Comments Add Comment

‘पैसा कमाउन होइन, क्रिकेटको विकासका लागि हो पीपीएल’

५ कात्तिक, काठमाडौं । कात्तिक ९ गतेबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको अन्तिम तयारी चलिरहेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदान लगभग तयार भएको छ ।

धनगढी प्रिमियर लिग (डीपीएल) र एभरेस्ट प्रिमियर लिग (इपीएल) ले राम्रो चर्चा पाएपछि देशकै प्रमुख पर्यटकीय सहरमा हुन लागेको अर्को टी ट्वान्टी क्रिकेटलाई लिएर खेलाडी, दर्शक उत्साहित बनेका छन् । प्रतियोगिताका लागि पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ फ्रेन्चाइज टिमले खेलाडी अनुबन्ध सकेर अन्य तयारी गरिरहेका छन् ।

खेलाडी र दर्शकको भन्दा कम छैन पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाको उत्साह पनि । उत्साहसँगै उनी भने प्रतियोगिता नजिकिँदै गर्दाको धपेडीमा पनि छन् ।

ताप्लेजुङको विकट गाउँ घुन्सामा जन्मिएका लामाको खेलकुद रहर पुरानै हो । स्टक मार्केट र अरु लगानीका क्षेत्रमा काम गरिरहेका लामालाई यही रहरले नेपाल क्रिकेट संघमा पुर्‍यायो ।

यो पैसा कमाउनभन्दा पनि नेपाली क्रिकेटको विकासका लागि आयोजना गरिएको हो । सबैले आँखाले देख्ने गरी नै लगानी गरेका छौं ।

 क्रिकेट संघको प्रमुख कार्य सञ्चालन अधिकृतका रुपमा ७ वर्ष काम गरेको अनुभव र खेलकुदमा केही गरौं भन्ने हुटहुटीले नै उनी पीपीएल आयोजनासम्म पुगेको बताउँछन् । उनै लामासँग पीपीएलमा केन्द्रित रहेर अनलाइनखबरका ऋग्वेद शर्माले  गरेको कुराकानी:

पीपीएल आयोजनाको सोच कसरी बन्यो ?

क्रिकेट संघमा लामो समय काम गरेको अनुभव र नेपाली घरेलु क्रिकेटमा केही न केही गर्नुपर्छ भन्ने पहिलेदेखि लागिरहेकोले पीपीएलको सोच बनेको हो ।

प्रतियोगिताका लागि पोखरा नै किन रोजियो त ?

काठमाडौंबाट नजिक हुनुको साथै होटल, यातायात लगायतका सुविधा राम्रो भएको कारणले पोखरा रोजेका हौं । खेलाडीहरुलाई पनि त्यहाँको वातावरणमा सजिलो हुन्छ भन्ने हामीलाई लाग्छ ।

सुदर्शन रञ्जितले खिच्नुभएको पोखराको मैदानको एउटा तस्बिरले एसीसीको अवार्ड नै जितेको थियो । त्यसले पनि मैदानको चर्चा राम्रो थियो । अन्तर्राष्ट्रियस्तरमा पोखरा भनेपछि एउटा क्रेज छ । क्रिकेटमा पनि त्यहाँ राम्रो क्रेज देखेका छौं ।

डीपीएल र इपीएलसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थितिलाई कसरी लिनुभएको छ ?

धनगढीमा डीपीएल र काठमाडौंमा इपीएल सफलतापूर्वक नै चलिरहेका छन् । हामीले प्रतिस्पर्धात्मक रुपमा भन्दा पनि क्रिकेट विकासका लागि सोच्ने हो । क्रिकेटलाई एउटै शहरमा भन्दा पनि फरक–फरक ठाउँमा फैलाउनुपर्छ भनेर हाम्रो सोच छ । घरेलु क्रिकेट जति धेरै भयो त्यति नै खेलाडीलाई फाइदा हुन्छ । नयाँ–नयाँ खेलाडीले अवसर पाउँछन् । क्रिकेटमा व्यावसायिकता बढ्छ जस्तो लाग्छ ।

पीपीएल आयोजनाको सोच बनाएर पहिलोपटक पोखरा रंगशाला पुग्दा र अहिले मैदानमा हुँदा कस्तो भिन्नता पाउनुहुन्छ ?

पहिलोपटक पोखरा गएर मैदान हेर्दा त विजोग नै थियो । ठाउँ असाध्यै राम्रो तर मैदानमा केही थिएन । झाडी फाँडेर अहिले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुने स्तरमा पुगेको छ ।

अब त्यहाँका स्थानीय खेलाडीले बाह्रै महिना क्रिकेट खेल्न सक्ने छन् । पोखरा प्रिमियर लिगपछि पनि मैदानलाई उही अवस्थामा मेन्टेन गरेर नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण पनि गर्न सकिन्छ जस्तो लाग्छ ।

अहिले मलाई क्रिकेट मैदान छिर्दा जस्तो खुसी अरु हुँदैन । त्यहाँ कुनै पनि कुरामा कन्जुसी नगरी काम गरेका छौं । त्यो मेदान देख्दा त जो कोहीको मन लोभिन्छ । साना–साना कुरामा पनि विचार गरेर काम गरेका छौं ।

मैदान निर्माणमा कसरी काम भयो ?

काठमाडौंबाट र मुम्बईबाट विशेषज्ञ ल्याएर हामीले पिचमा काम गरेका हौं । स्थानीय कामदारहरुबाट आउट फिल्डमा काम गर्‍याैं ।

तीन महिना लगाएर मैदान तयार पारेका छौं । चार वटा राम्रो पिच बनाएका छौं । आउट फिल्ड पनि राम्रो भएको छ । हेर्ने हो भने नेपालमा त्यत्तिको मैदान कमै छन् । त्यसमाथि माछापुच्छे्र र अन्नपूर्णको काखमा क्रिकेट खेल्न र क्रिकेट हेर्न पाउनु आफैंमा ठूलो कुरा हो ।

दर्शकको लागि अस्थायी प्याराफिट बनाएका छौं । जसमा ४५ सय जति मान्छे अट्न सक्छन् । स्थानीयको सहयोग राम्रो छ । उनीहरु सकारात्मक छन् । पुराना खेलाडी, प्रशिक्षक र खेल मन पराउने सबैले पोखरामा साथ दिइरहनु भएको छ ।

स्थानीय सरकारसँग कसरी समन्वय भएको छ ?

स्थानीय सरकारले पनि राम्रो साथ दिएको छ । मैदानको व्यवस्थापनका लागि प्रतियोगितापछि पनि काम गर्न सकिन्छ कि भनेर कुरा गरेका छौं । पोखरामा अहिलेसम्म नभएको क्रिकेटको ठूलो इभेन्ट पनि कस्तो होला भन्ने उत्सुकता सबैमा छ ।

क्रिकेटमार्फत ज्ञपोखरा राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा अझ चिनिने छ । पर्यटन प्रबद्र्धनमा पनि त्यसले सहयोग गर्छ । सन् २०२० मा पर्यटन वर्ष घोषणा गरेर सरकारले त्यसका लागि काम गर्दै छ । त्यसमा पनि सहयोग नै हुनेछ ।

साथ र सहयोग त पाइरहेको बताउनुभयो । चुनौती चाहिँ कति आए ?

चुनौतीहरु पनि सबै हिसाबले छन् । त्यसलाई मैले अवसरको रुपमा लिएर मेहनतपूर्वक काम गरिरहेको छु । पीपीएल एउटा सपना पनि हो । त्यसलाई सफल पार्न सानो मेहनतले त पुग्दैन नै ।

यो लेभलको प्रतियोगिता गर्दा अन्तर्राष्ट्रिय मान्यता पनि पाउनुपर्छ । नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले पनि धेरै कामहरु सहज रुपमा हुन सकेको छैन । नेपाल क्रिकेट अभिभावकविहीन भइरहेको बेला आईसीसीसँग कुराकानी गर्न कठिन हुन्छ । यद्यपि, हामीले पहिले पनि काम गरिरहेको आधारमा प्रतियोगिताका लागि आईसीसीको सम्बन्धन लिन केही सहज भयो ।

पीपीएलले किर्तिमानी प्रायोजन पाएको छ भन्ने सुनिन्छ, सत्य हो ?

अरुसँग तुलना गर्नु भन्दा पनि पीपीएलमा प्रायोजन राम्रो भएको छ । सबैभन्दा ठूलो कुरा त क्रिकेट हुनु नै हो । टिम मालिकहरु पनि सस्टेन हुन सक्नुपर्छ । सबैले गरेको लगानी खेर नजाओस् भन्नेमा विचार गर्नुपर्छ ।

दिर्घकालसम्म क्रिकेटलाई बढाउने उद्देश्यबमोजिम नै कर्पोरेटको साथ पाइरहेका छौं । दुवै पक्षका लागि विन–विन हुने अवस्था बनाएका छौं । हाम्रो तयारी र योजना राम्रो भएकाले त्यसमा सहज भएको हो ।

मैदान बाहिरका दर्शकसम्म पुग्न कसरी काम भइरहेको छ ?

मैदानमा आएर हेर्न नसक्ने दर्शकका लागि पनि हामीले सोचेका छौं । सामाजिक सञ्जाल र सञ्चारका अरु माध्यमहरुबाट पनि पीपीएल दर्शकसम्म पुर्‍याउन सकियोस् भन्ने सोचिरहेका छौं ।

हिमालय टेलिभिजनसँग लाइभको लागि सम्झौता भइसकेको छ । अरु सेलिब्रिटीले पनि पीपीएललाई फलो गरिरहनु भएको छ । त्यसले फाइदा पुगेको छ । उदाहरणका लागि, अफगानिस्तानका क्रिकेटर रसिद खानले शुभकामना सन्देश रहेको भिडियो नै पठाउनुभएको थियो ।

केही समयअघि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले क्रिकेटको विकासका लागि टी–ट्वान्टी भन्दा पनि एकदिवसीय प्रतियोगिता हुन सके राम्रो हुन्थ्यो भन्ने विचार राख्नुभएको थियो । तपाइँहरुले एकदिवसीय गर्नेबारे केही सोच्नुभएको छ ?

भविष्यमा एक दिवसीय क्रिकेटमा पनि यस्तैखाले प्रतियोगिता गर्न सकिन्छ कि भनेर सोचेका छौं । टी–ट्वान्टीको तुलनामा एकदिवसीयमा नेपाल अलि कमजोर पनि छ । त्यसैले एकदिवसीय प्रतियोगिताहरु गर्न सकियो भने धेरै नै राम्रो हुन्छ ।

त्यसका लागि भौतिक संरचना निर्माणमा काम गर्नुपर्छ । सातवटै प्रदेशमा मैदान निर्माण गर्न सकियो भने खेलाडीहरुले नियमित खेल्न पाउने छन् । निजी क्षेत्रले पनि सरकारसँगको सहकार्यमा काम गर्न सक्छन् ।

क्रिकेटमा अवसर नपाएका, क्रिकेट खेल्न चाहने युवाका लागि पीपीएलले कसरी सहयोग गर्ला त ?

अहिले हामीले लोकल आइकोनिक प्लेयर भनेर हरेक टिममा दुई जना नयाँ खेलाडीलाई अवसर दिएका छौं । पोखरामा रहेका युवा खेलाडीहरुले प्रतियोगितापछि पनि नियमित खेल्ने मैदान पाएका छन् । त्यसले उनीहरुको खेलमा विकास हुने नै छ । आगामी दिनमा हामीले अझै केही गर्न सक्छौं कि भनेर सोचेका पनि छौं ।

भविष्यमा होम एण्ड अवेका आधारमा जान सकिने कुनै सम्भावना देख्नुभएको छ ?

त्यस्तो सोचेका छौं । अरु सहरमा पनि राम्रा मैदानहरु बनाउन सकियो भने त्यसलाई होम एण्ड अवेमा लैजाँदा धेरै राम्रो हुनेछ ।

पोखरामा तयारी गर्दा हाम्रोमा पनि गर्नुपर्छ भन्ने खालका कुराहरु धेरै तिरबाट आएका थिए । अहिले ६ वटै फ्रेन्चाइज टिमले पनि आफ्नो सहरमा खेल गर्न सकिन्छ कि भन्ने कुरा गरेका छन् ।

अब अलिकति पुरानो कुरा गर्दा, क्रिकेट संघमा आफूले निभाएको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

क्रिकेट संघमा ७ वर्ष काम गर्दा पनि आफ्नो तर्फबाट पूरा मेहनतपूर्वक काम गरेको थिएँ । संघ निलम्बनमा रहेको अवस्थामा पनि आवश्यक पर्दा सरसहयोग गरिरहेको छु ।

खेलाडी, अफिसियल र जति पनि संलग्न व्यक्ति हुनुहुन्छ सबैलाई एक ठाउँमा ल्याएर अघि बढ्न खोजिरहेको छु । त्यहाँको अनुभवले नै अहिले पीपीएल गर्ने स्थानसम्म आइपुगेको हो ।

संघमा रहेर काम गर्दा र अहिले के भिन्नता पाउनुहुन्छ ?

संघमा रहेर काम गर्दा सामूहिकतामा हुने निर्णयलाई मान्नुपर्ने हुन्छ । अहिले आफ्नै योजनामा मन लागेको काम गर्न सकिन्छ । व्यक्तिगत रुपमा आफूले पाएका अनुभवलाई सदुपयोग गर्दै काम गरिरहेको छु । अहिले निर्णय प्रक्रियामा धेरै सहज छ ।

आर्थिक हिसाबले कस्तो होला त पीपीएलको पहिलो संस्करण ?

यो पैसा कमाउन भन्दा पनि नेपाली क्रिकेटको विकासका लागि आयोजना गरिएको हो । सबैले आँखाले देख्ने गरी नै लगानी गरेका छौं । हामीले अहिले केही कमाउने सोचेका छैनौं । व्यवस्थित रुपमा क्रिकेट हुन सकोस् भन्ने सोचेका छौं । जसरी काम गरिरहेका छौं त्यो दीर्घकालका लागि हो ।

प्रतियोगिता सकिँदा आज देखिएको उत्साह उही होला त ?

यो उत्साह यस्तै नै रहन्छ । यो एउटा सपना हो । त्यसमा पूरा हुँदाको खुसीसँगै अझ अगाडि बढ्ने चाहना पनि हुन्छ । मलाई सहयोग गर्ने टिमका अन्य सदस्य पनि युवा छन् । उनीहरुमा पनि विशेष जोश छ । यसलाई दीर्घकालसम्म लिएर यही उत्साहका साथ बढ्ने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment