Comments Add Comment

गोरखामा तीन विद्युत सवस्टेशन बन्दै, काठको ठाउँमा फलामे पोल

८ कात्तिक, गोरखा । गोरखाको विद्युत सेवामा बारम्बार समस्या देखिँदा सर्वसाधारण हैरान छन् । कहिले भोल्टेज नपुग्ने, कहिले तनहुँको दमौली, डुम्रेलगायतका क्षेत्रमा समस्या देखिँदा पनि जिल्लामा विद्युत अवरुद्ध हुँदै आएको छ । ग्रामीण क्षेत्रमा भने हावाहुरीका कारण काठका पोलहरु भाँचिदा विद्युत अवरुद्ध हुने गरेको छ ।

तर, यो समस्या गोरखालीले धेरै भोग्नुनपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको गोरखा वितरण शाखाले यो समस्या अन्त्यका लागि तीनवटा सव स्टेशन निर्माण र काठका पोललाई फलामे पोलले विस्थापित गर्ने तयारी गरिरहेको छ ।

हाल विद्युत प्रणाली सुदृढिकरण कार्यक्रम अन्तरगत जिल्लामा तीन वटा सव-स्टेशन निर्माणको चरणमा छ । पालुङटार, जौवारी र घ्याम्पेशालमा सव-स्टेशन निर्माण भइरहेको प्राधिकरण वितरण शाखा गोरखाले जनाएको छ ।

‘अहिले दमौली सव-स्टेशनबाट डुम्रे खैरेनी हुदै गोरखामा विद्युत ल्याइएको छ, यी ठाउँमध्ये जहाँ समस्या भए पनि गोरखामा विद्युत गइहाल्छ,’ शाखा प्रमुख माधव न्यौपानेले भने, ‘अब जिल्लामै सवस्टेशन बनेपछि समस्या कम हुन्छ ।’

पालुङटारमा ‘कन्ट्रोल विल्डिङ’ तयार भएर सव-स्टेशन निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको उनले बताए । ‘घ्याम्पेशालमा जग्गा सम्याउने र कम्पाउण्ड वाल लगाउने काम भइरहेको छ,’ न्यौपानेले भने, ‘जौवारीमा भने जग्गाको खोजी भइरहेको छ ।’ जग्गा प्राप्तिका लागि मन्त्रालयले प्रारम्भिक अधिकृत तोकिसकेको उनले जानकारी दिए ।

सवस्टेशन निर्माणसँगै फिडर लाइन पनि थप गर्ने तयारी छ । ‘अहिले तीन वटा फिडरबाट लाइन वितरण भइरहेको छ, सवस्टेशन बनेपछि फिडरहरु थपिन्छन्, जति फिडर थप्यो विद्युत समस्या उति नै कम हुन्छ,’ उनले भने । जौवारी, पालुङटार र घ्याम्पेशालमा तीन/तीन वटा फिडर थप्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । दुई बर्षभित्र सवस्टेशन निर्माण भइसक्ने प्राधिकरणको दावी छ ।

काठेपोलको ठाउँमा फलामे पोल

विद्युत वितरणका लागि जिल्लाका धेरै ठाउँमा काठका खम्बाहरु प्रयोग गरिएको छ । अब त्यसलाई फलामे खम्बाले विस्थापित गर्ने प्राधिकरणको तयारी छ । बर्षेनी पाँच हजार काठेपोल हटाएर फलामे पोल राख्दै आएको प्राधिकरण शाखा प्रमुख न्यौपानेले बताए । ‘अझै पनि जिल्लामा हाई भोल्टेज लाइनमा ६ सय र लो भोल्टेज लाइनमा १७ हजार भन्दा बढी काठेपोलहरु प्रयोगमा छन्, सबै काठेपोल विस्थापित गर्न कम्तीमा पनि तीन बर्ष लाग्छ,’ उनले भने । यसका लागि करिव ३५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

काठका पोल केही वर्षमा नै भाँचिने हुँदा विद्युत वितरणमा समस्या हुदै आएको प्राधिकरणले जनाएको छ । ‘काठेपोलमा दुर्घटना हुने जोखिम बढी हुन्छ, समस्या आए फलामे पोलहरुमा जस्तो चढ्न पनि सकिन्न, तार तन्काउन गाह्रो हुन्छ फेरि भोल्टेज पनि कम हुन्छ,’ उनले भने । गोरखा क्षेत्र नम्बर १ को क प्रदेशमा सबैभन्दा बढी काठेपोल प्रयोग भएको उनको भनाइ छ । शाखा लाइनमा प्रयोग भएका अधिकांश काठेपोलहरु जीर्ण हुँदा समस्या भएको उनले बताए ।

तार स्तरोन्नतिको काम हुदै

सदरमुकाम आसपासका क्षेत्रमा प्रयोग भएका विद्युतीय तार स्तरोन्नतिको काम भइरहेको छ । यसअघि प्रयोग भएका मसिना तारलाई विस्थापित गरेर मोटो तार राखिएको प्राधिकरण शाखा प्रमुख न्यौपानेले बताए । ‘मसिनो तार छिन्ने र लोड नधान्ने समस्या भएपछि ‘कन्डक्टर अपग्रेडिङ’ गरेर मोटो तार प्रयोग गरेका हौं, यसले लोड बढी धान्छ र समस्या पनि कम गर्छ,’ उनले भने ।

विद्युत चोरी नियन्त्रण गर्न छड्के अनुगमन

विद्युत चोरी नियन्त्रणका लागि नेपाल विद्युत प्राधिकरण वितरण शाखा गोरखाले छड्के अनुगमन शुरु गरेको छ ।

प्राधिकरणले बरामद गरेको विद्युत चोरीमा प्रयोग गरिएका उपकरणहरु ।

विद्युत चोरी नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँमा छड्के अनुगमन शुरु गरिएको शाखा प्रमुख न्यौपानेले बताए । मंगलबार र वुधबार मात्रै विद्युत चोरी गर्ने १५ जनाको विद्युत लाइन काटिएको उनले जानकारी दिए ।

‘छोप्राकमा मिटर वाइपास गरेर विद्युत चोरी गर्ने तीन जना, मिरकोट, गाइखुर र धुवाकोटमा डाइरेक्ट हुकिङ गरेर पानीको पम्प चलाउने र वत्ति वाल्ने ९ जना र मिटर वाइपास गरेर वत्ति वाल्ने तीन जनालाइ कारवाही स्वरुप उनीहरुको बिद्युत लाइन काटेका छौ,’ उनले भने ।

उनीहरुले प्रयोग गर्दै आएका पाँच थान पानी तान्ने पम्प, दुइ वटा ठुलो फर्निचर मोटर र ५०० मिटर भन्दा बढी केवल तार जफत गरिएको न्यौपानेले जानकारी दिए । उनीहरुमध्ये दुई जनाले जरिवाना समेत तिरिसकेका छन् । विद्युत चोरी गर्नेले कारवाही स्वरुप एक बर्षको खपत युनिट गणना गर्दा आउने रकममा त्यति नै रकम थपेर जरिवाना तिर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment