+
+

बीमा कम्पनीका प्रथम सीईओको आत्मकथा: जहाँ छोयो त्यहीँ सफल

रोयल आचार्य रोयल आचार्य
२०७५ असोज २९ गते १२:०१

२९ असोज, काठमाडौं । नेपालमा बीमा व्यवसाय शुरु भएको ७ दशकभन्दा लामो समय भइसकेको छ । जतिबेला नेपालमा बीमा व्यवसायहरु शुरु भयो त्यतिबेला भारतीय कम्पनीहरुले शाखाको रुपमा नेपालमा कार्यालय खोलेर बीमा सेवा प्रदान गर्ने गर्दर्थे । पछि नेपालमा नेपालीकै लगानीमा नै बीमा कम्पनीहरु त खुले तर, त्यसको नेतृत्व भने नेपालीले गर्न पाउँदैन थिए ।

रमेशकुमार भट्टराई त्यस्ता व्यक्ति हुने जो नेपालको इतिहासमै बीमा कम्पनीको पहिलो सीईओ बन्ने व्यक्ति हुन् । नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त पाएर बीमा कम्पनीको नेपालकै पहिलो सीईओ बनेका भट्टराई बीमा कम्पनीको नेतृत्व लिनु अघि बैंकर थिए ।

बैंकर हुँदाकै बखतमा अस्पतालको सञ्चालक समेत भएका उनी वीरगञ्ज महानगरपालिकाका पूर्वबजेट सल्लाहकार एवं वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष समेत हुन् । भट्टराई वीरगञ्ज महानगरपालिकाका सभाषद् समेत भइसकेका व्यक्ति हुन् ।

उनीसँग मिडिया हाउस सञ्चालनदेखि फाइनान्स कम्पनी, बीमा कम्पनी, हस्पिटल साथै बैंक स्थापना तथा नेतृत्वको समेत अनुभव छ । उनले समग्र बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको समेत नेतृत्व समेत गरिसकेका छन् । उमेरले ६० वर्ष पुगेका भट्टराईले ठूला व्यवसायिक घरानासँगको सहकार्यमा थुप्रै व्यवसायहरु सञ्चालन गरे ।

उनले जुन व्यवसायमा हात हाले त्यहाँ उनी सफल नै भए । यसकारण पनि उनी सफल व्यवसायीको रुपमा चिनिन्छन् । भट्टराईको नेतृत्व पछि सफल सावित भएको नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक जस्ता संस्थाहरु अझै पनि वित्तीय बजारमा उत्कृष्टको स्थान ओगट्न सफल छन् ।

भट्टराई बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको अध्यक्षका लागि गत वर्ष अर्थमन्त्रालयबाट सिफरिस समेत भएका थिए । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराले बीमा समितिको अध्यक्षमा भट्टराईसहित डा. रविन्द्र घिमिरे र चिरञ्जीवि चापागाईंको नाम सिफारिस गरेका थिए । तर, समितिको अध्यक्षमा मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नियुक्त गरेको थियो ।

वडाध्यक्षमा हारेपछि व्यवसायिक यात्रा

भट्टराईले आधा दर्जन कम्पनीहरु आफ्नै सक्रियतामा सञ्चालनमा ल्याए । ति सबै कम्पनीहरुले राम्रै नाफा समेत आर्जन गर्न थाले । अहिले वर्तमान अवस्थामा पनि भट्टराईले स्थपाना गरेका धेरै कम्पनीहरु नम्बरवानकै सुचिमा छन् । भट्टराई अझै पनि सक्रिय नै छन् । हिमालयन स्टक एक्सचेञ्ज, महालक्ष्मी लाइफ इन्स्योरेन्स, कामधेनु लघुवित्त लगायतका संस्था उनका नयाँ कन्सेप्टमा कम्पनीहरु हुन् । जो सञ्चालनका लागि पाइपलाइनमै छन् ।

सुन्दा अचम्म लाग्छ, यति धेरै कम्पनीहरु स्थापना गरेर नम्बर वान बनाइसकेका उनी सामान्य परिवारका हुन भन्दा । उनी व्यवसायिक जीवनमा सफल भए जसको फल स्वरुप उनी अहिले सफल व्यवसायीका रुपमा चिनिन्छन् । तर, उनी पर्साको विरगञ्जमा सामानय परिवारमा हुर्किएका व्यक्ति हुन् ।

भट्टराईका बुवा तत्कालिन विरगञ्ज नगरपालिकामा मुखिया पदमा कार्यरत थिए । ०१५ मंसिर २३ गते विरगञ्जमा जन्मीएका भट्टराइले विद्यालय तहको शिक्षा वीरगञ्जमै पुरा गरे । आईकम तथा बीकम समेत वीरगञ्जको ठाकुराम कलेजमै पुरा गरेका उनले ०३६ सालमा काठमाडौं आएपछि मात्रै शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए । उनले कानून संकायमा स्नातक अध्ययन समेत गरेका छन् ।

वि.सं. ०३५ सालमा स्नातक तहको अध्ययन पुरा गरेका भट्टराई त्यसबेला भएको नगरपालिको निर्वाचनबाट नगरसभाषद् (न.स.स.) पदमा राम्रै मत प्राप्त गरेर विजयी भए । त्यसलगत्रै भएको निर्वाचनमा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका भट्टराई झिनो मतले पराजित भए । निर्वाचनमा पराजित हुनु उनका लागि फलदायी बन्यो । जसका कारण उनको व्यवसायिक यात्राको ढोका खुल्यो । चुनावमा पराजित भएसँगै आफूले बुवासँग ३ सय रुपैयाँ मागेर राधजानी आएको उनी बताउछन् ।

शुरुमा जागिर, पछि मात्रै व्यवसाय

काठमाडौं आए पछि उनले क्यासिनो नेपालमा रात्रिकालिन जागिर शुरु गरे । क्यासिनो नेपालमा जागिर गर्दागर्दै उनले स्नात्तकोत्तर अध्ययनका लागि शंकरदेव क्याम्पसमा भर्ना भए । पछि उनले केन्द्रीय तथ्यांक विभागमा नाम निकाले । सहायक तथ्यांक शास्त्री पदमा नाम निकाले उनले मासिक ३ सय ३० रुपैयाँ तलबमा काम गरे ।

त्यसबेला शाखा अधिकृतको तलब मासिक ७ सय रुपैयाँको हाराहारीमा हुने उनी बताउछन् । तर, क्यासिनोको रात्रिकालिन जागिरबाटमात्रै उनले २ हजाररुपैयाँसम्म महिनाको आम्दानी गर्थे । लोभले लाप लाभाले विलाप हुन्छ भन्ने निश्कर्ष निकाल्दै अन्ततः उनले त्यहाँ काम गर्न छाडिदिए ।

तथ्यांक विभागको कामको शिलशिलामा पूर्वाञ्चाल पुगेका बेला उनले राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्य सचिव शरदचन्द्र शाहसँग भेट भयो । दरबारसँगै सिधा पहुँच भएका शाहले भट्टराईलाई रेडियो नेपालमा जागिर लगाइदिए । रेडियो नेपालमा आफूले जागिर लगाइदिएका कारण शाह भट्टराईबाट चाहिने भन्दा बढी शिष्टाचारको अपेक्षा गर्थे ।

राजालाई दरबारमा भेट्न जाँदा जुन व्यवहार गर्नु पर्ने उनलाई भेट्न जाँदा पनि भट्टराईले सोही व्यवहार देखाउनु पर्थो । नमस्कार गर्दा पनि पुरा जिउँ निहुरिएन भने मात्रै पनि रिसाउने भएकाले कारण आफू त्यो जागिर छाड्न बाध्य भएको उनले बताए ।

नेपाल बैंकबाट बैंकिङ करियर शुरु

 

नेपाल बैंकको अधिकृत स्तरमा २०३९ सालमै नाम निकालेका भट्टराईले १ वर्ष नेपाल बैंकमै काम गरे । नेपाल बैंकमा जागिरे छदा धेरै ठाउँमा सरुवा भएका भट्टराईले लामो समय कर्जा शाखाको प्रमुखको रुपमा समेत काम गरे । कर्जा शाखाको प्रमुख हुँदा उनले कर्जा स्वीकृत गरिदिएका कारण धेरै मित्र पनि पनि कमाए ।

कर्जा दिने शिलशिलामा नै भट्टराईको विशाल ग्रुप, सांघाई समूह जस्ता ठूला व्यवसायिक घरानाहरुसँग चिनजान भयो । नेपाल बैंकको वीरगञ्ज शाखामा समेत काम गर्ने मौका पाएका उनले त्यहाँ उद्योग वाणिज्य महासंघमा समेत आवद्ध भए । बैंकमा बहाल छदै वीरगञ्ज महानगरले प्रकाशन गर्ने अर्थजगत भन्ने पाक्षिक पत्रिकाको उनी प्रधान सम्पादक समेत भए ।

त्योसँगै उनले वीरगञ्जको चर्चित प्रतिक दैनिक भन्ने दैनिक पत्रिकामा समेत आर्थिक स्तम्भ लेख्ने गर्दथे । जसका कारण उनको बजारमा निकै चर्चा पाए । पत्रिकामा लेखेकै कारण चर्चासँगै स्थानीय प्रशासनले गलत नजर हेर्न थालिसकेको सूचना पाए पछि उनी वीरगञ्जबाट सरुवा लिएर हेटौडा गए । हेटौडा पछि नारायणगढ, खैरवनी, दुहवी जस्ता विभिन्न ठाउँमा समेत घुमे ।

कर्जा विभाग तथा बैंक सुपरिवेक्षण विभागका विभागी प्रमुख भएका भट्टराईले बैंकमा राम्रो प्रफोमेन्स देखाए । जसका कारण उनी बैंकका जीएमको निकट भए । कुनै शाखामा केहि समस्या आए त्यहि शाखामा भट्टराईलाई बैंकले पठाउन थाल्यो । जसका कारण उनी समस्यामा परे र जागिरै छाड्ने निर्णयमा पुगे । त्यसबेला प्रमोशन भएर उनी नेपाल बैंकको उपप्रवन्धक समेत भइसकेका थिए । तर उनले जागिर छाड्ने अन्तिम निर्णयमा पुगे र ‘ग’ वर्गको वित्तीइ संस्था आफै खोल्ने उनले सोच लिए ।

भगवानले त सोच म पुर्याइदिन्छु भन्छन भनिन्छ हो त्यस्तै भयो भट्टराईको जीवनमा । फाइनान्स कम्पनी खोल्नका लागि उनले लगानी गर्नका लागि मान्छेहरु खोजे । तत्कालिन उद्योग वाणिज्य संघका अध्यक्ष बाबुलाल चाचा तथा अर्का व्यापारी हरिप्रसाद गिरी लगायतले उनलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यपश्चात फाइनान्स खोल्नका लागि ठूला व्यापारिक घरनाहरुले समेत उनलार्य साथ थिए । सांघाई ग्रुप, विशाल ग्रुप जस्ता व्यवसायिक समूहले लगानी गर्ने भए पछि उनले अन्नतः महालक्ष्मी फाइनान्स कम्पनी नामक दर्ता गरे ।

महालक्ष्मी फाइनान्स दर्ता प्रक्रियाका लागि उनले लामो समयका लागि नेपाल बैंकबाट बिदा लिए । बिचमा भएको खाली समयमा समेत उनी खाली बसेनन् । उनले वीरगञ्जमा हाइवेयर पसल समेत चलाए । पछि उनले नाफा मात्रै लिएर हाइवेयरमा काम गर्ने कामदारलाई नै मालिक बनाइदिएर महालक्ष्मी तिर लागे ।

पहिलो कर्पोरेट प्रोजेक्ट महालक्ष्मी फाइनान्स

भट्टराइले पहिलो कर्पोरेट विजनेशको रुपमा महालक्ष्मी फाइनान्स सञ्चालनमा ल्याए । नेपाल राष्ट्र बैंकले ग वर्गको वित्तीय कारोबार गर्नका लागि महालक्ष्मीलाई लाइसेन्स दिए पछि २०५२ मंसिर २५ गतेदेखि आफै त्यसको सीईओ भएर काम शुरु गरे ।

उनले सम्पूर्ण ध्यान महालक्ष्मीमा केन्द्रित गराएर काम गरे अन्ततः फल स्वरुप महालक्ष्मी सञ्चालनमा आएको पहिलो ७ महिनामा नै नाफामा गयो । पहिलो ७ महिनामा नै नाफामा जानुको श्रेय भट्टराईलाई नै जान्छ । त्यसबेला फाइनान्स कम्पनीका सीईओहरुको तलब १ लाख रुपैयाँ थियो । तर उनले जम्मा १५ हजार रुपैयाँ मात्रै तलब लिने घोषणा गरे ।

अर्कोतर्फ त्यसबेलै सीईओ भए पछि कार चढ्ने चलन नै थियो । तर उनले नयाँ कम्पनीबाट कार लिएर नचढ्ने भने । उनले भनेका थिए जबसम्म संस्था नाफामा जाँदैन तबसम्म म कार चढ्दिन । उनी १५ हजार तलबमा २ चक्केमै हुइकिएर काम गरे । संस्था नाफामा गए पछि मात्रै उनले चारचक्के चढेका थिए । यस्तै यस्तै कारणले गर्दा संस्था रफ्तारमा अगाडी बढ्न थाल्यो । संस्थाले मूनाफा राम्रो आर्जन गरेपछि लगानीकर्ताले पनि राम्रै वोनस पाए ।

३० प्रतिशतसम्म लगातार आधा दशकसम्म महालक्ष्मीले लाभांश ख्वाउन सफल भयो । ३० प्रतिशत लाभांश दिए पछि लगानीकर्ताहरु खुसी भए तर राष्ट्र बैंकले भने नजर लगायो । के गरेर यतिधेरै लाभांश बाड्यो भनेर राष्ट्र बैंकले अध्ययन गरे पनि केहि फल्ट भने भेट्न सकेको थिएन । तर, २०६२ सालमा भट्टराईले महालक्ष्मीको सीईओ पदबाट राजिनामा दिए ।

बीमा कम्पनीको पहिलो नेपाली सीईओ

महालक्ष्मी फाइनान्सको सीईओबाट राजिनामा दिएका भट्टराई २०६२ मंसिर २३ आफ्नै जन्मदिनको अवसर पारेदेखि नेपाल लाइफ इन्स्योरेन्समा सीईओको रुपमा नियुक्त भए । नेपाल लाइफको सीईओ नियुक्त भएसँगै भट्टराई बीमा कम्पनीको सीईओ हुने पहिलो नेपाली समेत बने ।

नेपालीले सीईओ बन्न सक्दैनन भनेर धेरै महंगो दिएर भारतीयहरु ल्याउने चलन थियो । तर, उनी पहिलो सीईओ भए र राम्रो पर्फमेन्स समेत देखाए । नेपाल लाइफमा काम गरिरहेका उनले सरकारले बीमा कम्पनी कम्पनीका लागि नयाँ लाइसेन्स दिने भए पछि उनले आफै नयाँ बीमा कम्पनी खोल्ने बिचार गरे । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी पनि भट्टराईले आफ्नै छोरा रितेश भट्टराईको समेत शेयर रहने गरी ठूला व्यवसायिक समहूसँग मिलेर काजगपत्र तयार पारे । तर पछि अरुका लागि किन गर्नु परो आफ्नै लागि गर्छु भन्ने सोचेर उनले एशिएसन लाइफ इन्स्योरेन्सको परिकल्पना गरे ।

अन्य ८ वटा कम्पनी सञ्चालनका लागि पाइपलाइनमा थिए तर उनले छलाङ मारेर आफूले सबैभन्दा पहिले सञ्चालन अनुमति पाए । उनी पछि खेतान समूहको प्राइम लाइफ, विशाल ग्रुप र सांघाई ग्रुपको सूर्या लाइफ, दुगड समूहको गुँरास लाइफले समेत सञ्चालन अनुमति पाएको थियो । उनले त्यसबेलै ठूला व्यवसायिक समूहहरुसँग प्रतिष्पर्धा गर्नु पर्ने चुनौती थपियो ।

एसिएनको सीईओ भएकै बखतमा भट्टराई समग्र बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको अध्यक्ष समेत भएका थिए ।

चुनौतीका बावजुत उनले एशिएन लाइफलाई पनि नम्बरवान बनाए । अत्याधिक मूनाफा आर्जन गर्यो एशिएनले । लगानीकर्तालाई खुसी बनाउन उनले तेस्रो वर्ष प्रवेश नै नगरी ३० प्रतिशत लाभांश र ५२ रुपैयाँ पोलिसी होल्डर बोनश दिने घोषणा गरे । त्यो एतिहासिक थियो । नेपालको इतिहासमा नै यतिधेरै लाभांश अहिलेसम्म पनि कुनै कम्पनीले दिन सकेका छैनन् ।

उनले स्वच्छ भावले वोनश दिने घोषणा गरे उनका लागि त्यो अभिसाप बन्यो । त्यसपछि बीमा समितिसँग उनको बिवाद बन्यो । अन्य बीमा कम्पनीका ठूला लगानीकर्ताहरुले चाल चले । त्यसपछि उनी बिवाद नगरी पुनः महालक्ष्मी फाइनान्समा फर्किए ।

सञ्चार माध्यमदेखि अस्पतालसम्मा लगानी

२०५६ सालमा वीरगञ्जकै पहिलो कर्पोरेट अस्पताल भट्टराइकै नेतृत्वमा सञ्चालनमा आयो । ५० बेडको अस्पताल त्यतिबेला ६३ लाख रुपैयाँ लगानीमा उनको नेतृत्वमा अस्पताल सञ्चालनमा आएको थियो । उक्त अस्पताल उनले महालक्ष्मीमा छदै प्रवन्ध सञ्चालक भएर आफैले चलाए । तलब महालक्ष्मीको खाने र हस्पिटलमा बतलबी रुपमै उनले काम गर्ने गर्दथे । सो अस्पताल पनि पहिलो ९ महिनामा नै नाफामा गयो । अस्पताललाई पनि त्यहाँको नम्बरवान नै बनाए । त्यसबेला उद्योग वाणिज्य संघको चुना भयो । उनले चुनाव जितेर संघको सचिव भए ।

एक पछि अर्को व्यवसायमा हात हाल्दै गर्ने भट्टराईले २०५७ सालमा रेडियो विरगञ्जको सञ्चालन गरे । अग्राधिकार शेयर धनी अर्कै भए पनि उनलाई नै अध्यक्ष बनाइयो । उनले नेपाल समारचारपत्रका तत्कालिन सम्पादक गोविन्द देवकोटालाई लगेर प्रवन्ध सञ्चालक बनाए । पहिलो रेडियो भएकाले पहिलो वर्ष नै नाफामा गयो ।

१० लाख सम्मको महिनामा विज्ञापन बज्यो । धेरै नाफामा गए पछि मेजर शेयर होल्डरले आफूलाई रेडियो छाडिदिन आग्रह गरेपछि उनले छाडे । आफ्नो लगानी निकाले र देवकोटासँग मिलेर नारायणी सामुदायिक एफएमको रुपमा अर्को रेडियो सञ्चालनमा ल्याए । यि दुबै रेडियाे अहिले पनि सञ्चालनमा छन् ।

एक वर्षमै दुई ठूला मर्जर सफल

उनले बैंकिङ इतिहासमा अर्को नौलो काम पनि गरेका छन् । एक वर्षमा दुई ठूला मर्जर गराउने सफल बैंकरको रुपमा समेत भट्टराई चिनिन्छन् ।

महालक्ष्मी फाइनान्सको आफू सीईओ भएकै बेला उनले मालिका विकास बैंक र सिद्धार्थ फाइनान्सलाई एक आपसमा मर्ज गराई महालक्ष्मी विकास बैंकको जन्म गराए । त्यसको एक वर्ष पनि नवित्दै उनले यति डेभलपमेण्ट बैंकसमेत मर्ज गराएर महालक्ष्मी विकास बैंक बनाए ।

जुन नेपालकै वलियो विकास बैंकको रुपमा स्थापित भयो । दुई ठूला विकास बैंक मर्जबाट बनेको महालक्ष्मी विकास बैंकको समेत नेर्तत्व गर्ने उनलै अवसर पाए । तर नम्वर वान बनाएर उनले सीईओ पदबाट राजिनामा दिए ।

भट्टराईले २०७३ सालमा उत्कृष्ट सीईओको रुपमा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मान समेत पाए । स्कोरेस्ट नोमिनेशन कमिटि, अक्सफोर्डले महालक्ष्मी फाइनान्सको राम्रो परफमेन्सलाई हेरेर कम्पनीलाई बेष्ट इन्टरप्राइजेज र भट्टराईलाई म्यानेजर अफ दी इयरबाट सम्मानित गरेको हो ।
फ्रान्सकाे केन्स शहरमा आयोजित विशेष समारोहकबीच भट्टराईले सम्मान लिएका थिए । त्यस अघि जेनेभामा हुने सेञ्चुरी इन्टरनेशनल क्वालिटी इरा अवार्डमा समेत उनी मनोनयन भएका थिए ।

कहिल्यै थाकेनन् भट्टराई

दुई ठूला विकास बैंकको मर्जर सफल बनाएर गत वर्षमात्रै सीईओ पदबाट राजिनामा दिएका भट्टराई उमेरले ६० वर्ष पुगिसकेका छन् । तर, उनी अझै थाकेका छैनन् । महालक्ष्मी विकास बैंकलाई नम्बरवान विकास बैंक बनाएर बाहिरिएका उनी चुपचाप बस्न सकेनन् । उनले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालनका लागि प्रक्रिया शुरु गरे ।

१० वर्ष अघि नै कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको उक्त इन्स्योरेन्स कम्पनी सञ्चालनका लागि बीमा समितिले लाइसेन्सका लागि प्रारम्भिक सहमति प्रदान गर्यो । अन्य ९ बीमा कम्पनीहरु मध्ये प्रारम्भिक सहमति पाउने पहिलो बीमा कम्पनी महालक्ष्मी बन्यो । उक्त कम्पनीमा सुमार्गी समूहको अग्राधिकार शेयर रहेको थियो ।

प्रारम्भिक सहमति पाएर पुँजी जम्मा गर्ने समयमा नै सुमार्गी विवादमा फसे । जसका कारण पुँजी जम्मा हुन सकेन । प्रोमोटर फेरबदलका लागि बीमा समितिमा अनुरोध गरे पनि बीमा समिति राजि भएन । करोडौ खर्च भइसकेको महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई अन्नत सञ्चालन अनुमति नदिने पक्षमा बीमा समिति देखियो । त्यसपछि अर्थमन्त्रालय हुँदै सर्वोच्च पुगे भट्टराई । सर्वोच्चले भट्टराईकै पक्षमा फैसला सुनायो । अहिले महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालन अनुमतिको पर्खाइमा छ । सर्वोच्चको फैसला आउन करिब वर्ष नै लाग्यो ।

त्यस अवधिमा पनि भट्टराई चुपचाप बस्न सकेनन् । उनले नेक्सजेन म्यानेजमेन्ट साेलुसन प्रालि, नेशनल सर्भिस फर फाइनान्सीयल प्रालि, हेरचार डटकम जस्ता कम्पनीहरु सञ्चालनमा ल्याए । अझै पनि भट्टराईको नेतृत्वमा भएको कामधेनु लघुवित्त वित्तीय संस्था, हिमालयन स्टक एक्सचेञ्ज जस्ता कम्पनीहरु सञ्चालन अनुमतिको पर्खाईमा रहेका छन् । कामधेनु लघुवित्त ‘घ’ वर्गको बैंक हो भने हिमालयन स्टक एक्सचेञ्ज शेयर कारोबार गर्ने कम्पनी हो ।

यतिबेला नेपालमा नेपाल स्टक एक्सचेञ्ज नामक एकमात्रै शेयर कारोबार गर्ने कम्पनी रहेको छ । प्रतिष्पर्धाका लागि समेत मुलुकमा दुई वटा स्टक एक्सचेञ्ज हुनु पर्ने बहश शुरु भएसँगै नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिने बताएको थियो । भट्टराई तथा आईएमई ग्रुपको सहित गरेर ३ वटा स्टक एक्सचेञ्जको आवेदन परेपछि बोर्डले निर्णय भने लिन सकेको छैन ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment