Comments Add Comment

होटल भन्दै नाइट क्लबमा पुर्‍याएर भारतीय पर्यटक लुटिए

२९ असोज, काठमाडौं । सीमा क्षेत्रमा भारतीय नागरिकबाट नेपाली लुटिने गरेका विषय नौला होइनन् । तर, शनिबार राजधानी काठमाडौंमै भारतीय लुटिएका छन् ।

दशैंको विदामा पशुपतिनाथ लगायतका धार्मिक क्षेत्रको दर्शन गर्न आएको समूह लुटपाटमा परेको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले लुटपाटमा संलग्न नाइट स्टार क्लब एण्ड बारका चार युवती र तीन युवक गरी ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली, जिनखु-७ का २२ वर्षीया निर्मला तामाङ, उदयपुर, बाँसबोटेकी २० वर्षीया रुपा राई र सर्लाही, रानीगञ्ज-४ की १८ वर्षीया रोशनी तामाङ छन् ।

त्यस्तै, संखुवासभा, रामवेनी-७ का २३ वर्षीय ओम राई, ओखलढुंगा, लिखु-८ का २७ वर्षीय मेघबहादुर मगर र नुवाकोट विदुर नगरपालिकाका २५ वर्षीय विनोद अर्याल छन् ।

उनीहरुलाई पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको महाराजगञ्जका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईंले अनलाइनखबरलाई बताए ।

यसरी लुटिए भारतीय पर्यटक

उत्तरप्रदेशस्थित सुल्तानपुर जिल्लाका ३० वर्षीय प्रमोद बर्मासहितको समूह शनिबार साँझ बसपार्क आइपुग्यो । बर्मासहित २८ वर्षीय अनिश, ३३ वर्षीय नन्दकुमारलगायत निजी कारमा काठमाडौंको धार्मिक क्षेत्र भ्रमणका लागि आएका थिए ।

बसपार्कमा बर्माको आफूलाई गाइड बताउने एक युवकसँग भेट भयो, जसले राम्रो होटल पुर्‍याइदिने आश्वासन दिए । सामान्य कुराकानीमै बर्मा परिवारलाई युवकले नजिक्याए र बर्मा परिवार युवकले भनेको होटलमा जान तयार भयो ।

‘मिठो कुराकानी गरेर सस्तो र राम्रो सेवा, सुविधा र प्रबन्ध भएको होटलमा लगिदिन्छु भनेको थियो’, उनीहरुले प्रहरीसँग उजुरी दिने क्रममा भनेका छन्, ‘त्यसपछि होला त नि भनेर ती युवकसँगै हिँडेका थियौं ।’

गाइड बताउने युवकले उनीहरुलाई काठमाडौं-२६ स्थित नाइट स्टार क्लब एण्ड बारमा पुर्‍याए ।

 

असुरक्षित भएको भन्दै उनीहरू हतारहतार भारत फर्किसकेका छन् भने ७ जना पीडक प्रहरीको हिरासतमा छन्

त्यहाँ बारका एक कर्मचारीलाई जिम्मा लगाए । ‘त्यसपछि त्यो केटोले रुम उता हो एकछिन यहाँ बस्दै गर्नुस् भनेर एउटा कोठामा लगेर राखेको थियो’, पीडितले प्रहरीलाई दिएको जाहेरीमा भनिएको छ, ‘केहीवेरमा तीन युवती जुस र वियर लिएर आइपुगे ।’

तर, उनीहरुले जुस खान मानेनन् । आफू जुस खान नभइ कोठामा बस्न आएको उनीहरुले प्रतिक्रिया दिए ।

‘हामीले जुस खान नमानेपछि अचानक बारका अर्का कर्मचारी तपाईंहरुले खाएको विल ३० हजार १ सय ४० रुपैयाँ भयो भन्दै आइपुगे’, जोहरीमा अगाडि भनिएको छ, ‘त्यसपछि हाम्रो त होसहवास नै उड्यो ।’

उनीहरुले आफूले केही नखाएको बताउँदै आपत्ति जनाए । तर, केहीवेरपछि उनीहरुले कुनै प्रतिक्रिया जनाउन समेत पाएनन् । उनीहरुलाई उल्टै कुटपिट गर्न थालियो ।

‘दुई/तीन जना केटाहरु आएर डर, त्रास र धम्की दिन थाले’ एक पीडितले भने, ‘अन्तिममा हाम्रो साथमा भएको भारु १३ हजार ५ सय रुपैयाँ जबरजस्ती खोसेर लगे ।’

लुटपाटपछि ‘हाम्रो एरियामा बसिस भने मार्छु’ भन्दै धम्की दिएको पीडितहरुले बताएका छन् ।त्यहाँबाट भागेर कालिमाटी पुगेपछि भने उनीहरुले प्रहरीलाई मौखिक उजुरी दिए ।

लगत्तै, कालिमाटीका डिएसपी देवेन्द्रबहादुर पासले महाराजगञ्जका डिएसपी फडिन्द्र प्रसाईंलाई खबर गरे । उनीहरु लुटिएको बार महाराजगञ्ज वृत्तको एरियामा पर्ने भएकाले पालले प्रसाईंलाई खबर गरेका थिए ।

लगत्तै प्रसाईं आफैं भारतीय नागरिक लुटिएको बारमा पुगे र, ७ जनालाई पक्राउ गरे ।

‘सुरुमा त १५ जनालाई नियन्त्रणमा लिएका थियौं । तर, अनुसन्धानमा क्रममा ४ जनाको संलग्नता नदेखिएपछि छाडिएको छ’, डिएसपी प्रसाईं भन्छन्, ‘पक्राउ परेकाहरुको खल्तीबाट भारु ४ हजार रुपैयाँ पनि बरामद भएको छ ।’

असुरक्षित भएपछि भारत फर्किए

धार्मिक भ्रमणमा आएका वेला राजधानीमै लुटिएपछि बर्मा परिवार अहिले भारत फर्किइसकेको छ ।

प्रारम्भमा उनीहरुले प्रहरीलाई निखित निवेदन समेत दिन मानेका थिएनन् । तर, पक्राउ गरेर उनीहरुलाई कारबाही हुने विश्वास दिलाइसकेपछि मात्र बर्मा परिवारले प्रहरीमा लिखित निवेदन दिएका छन् ।

प्रहरीले निवेदनको आधारमा सात जनामाथि नयाँ मुलुकी संहितामा भएको व्यवस्था अनुरुप चोरी तथा डाँका मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

डीएसपी प्रसाईंले पीडकहरुमाथि कानुन कारबाही हुने र सुरक्षाका लागि प्रहरी तैनाथ रहेको भन्दै धार्मिक भ्रमण पूरा गरेर मात्र फर्कन बर्मा परिवारलाई आग्रह गरेका थिए । तर, असुरक्षित भएको भन्दै उनीहरू हतारहतार भारत फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment