Comments Add Comment

कोसेलीको स्याउः रातो र चम्किलो मात्रै नहेर्नुस्

२ कात्तिक, काठमाडौं । दशैंको माहोलमा स्याउको खरिद-बिक्री उच्च हुन्छ । शाकाहारी भोजन गर्नेहरुका लागि सबैभन्दा उत्तम आहारा हो, स्याउ । मांसहारी भोजन गर्नेले पनि स्वास्थ्यका लागि स्याउको प्रयोगलाई प्राथमिकता दिन्छन् ।

दशैंमा टीका थाप्न जाँदा सबैभन्दा धेरै प्रयोग गरिने कोसेली पनि स्याउ नै हो । त्यसैले दशैंमा स्याउको व्यापार अन्य फलफूलको भन्दा उच्च हुन्छ ।

तर, तपाईंले कोसेली लैजाने वा घरमा कोसेलीका रुपमा आएको स्याउ खाने बेलामा कस्तो गुणस्तरको हो भनेर कहिल्यै ध्यान दिनु भएको छ ? यसमा ध्यान पुगेन भने शरीरलाई नकारात्मक असर गर्न सक्छ । हेर्दा चम्किलो र खाउँ-खाउँ लाग्ने स्याउ किन्नुअघि तपाईले केही कुरामा ध्यान दिनैपर्ने हुन्छ ।

चाडबाडका बेलामा बजारमा माग बढ्दा उपभोक्ताको स्वास्थ्य प्रतिकूल हुने विभिन्न किसिमका स्याउ धेरै आएका हुन्छन् । त्यसैले उपभोक्ताहरु सचेत नभए स्वस्थ बन्नका लागि खाएको स्याउले तपाईंलाई बिरामी नै पारिदिन सक्छ । र, दीर्घकालमा पनि यसले असर पुर्‍याउन सक्छ ।

दशैंमा भारतीय बजारबाट आएका चकलेटी र काश्मिरी स्याउ किन्दा अझ ध्यान दिनुपर्ने सुझाव छ विज्ञहरुको । त्यसमा अत्यधिक मात्रामा स्याकरिन मिसाइएको हुन सक्ने विज्ञहरु बताउँछन् ।
स्याकरिन आफैंमा ठूलो हानिकारक वस्तु नभए पनि त्यसको मात्रा अनियन्त्रित हुँदा रोगी र अस्वस्थ व्यक्तिलाई हानी गर्न सक्छ । स्वस्थ व्यक्तिमा पनि स्याकरिन गरिएका स्याउ धेरै खाएका विभिन्न स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।

स्याकरिनयुक्त कसरी चिन्ने ?

राष्ट्रिय उपभोक्ता मञ्च, नेपालका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार अत्यधिक मात्रामा स्याकरिन मिसाइएको स्याउ अस्वाभाविक रातो हुन्छ । विशेष गरी चकलेटी र काश्मिरी स्याउमा यस्तो गरिन्छ ।
नेपालमा उत्पादन गरिएका स्याउमा भने स्याकरिन प्रायः गरिँदैन । यस्तो स्याउ हेर्दा चम्किलो पनि हुन्छ ।

तर, यसलाई काट्दा गाढा रातो झोल पदार्थ निस्कन्छ । यस्तो स्याउ काट्नासाथ भित्री सेतो भागमा हल्का रातो रंग देखिन्छ । साथै यसमा अन्यमा भन्दा बढी रस (पानी) आउँछ । यो देख्दा आकर्षक मात्र हुँदैन, खाँदा उत्तिकै स्वादिलो र गुलियो पनि हुन्छ ।

स्याकरिन गरिएको स्याउ स्वभाविकभन्दा फरक प्रकृतिको हुन्छ । किन्ने समयमा काटेर हेर्दा नै यसलाई चिन्न सकिन्छ । त्यसैले चकलेटी स्याउ किन्दा एकपटक स्याउ काटेर हेरेर मात्रै किन्न सुझाव दिन्छन् उपभोक्ता अधिकारकर्मी महर्जन ।

स्याकरिनबारे जान्नुस्

स्याकरिन चिनी भन्दा ३ सय गुणा बढी गुलियो पदार्थ हो । यो प्रतिवन्धित पदार्थ नभए पनि यसको अनियन्त्रित प्रयोग भने घातक हुन्छ ।

विशेषगरी मधुमेह, उच्च रक्तचाप लगायतका समस्या भएकाहरुलाई यसको उच्चतम् प्रयोगले स्वास्थ्यमा थप असर गर्ने अध्यक्ष महर्जनले बताए । बिरामीले प्रयोग धेरै गर्ने स्याउ प्रयोग गर्दा थप अस्वस्थता बढ्न सक्ने उनको भनाइ छ ।

स्याउमा इन्जेक्सनमार्फत स्याकरिन गरिन्छ । महंगो स्याउलाई थप स्वादिलो बनाउन यो प्रविधि उपयोगी मानिन्छ ।

तर, भारतीय क्षेत्रमा यसको वैज्ञानिक जाँच र मापदण्डबिना यो प्रविधिक प्रयोग गरिने भएकाले यो हानीकारक हुन सक्ने देखिएको छ । यसलाई नियनत्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने महर्जनले बताए ।

चम्किलो स्याउ पनि अाशंका 

बजारमा अत्याधिक स्याकरिन गरिएका स्याउ मात्रै होइन, वेक्स्ड स्याउहरु पनि भेटिन्छन् । विशेषगरी स्याउलाई चम्किलो देखाउन वेक्स गर्ने गरिएको छ ।

चम्किलो स्याउमा सबैैको आँखा तुरुन्तै जाने भएकाले यो प्रकारको प्रविधि अपनाउने गरेको पाइन्छ । चम्किलो बनाउन मैन तथा मैन्जन्य पदार्थको झोलमा स्याउलाई डुबाएर निकाली बजारमा पठाइन्छ । उपभोक्ता त्यसलाई देखेर आकषिर्त हुन्छन् । तर, त्यसको अत्यधिक प्रयोगले प्रयोगकर्तालाई बेफाइदा गर्छ ।

ज्यादा चम्किलो स्याउ सकेसम्म किन्दै नकिन्नु बुद्धिमानी हुन्छ । स्याऊ किनेर घर लगेपछि हलुका तातो पानीमा डुबाउँदा मैन पग्लिएर छुटिन्छ ।

त्यसैले ज्यादा चम्किलो स्याउ सकेसम्म किन्दै नकिन्नु बुद्धिमानी हुन्छ । स्याऊ किनेर घर लगेपछि हलुका तातो पानीमा डुबाउँदा मैन पग्लिएर छुटिन्छ । त्यसपछि भने स्याउ खानयोग्य हुन्छ ।
त्यसैले दशैंमा उपभोक्ताले स्याकरिन गरिएका वा वेक्स्ड गरिएका स्याउलाई पसलमै जाँच्न सक्छन् ।

धेरै चम्किलो र रातो स्याउ मात्रै स्वस्थकर हुन्छ भन्ने भ्रमलाई हटाउन पनि जरुरी भएको महर्जन बताउँछन् । तर, नेपालमै फलेका शुद्ध स्याउ चाहिँ केमिकल नहालिएको स्वस्थकर छानेर निर्धक्क खान सकिने महर्जनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment