Comments Add Comment

प्रदेश २ को प्रहरी विधेयक तराई अलग पार्ने उद्धेश्यबाट प्रेरित : मसाल

७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) प्रदेश २ सरकारले बेग्लै सशस्त्र शक्ति तयार पारेर तराईलाई नेपालबाट अलग गर्ने उद्देश्यले प्रहरीसम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाएको छ । महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी उक्त नीति प्रदेश २ मा मात्र नभई सम्पूर्ण तराई क्षेत्रमा कार्यान्वयन गर्ने मधेस केन्द्रत दलहरुको योजना रहेको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् ।

‘अहिले २ नं. को प्रहरीसम्बन्धी जुन विधेयक अगाडि आएको छ त्यो सिलसिला त्यहीसम्म सीमित रहने छैन । त्यसका पछाडिको उद्देश्य नेपालमा आफ्नो बेग्लै सशस्त्र शक्ति तयार पारेर तराईलाई नेपालबाट बेग्लै गराउने उद्देश्यले काम गरेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि उनीहरूको त्यस प्रकारको नीति २ नं. प्रदेशसम्म मात्र सीमित नरहेर पूरै तराईमा कार्यान्वयन गर्ने उनीहरूको योजना छ’ मसालको विज्ञप्तिमा भनिएको छ ।

नेपालमा सङ्घीयता ल्याउन मधेशवादीहरूले नै पहल गरेका र भारतीय दवावमा सत्ता वा प्रतिपक्षका प्रमुख राजनीतिक सङ्गठनहरूले बिना कुनै गृहकार्य सङ्घीयतालाई स्वीकार गरेका भन्दै मसालले त्यसको असर विस्तारै देखिन थालेको बताएको छ । ‘उनीहरूले नेपालमा जुन विषबृक्ष रोपेका थिए, त्यसका परिणामहरू जे हुनु पर्दथ्यो त्यसको एउटा रूप २ नं. प्रदेशको प्रहरीसम्बन्धी विधेयक पनि हो’ मसालले भनेको छ ।

प्रदेश २ को प्रहरी विधेयक आएपछि आम जनता र पहिलेका सङ्घीयताका पक्षपातिहरू पनि सङ्घीयताप्रति सशंकित बनेको भन्दै मसालले सङ्घीयता खारेज गर्न जति ढिलो हुँदै जान्छ समस्या उति बढ्दै जाने बताएको छ ।

मधेस केन्द्रितहरु कट्टर संघीयतावादी रहेको भन्दै मसालले अन्य पक्षले भने वाह्य दवाव वा भ्रमवस नै त्यसलाई समर्थन गरेको बताएको छ । ‘त्यसैले त्यसलाई खारेज गराउन सीघ्र प्रभावशाली कदम उठाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले पुनः विशेष जोड दिन्छ’ मसालको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment