Comments Add Comment

मादलले पालिएको ‘साने’को परिवार

२६ असोज, गोरखा । धेरैका लागि मनोरञ्जनको साधन हो मादल । तर, कतिपयका लागि यो जीविकोपार्जनको माध्यम पनि हो ।

गोरखा नगरपालिका-१२ दशकिलोका साने कुलुको परिवार मादलबाटै बाँचिरहेको छ । तर, बजाएर होइन बनाएर । यो परिवारको पुस्तैनी व्यवसाय हो मादल बनाउने । सानेका तीन छोराहरुले पनि यही पेशा अपनाइरहेका छन् ।

मादल बनाउने पेशाबाट आफूहरुको जीविकोपार्जन हुँदै आएको बताउँछन् सानेका माइला छोरा ३५ वर्षका पूर्णबहादुर कुलु । ‘सानै उमेरबाट बुबाहरुले गरेको हेर्दै काम सिकेँ,’ उनले भने, ‘पढ्दै काम गर्दै गइयो ।’

मादल मात्र होइन उनीहरु मृदंग, धिमे बाजा, तबला, ढलकी, खैचडीलगायत छालाबाट बन्ने अन्य बाद्यवादन सामग्री बनाउँछन् । यी बाजा बनाउनका लागि चाहिने छाला, काठको घार, खरी, रिङ लगायतका सामग्री बाहिरी जिल्लाबाट ल्याउने पूर्णबहादुरले बताए ।

‘दशै-तिहारमा बढी अर्डर आउँछ, त्यसैले अहिले चटारो बढेको छ,’ उनले भने, ‘मादल बाह्रैमास बनाउछौँ, अरु बाजा भने अर्डर आएपछि मात्र ।’

मासिक ५० वटा मादल बनाउने गरेको पूर्णबहादुरले जानकारी दिए । मादल बेचेर भएको आम्दानीबाट उनी सन्तुष्ट छन् । ‘छोराछोरी पढाउन र घर खर्च चलाउन पुगेकै छ, सन्तुष्टै छु,’ उनले भने । उनलाई काममा श्रीमतीले पनि साथ दिएकी छन् ।

पूर्णबहादुर मात्र होइन, विहे गरेर गएकी उनकी दिदी फुलदेवी परियार पनि माइतमा बसेर यही पेशा अंगाल्दै आएकी छिन् । उनले श्रीमान बाबुराम परियारको साथमा यो कामलाई अघि बढाएकी छन् ।

‘३० वर्ष भयो यो काम सुरु गरेको, ससुरालीले गरेको देखेर सिकेको हुँ,’ बाबुरामले भने ।

मादल बनाएर मासिक ३०/४० हजार आम्दानी हुने उनले बताए । ‘दिनमा सरदर दश घण्टा काम गर्छाै, खान लाउन जसोतसो पुगेकै छ,’ उनले भने । उनका छोरा पनि काठमाडौं नरदेवीमा यही पेशा अंगालेर बसेका छन् ।

पूर्णबहादुरका ठुला दाजु हरिराम कुुलुले पनि वर्षाैंदेखि यही पेशामा छन् । उनलाई पनि श्रीमती सरिता कुलुले साथ दिइरहेकी छिन् ।

‘१७ बर्षको उमेरमा विहे गरेर आएपछि काम सिकेकी हुँ,’ सरिताले भनिन् । छालाबाट बन्ने विभिन्न वाजाहरु बनाए पनि सबैभन्दा बढी मादल बिक्ने उनको भनाई छ । साइजको आधारमा एउटा मादलको १५ सयदेखि तीन हजार सम्ममा बिक्री हुने पनि उनले जानकारी दिइन् ।

उनीहरुले बनाएको मादल काठमाडौ, नारायणगढ, पोखरा लगायतका शहरमा बिक्री हुन्छ ।

‘यहाँका स्थानीयले पनि लैजानुहुन्छ, तर, धेरै अन्य शहरहरुमा पठाउछौं,’ उनले भनिन् । सो क्षेत्रमा बसोवास गर्ने ९ कुलु परिवारहरुले यही पेशा अगाल्दै आएका छन् । उनीहरुले आ-आˆनै पसल खोलेर मादल बनाउने पेशा गरिरहेका छन् ।

कम छैन दुःख

मादललगायतका बाजाहरु बनाउन त्यति सजिलो भने छैन । मादल बनाउन प्रयोग हुने काठको घेरा ल्याएर इनामेल, चापडाको पालिस लगाउनुपर्छ । छालाको डोरी आफैले तयार गर्नुपर्छ ।

‘रौसहितको गोरु वा वाख्राको छाला किनेर ल्याउने हो, त्यसलाई खुर्कने, भिजाउने सुकाउने र काटेर डोरी बनाउने आफैले गर्नुपर्छ,’ पूर्णबहादुरले भने ।

डोरी बनाउन मात्र होइन मादलमा डोरी हाल्न पनि उत्तिकै कठिन हुने उनी बताउँछन् । ‘मादलमा खरी राख्न पनि समस्या छ, खरिका लागि प्रयोग हुने किटले हात खान्छ,’ बाबुरामले भने । छाला पाउन समस्या हुने गरेको उनीहरुको गुनासो छ । तर दुखका बीच पनि बावुबाजेको पेशा अगाल्दै कुलु परिवार रमाइरहेका छन् ।

तस्वीरमा हेर्नुस् साने परिवारको कर्म

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment