Comments Add Comment

‘फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार’

२ कात्तिक, काठमाडौं ।

पियारीले हरेक महिना चिठ्ठी पठाउँथिन्
यसपालिको दशैंमा त घर आउ भन्थिन्
लालाबाला हरेक साँझ बाटो हेर्छन् अरे
थुम्थुम्याउँछु भन्थिन् उनी, आउँछन् भनी भरे
भन्नेलाई भन्दिए भो बिर्स घरबार
फौजीलाई कुन हो, दशैं कुन चाड तिहार…

जगदिश समालले त्यसै यो गीत गएका होइनन् । दशैं तिहारमा फौजीको दुःख र पीडालाई यो गीतले प्रतिबिम्बत गर्छ ।

वर्ष दिनमा आउने महान् चाड दशैंमा आफ्नो सन्तान घर फर्किन्छ भन्ने आश कुन बाबुआमाको नहुँदो हो र ! तर, फौजीका लागि भने यो अवसर विरलै जुर्छ । दशैंमा पनि आफ्नो घर पुग्न र आमाबुबाको हातबाट टीका थाप्न नपाउँदा धेरै भक्कानिन्छन् ।

तर, आफ्नो कर्तव्यको अगाडि उनीहरु नतमस्तक हुन्छन् । परिवार खुशीभन्दा सर्वसाधारणको सुरक्षा उनीहरुका लागि पहिलो प्राथमिकता बन्छ ।

रातदिन नभनी उनीहरु अहोरात्र ड्युटीमा खटिन्छन् । थोरै त्यस्ता भाग्यमानी फौजी पनि छन्, जसले घर फर्किने सौभाग्य पाउँछन् । धेरैले त ड्युटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुसी साट्दै दशैं खल्लो बन्न नदिने प्रयास गर्छन् ।

हाकिम बन्छन् अभिभावक

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले दशैंमा आमाबुबाको हातबाट टिका नलगाएको ३ वर्ष भयो । प्रहरी सेवाको २६ वर्षे अवधिको अधिकांश दशैं उनले कार्यक्षेत्रमै विताएका छन् । तर, उनको कुनै गुनासो छैन ।

‘प्रहरी सेवामा प्रवेश गर्ने वित्तिकै हामीले २४ घण्टै सेवामा खटिन्छौं भनेर प्रण गरेका हुन्छौं’, उनले अनलाइनखबरसँग भने, ‘सुरुआती दिनहरुमा केही अफ्ठ्यारो महसुस भए पनि विस्तारै अभ्यस्त हुँदै गइन्छ ।’

सदुरपश्चिमको डडेल्लधुरामा घर भएका पन्तको आमाबुबाले पनि प्रहरी निरीक्षक हुँदासम्म छोरो नआएकोमा गुनासो गर्थें । ‘सुरु–सुरुमा त आफैंलाई पनि जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । घरबाट पनि गुनासो हुन्थ्यो’, उनले स्मरण गरे, ‘तर, अहिले बुबाआमाले पनि बझ्नु भएको छ, प्रहरीको जागिरै यस्तै हो भनेर ।’

महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले अभिभावकको हातको टीका नलगाएको ७ वर्ष भयो । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा घर भएकाले पनि उनलाई दशैंमा जान सहज छैन ।

‘अहिले त झन् प्रहरीको एउटा निकायको नेतृत्व गरेर म आफैं दशैं मनाउन जाने हो भने सिपाहीहरुको हालत के हुन्छ ?’, उनी प्रश्न गर्दै भन्छन्, ‘मातहतका कर्मचारीको अभिभावक भनेकै म नै हुँ जस्तो लाग्छ ।’

ब्यारेकमै मनोरञ्जन

उनले कार्यालयमा कार्यरत् सिपाहीदेखि आफू मातहतका दर्जाका अधिकारीहरुलाई लक्षित गरेर कार्यालयमै दशैं तथा तिहार विशेष कार्यक्रममा गर्दै आएको पनि सुनाए ।

‘पहिलो कुरा त खानपिनलाई विशेष बनाएका हुन्छौं । मासु लगायतका परिकारहरु नियमित रुपमा बनाउँछौं । र, सबै एकैठाउँमा बसेर खान्छौं’, उनले भने, ‘त्यसपछि कतिपय नाँचगान गरेर रमाइलो पनि गर्छन् ।’

उनले आफूले मातहतका कर्मचारीहरुलाई टिका पनि लगाइदिने गरेको सुनाए । ‘कार्यालयभित्रकै वातावरण यस्तो हुन्छ कि जवानहरुलाई पनि घरको याद आउँदैन’, पन्त भन्छन्, ‘वास्तवमा सर्वसाधारणको सुरक्षामा तल्लिन रहँदा रहँदै कतिवेला दशैं जान्छ, थाहै हुन्न ।’

कतिपय अधिकारीहरुलाई भने आलोपालो पद्धतिमा विदा समेत दिइने गरिएको उनको भनाइ छ ।

‘सबै जनाले जान्छु भनेर त भएन । तर, भर्खरै विहे गरेका, विशेष अवस्था भएकाहरुका लागि प्राथमिकता दिएर पालैपालो घर जान सक्ने व्यवस्था पनि मिलाएका हुन्छौं’, उनले थपे, ‘त्यो चाहिँ दशैंमा गएको मान्छे तिहारमा जान पाएन । तिहारमा गएको मान्छे छठमा पाएन । पालैपिलो जानु पर्‍यो ।’

प्रहरीको दैनिक कार्यमा बाधा नपुग्ने गरी विदा दिइने गरिएको उनले बताए । ‘आलोपालोमा घर जाँदा अधिकारीहरुको पनि गुनासो हुँदैन । र, दैनिक काम कारबाहीमा पनि समस्या हुँदैन,’ उनले थपे ।

सर्वसाधारणको सुरक्षार्थ खट्दै सन्तुष्ट

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह पनि चाडपर्वमा सर्वसाधारणको सुरक्षार्थ खट्दै सन्तुष्ट महसुस गर्छन् ।

‘दशैं भन्यो, तिहार भन्यो । तर, हामीलाई त ड्यूटी गर्दागर्दै समय वितेको पत्तो नै हुँदैन’, सिंहले अनलाइनखबरसँग भने, ‘कार्यालय प्रमुख भएकाले हामीले विदा पनि लिन मिल्दैन । फेरि जनतालाई ३ सय ६५ दिनै शान्ति, सुरक्षा प्रदान गर्नु हाम्रो दायित्व पनि त हो ।’

उनी प्रहरी संगठनको मेरुदण्ड भनेकै तल्लो लेभलका अफिसरहरु भएको बताउँदै उनीहरुको मनोबल उच्च बनाउन भने लागि पर्ने बताउँछन् ।

‘उनीहरुको मनोबल उच्च बनाउन पालैपलो विदा दिने गरेको छु’, उनले थपे, ‘त्यसैमा मलाई पनि रमाइलो लाग्छ ।’

नेपालगञ्ज घर भएका एसएसपी सिंहले पनि आमाबुबाको हातको टिका नलगाएको ३ वर्ष भयो । अघिल्लो वर्षको दशैंमा उनी बागमती अञ्चल प्रमुखको जिम्मेवारीमा थिए, जसका कारण उनले विदा पाएनन् ।

त्यसअघि दाङको प्रहरी प्रमुख हुँदा भने उनले परिवारसँग दशैं मनाएका थिए ।

‘दशैं भनेर मात्रै भएन । शान्ति, सुरक्षाको व्यवस्थापनदेखि संगठित अपराधको अनुसन्धान गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो’, उनले भने, ‘यहीबीचमा भीआईपी/भीभीआईपीज्यूहरुको पनि सवारी हुन्छ । उहाँहरुको सुरक्षा व्यवस्थापनमा पनि हामी क्रियाशिल रहन्छौं ।’

आफन्त भेट्न जाँदा पनि सुरक्षा व्यवस्थाकै चिन्ता

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईं बडा दशैंको दिन शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय, शितल निवास क्षेत्रमा ड्यूटीमा खटिएका थिए ।

‘हाम्रो क्षेत्रमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायत पर्ने भएकाले जिम्मेवारी झन् धेरै छ’, प्रसाईंले अनलाइनखबरसँग भने, ‘सुरक्षामा कुनै पनि किसिमको बाधा नआओस् भएर सोही अनुरुप खटिएका छौं ।’

सर्वसाधारणलाई दशैंको टीका लगाउन सहज वातावरण सिर्जना गर्न तल्लिन प्रसाईं आफैंले भने अभिभावकको हातको टीका नलगाएको ७ वर्ष भयो । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा घर भएकाले पनि उनलाई दशैंमा जान सहज छैन ।

‘एक/दुई दिन विदा लिएर पनि नहुने’, उनले अनलाइनखबरसँग भने, ‘घर जाने हो भने यहाँबाट पुग्नै ३ दिन लाग्छ । फेरि फर्किंन ३ दिन । प्रहरी सेवामा दशैंको वेला त्यति लामो छुट्टी कल्पना पनि गर्न सकिन्न ।’

जनताको सुरक्षार्थ खटिने प्रहरी जवानहरुको पीडा पनि वर्णन गरिसाध्य छैन । मानिसहरु टिका र जमरा लाएर हिँड्डुल गर्दा उनीहरुको मन कटक्क खान्छ

उनी भन्छन्, ‘अहिले त बानी नै परिसकेँ । बुबाआमाले पनि छोरा राष्ट्रसेवामा छ भन्ने बुझ्नु भएको छ । र, राम्रोसँग काम गर, आफ्नो ख्याल गर्नु भन्नु हुन्छ ।’

दैनिक टेलिफोनमा भने सम्पर्क हुने बताउँदै प्रसाईं सम्झन्छन्, ‘एक महिनाअघि आमा विरामी हुँदा काठमाडौं आउनु भएको थियो । त्यसवेला भेट भएको थियो । अब यो पालिको दशैं यस्तै भयो ।’

काठमाडौंमै भएका आफन्तको घरमा जाँदा पनि आफ्नो क्षेत्रमा केही भयो कि भन्ने चिन्ताले सताउने उनी बताउँछन् ।

‘जा भने पनि जान सक्ने अवस्था छैन’

महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्द काफ्ले भने चाडपर्वको समयमा माथिल्लो तहका अधिकारीहरुले विदा दिए पनि आफ्नो क्षेत्र छाडेर जान सक्ने अवस्था नरहेको बताउँछन् ।

‘विदा हुँदा पनि जान सक्ने अवस्था छैन’, उनले अनलाइनखबरसँग भने, ‘राजधानीको विभिन्न प्रहरी कार्यालयहरुको आ–आफ्नै प्रकृतिका जिम्मेवारी हुन्छ । उपत्यकाको वृत्त इञ्जार्जको जिम्मेवारी आफैंमा एउटा संवेदनशील जिम्मेवारी हो ।’

‘त्यसैले कसैले जानू भन्दा पनि जान सक्ने अवस्था छैन । जिम्मेवारीबोध गर्नुछ’, काफ्ले थप्छन्, ‘विदामा जाँदा आफ्नो एरियामा केही भइहाल्छ कि भन्ने चिन्ताले सताउँछ ।’

भाग्यवश गत वर्ष काफ्लेले परिवारसँगै बसेर दशैं मनाउन पाए । ‘मिसनमा गएर फर्किएको थिएँ । हेडक्वार्टरमा दरबन्दी भएकाले घर जाने परिस्थिति मिल्यो’, उनले स्मरण गरे, ‘यसवर्ष भने विदा लिन मिल्ने स्थिति छैन ।’

उनले यसपटकको दशैंमा अघिल्ला वर्षहरुझैं कुनै अप्रिय घटना नभएको समेत सुनाए । ‘दशैं लक्षित सुरक्षा योजना अनुरुप हामीले काम गरेका थियौं’, काफ्लेले भने, ‘त्यसैले कुनै त्यस्तो घटना हुन पाएनन् ।’

सन्तोष मान्दै उनी भन्छन्, ‘हामी जता ड्यूटीमा खटिन्छौं, त्यही नै हाम्रो दशैं हुन्छ । त्यहीँ हुन्छन् परिवार ।’ आम नागरिकले हाँसो, खुसीका साथ दसैं, तिहार जस्ता चाडपर्व मनाउन पाए आफूलाई त्यसैमा सन्तुष्ट हुने उनी बताउँछन् ।

प्रहरी जवानको पीडा

जनताको सुरक्षार्थ खटिने प्रहरी जवानहरुको पीडा पनि वर्णन गरिसाध्य छैन । मानिसहरु टिका र जमरा लाएर हिँड्डुल गर्दा उनीहरुको मन कटक्क खान्छ ।

माथिल्लो तहका अधिकारीहरु मध्ये अधिकांशको घर काठमाडौंमा छ । तर, अधिकांश तल्लो दर्जाका अधिकारीहरुको न त घर जान पाउँछन् न त उनीहरुको यहाँ कोही आफन्त नै हुन्छन् ।

त्यसैले उनीहरुको अवस्था झनै पीडादायी हुन्छ । थोरै समय निस्किए पनि दशैं मनाउन पाउँदैनन् ।

एक प्रहरी जवान गुनासो गर्छन्, ‘के गर्नु जागिर नै यस्तै रहेछ, दसैंमा घर जान नपाएको धेरै भयो । घरमा आमाबुबा छोरा आउला कि भनेर आश गर्नु हुन्छ । तर, विदा मिल्दैन ।’

आफ्नो पीडा उनले मलीन अनुहार बनाउँदै पोखे । र, फेरि सन्तुष्ट हुन खोज्दै भने, ‘जनतालाई सुरक्षा दिनुमा नै खुशी मिल्छ, अरु त भन्नु र सर..!’

यी भाग्यमानी अफिसर

कतिपय अधिकारीहरुलाई वर्षौंदेखि दशैं मनाउन जुरिरहेको छैन भने केही अफिसरहरु घरपायक सेवामा हुँदा भाग्मानी साबित भएका छन् । उनीहरुले थोरै समय भए पनि परिवारसँग बिताउन पाएका छन् । यद्यपि, उनीहरु पनि आफ्नो जिम्मेवारीबाट छुटकरा भने पाउँदैनन् ।

शान्ति, सुरक्षा कायम गर्नु पर्ने दायित्वसँगै थोरै फर्सुद निकालेर उनीहरु परिवारसँग भेटघाटमा रमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायब महानिरीक्षक (डिआईजी) शैलेश थापा क्षेत्री पनि तिनै भाग्यमानी अधिकृतहरु मध्ये पर्छन् ।

भक्तपुरमा घर भएकाले उनले अभिभावकको हातबाट टिका लगाउने मौका पाए । अघिल्लो वर्ष भने उनको दशैं खल्लो बनेको थियो ।

त्यसवेला जिल्ला प्रहरी कार्यालय, झापाको प्रमुख रहेकाले उनले दशैं मनाउन पाएनन् । तर, यो वर्ष भने उनले परिवारसँग दशैं मनाउने मौका पाएका छन् ।

यद्यपि, कार्यालयको नियमित कामले आफूलाई नछोड्ने उनी बताउँछन् । ‘महानिरीक्षकज्यूको निवासमा प्रहरीका अधिकारीहरुलाई टीका लगाइदिने कार्यक्रम हुन्छ । त्यसैले त्यहाँ पनि सहभागी हुनै पर्‍यो’, उनले अनलाइनखबरसँग भने, ‘फेरि केही परि हाले तत्काल खटिनलाई जतिसुकै वेला पनि ‘स्ट्यान्ड बाइ’ रहनु पर्ने हुन्छ ।’

क्षेत्री जस्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामालाई पनि यसपालि भाग्यले साथ दिएको छ । उनले काठमाडौंमै रहेका परिवारसँग दशैं मनाउने अवसर पाएका हुन् ।

‘राजधानीको सुरक्षा व्यवस्था सुदृढ बनाउने जिम्मेवारी त छँदैछ’, उनले भने, ‘केही समय निकालेर परिवारसँग दशैं मनाउँदैछु,’ पुख्र्यौली घर इलाम भएका लामाको परिवार त्यहाँबाट बसाइँ सरेर वीरगञ्ज पुगेको थियो । तर, हाल उनीहरु परिवारै काठमाडौंमै छन् ।

काठमाडौं प्रहरी परिसरको मुद्दा शाखाका प्रमुख डीएसपी मोहनकुमार थापाले पनि यसपटक परिवारसँग दशैं मनाउने अवसर पाएका छन् । तर, महत्वपूर्ण ठाउँमा बसेपछि ढुक्कले भने दशैं मनाउन नसकिन उनी सुनाउँछन् ।

‘जतिखेरै हाइअल्टमा बस्नु पर्छ’, उनले भने, ‘जसको फोन आए पनि झसंग हुन्छु, कतै केही भइहाल्यो कि भनेर ।’ उनले जुनसुकै वेलामा कार्य क्षेत्रमा दगुरिहाल्नु पर्ने हो कि भनेर जहिल्यै आफू तयारी अवस्थामा बस्ने गरेको सुनाए ।

खास घर सिन्धुली भए पनि हाल उनी परिवारसहित काठमाडौंमै बस्दै आएका छन् ।

ब्यारेकभित्रको दशैं

त्यसो त प्रहरी अधिकारीहरुले दशैं नै मनाउन नपाउने भने होइन । सम्बन्धित कार्यालयका इञ्चार्जले दशैं मनाउनका लागि चाँजोपाँजो मिलाएका हुन्छन् ।

आफ्नो परिवारसँग भेट्न नपाए पनि उनीहरुले संगठनका सदस्यहरुसँग बसेर दशैं मनाउँछन् । आफ्ना इञ्चार्जहरुको बाहुलीबाट टीका र आशिर्वाद थाप्छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता क्षेत्रीका अनसार घटस्थापनाका दिन प्रहरी प्रधान कार्यालयदेखि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुमा जमरा राख्ने गरिन्छ ।

‘हेडक्वार्टरको जमरा चाहिँ १ नम्बर गणमा राख्ने गरिन्छ’, उनले भने, ‘त्यसपछि मौलो पूजा गर्ने प्रचलन छ ।’ मौलो पुजा अष्टमीका दिन गर्ने गरिन्छ ।

उनका अनुसार नवमीको दिन बिहान साइत हेरेर बली दिने प्रचलन पनि छ । दशमीका दिनदेखि प्रहरी महानिरीक्षकको हातको टीका लगाउन परम्परा पनि रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment