेर फर्किए ।

चीन २००४ देखि आईसीसीको एफिलियट मेम्बर बन्यो । यस्तै २०१७ मा एसोसियट मेम्बर बनिसकेको छ ।

चाइनिज क्रिकेट एसोसिएसनले क्रिकेटको विकासमा काम गरिरहेको छ । तर, यसले घरेलु क्रिकेट प्रतियोगिताहरु गराउन सकेको छैन ।

खासमा क्रिकेटप्रति आकर्षण नै छैन । चीनको बेइजिङ, साङ्घाई, शेनयाङ, डालियान, ग्वाङझोउ र शेन्जेन गरी ९ शहरमा क्रिकेट खेलिन्छ । यी शहरका एक सय ५० भन्दा बढि स्कुलमा क्रिकेटले प्रवेश पाएको छ ।

क्रिकेटमा चीनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता २००९ मा आयोजित एसीसी ट्रफी च्यालेन्ज थियो, जसमा उसले समूह चरणका सबै म्याच हारेको थियो ।

सातौं स्थानका लागि भएको प्रतिस्पर्धामा भने म्यानमारलाई एक सय १८ रनले हराउन सफल भएको थियो, जुन उसको पहिलो अन्तर्राष्ट्रिय जित हो । त्यसयता एसीसीका थुप्रै प्रतियोगितामा भाग लिए पनि जित हासिल गर्न सकेको छैन ।

२०१४ को एसीसी २०-२० कपमा यूएईविरुद्ध चीनले २ सय ९ रनको हार व्यहोर्‍यो, जुन अन्तर्राष्ट्रिय टी-२० म्याचमा ठूलो अन्तराल हो । यूएईले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा चीन २७ रनमा अलआउट भएको थियो, त्यसमा पनि २७ रन एक्स्ट्रा थिए ।

चीनमा क्रिकेट उपेक्षित भइरहँदा चीनकै विशेष प्रशासित क्षेत्रका रुपमा रहेको हङकङको अवस्था फरक छ । हङकङ अहिले क्रिकेटको डिभिजन २ मा छ भने दुईपटक टी-२० विश्वकपसमेत खेलिसकेको छ । उसले एक दिवसीय स्टाटस भने गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment