Comments Add Comment

बुटवल उपमहानगरपालिकामा घरको नक्सा डिजाइन, , सेवाग्राहीलार्इ सम्मान

८ कात्तिक, बुटवल । देशभरका स्थानीय तहमध्ये पहिलोपटक आफ्नै कार्यालयबाट घरको नक्सा डिजाइन सेवा सुरु गरेको बुटवल उपमहानगरले सेवाग्रहीलाई सम्मान गरेको छ ।

साउनदेखि कार्यालय भित्रै नक्सा हेल्प डेस्क स्थापना गरी दुई जना इन्जिनियर कर्मचारीमार्फत सेवा सुरु गरेको उपमहानगरले यो अवधिमा सेवा लिएका १५ जना सेवाग्राहीलाई बिहीबार सम्मान गरेको हो ।

उपमहानरगरले भुइँतलामा एक हजार वर्गफिट क्षेत्रफलको एकतले घरका लागि पाँच हजार शुल्कमै नक्सा डिजाइन गरी उपलब्ध गराउन थालेको छ ।
सोही क्षेत्रफलमा एकतला भन्दा माथि नक्सा डिजाइन गर्दा आठ हजारका दरले अतिरिक्त शुल्क निर्धारण गरिएको छ ।

नगर प्रमुख शिवराज सुवेदीका अनुसार यो शुल्क इन्जिनियर कन्सल्टेन्सीहरुबाट लिइने शुल्क भन्दा झण्डै तीन गुणा सस्तो हो ।

कन्सल्टेन्सीहरुले एकतले घरकै नक्सा डिजाइनबापत न्यूनतम २५ हजारदेखि ४० हजारसम्म लिने गरेका सुवेदीले बताए ।

नगरपालिकाले सुपथ शुल्कमा यो सेवा सुरु गरेपछि इन्जिनियरिंग एशोसिएसनले विरोध गर्दै उपमहानगरकै शुल्कमा आफूहरुले नक्सा बनाइदिन तयार रहेको भन्दै नगरपालिकाभित्रबाट यो सेवा बन्द गर्न माग गरेका थिए ।

नगरवासीहरु नठगिउन् र सुपथ शुल्कमै नक्साको डिजाइन बनाउन सकून् भनेर पाइलट प्रोजेक्टका रुपमा उपमहानगरले देशमै पहिलोचोटी यो सेवा शुरु गरेको नगरप्रमुख सुवेदीले बताए ।

विषय विज्ञ र नगरका प्राविधिकको सुझावका आधारमा मापदण्ड अनुरूपका नयाँ-नयाँ आधुनिक घरहरूको डिजाइन प्रोफाइल उपमहानगरले तयार पारेको छ ।
सेवाबारे उचित प्रचारप्रसार हुन नसक्दा शुरुवाती चरणमा सेवाग्राही कम आएपनि भविष्यमा चाप बढ्ने र प्राविधिक जनशक्ति थपेर छिटोछरितो सेवा दिने उद्देश्य रहेको उपप्रमुख गोमादेवी आचार्यले बताइन् ।

सर्वसुलभ शुल्कमा सहजरुपमा सेवा पाउंदा सांच्चिकै राहतको महसुस भएको बुटवल नयांगाउंका सेवाग्राही नरहरि भुसालले बताए ।

बुटवल वडा नंं ७ का हेमबहादुर राउतले शुल्क सर्वसुलभ भएपनि नक्सापासको प्रकृया लामो र झन्झटिलो भएकाले सहज बनाउन माग गरे ।

कार्यालयबाटै नक्सा डिजाइन सेवाले उपमहानगरलाई भविष्यमा स्मार्ट सिटी बनाउने योजनामा टेवा पुग्ने र भवन संहिता पनि पूर्णरुपमा कार्यान्यवन हुने योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । यसअघि स्थानीयले नक्सा पासका लागि महंगो शुल्क र बढी समय खर्चिनु पर्ने वाध्यता थियो ।

उपमहनगरले चालु आर्थिक वर्षदेखि घरनक्साका सबै काम अनलाइनमार्फत गराउने काम इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सुरु गरेको छ ।
योजना प्रमुख श्रेष्ठका अनुसार बुटवल उपमहानगरले वाषिर्क रूपमा झन्डै एक हजार पाँच सय घरको नक्सा पास गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment