Comments Add Comment

आशा, निराशा र आयशा : जो आमा भएपछि पनि मैदानबाट हटिनन्

एउटी १० वर्षकी फुच्चीले तेक्वान्दोको एरिनामा उफ्रिउफ्री किक हानेको दृष्य अहिले मेरो आँखा अगाडि नाचिरहेको छ ।

आखिर, त्यो फुच्ची मै त थिएँ । अहो, २० वर्ष भइसकेछ म तेक्वान्दोमा बरालिएको । बरालिएको होइन, रमाएको भनौं । रहरै रहरमा खेल्न थालेको खेल मेरो जीवनकै एउटा अभिन्न अंग बन्न पुग्यो । जे पाएँ, तेक्वान्दोबाटै पाएँ । मैले आफूमाथि गर्व गर्ने कारण दिएको छ यो मारपिटको खेलले ।

०००

‘खेल, अझै राम्रो खेल । खेलेरै तिमीले देश-विदेशमा नाम कमाउनु पर्छ…’ त्यो समय खेलकुदमा लागेकी छोरीलाई यसरी हौसला दिने बुबा कति थिए होलान् ?

तर, बुवाले छोरीलाई गाइड गर्ने त विहे गरेर पराई हातमा नसुम्पिँदासम्म न हो । विहेपछि त श्रीमानको ‘शासन’ सुरु भइहाल्छ । तर म कति भाग्यमानी । आफ्नो खेलको सहयात्रीलाई श्रीमानको रुपमा पाएँ । उहाँले बिहेपछि र सन्तान जन्माएपछि पनि खेललाई निरन्तरता दिन मलाई हौस्याइरहनुभयो ।

श्रीमान-श्रीमती एउटै डुंगामा यात्रा गर्नुको मज्जा कसैले मलाई सोध्दा हुन्छ । नत्र एक वर्षको दूधे बालकलाई छाडेर खेलकै लागि श्रीमतीलाई एक महिना विदेश पठाउन कुन श्रीमान तयार हुन्थ्यो ?

०००

सानैदेखि मेरो ‘खेलाडी स्वभाव’ थियो । यत्तिकै त बस्नै सक्दिनथेँ । केही न केही खेलिरहनुपर्ने । खेल्ने साथी नभेटे एक्लै कुद्ने । हाम्रो टोल-छिमेकमा केटाहरु धेरै थिए, केटीहरु थोरै । म छिमेकी दाइहरुसँग कहिले क्रिकेट, कहिले बास्केटबल त कहिले ब्याडमिन्टन खेलिरहेकी हुन्थेँ ।

सानैदेखि खेलप्रति मेरो झुकावलाई बुबाले सकारात्मक दृष्टिकोणका साथ नियालिरहनुभएको थियो । उहाँको नजिकको साथी ईश्वरमान बज्राचार्य तेक्वान्दो प्रशिक्षक हुनुहुन्थ्यो । ईश्वरमान गुरु मेरो घर नजिकै पाटन ढोकामा नै तेक्वान्दो सिकाउनुहुन्थ्यो । बुवाले मलाई तेक्वान्दो सिकाउने चेष्टा गर्नुभयो ।

त्यतिबेला ‘सेल्फ डिफेन्स’का लागि राम्रो हुन्छ र फुर्तिलो पनि भइन्छ भनेर उहाँले मलाई तेक्वान्दो सिक्न पठाउनुभएको थियो । म तीन कक्षामा पढ्थें । सुरु-सुरुमा दाइ र म सँगै तेक्वान्दो सिक्न जान्थ्यौं । दाइले पढाइ डिस्टर्व भएको भनेर तेक्वान्दो छाडिदिनुभयो । मैले भने नियमित अभ्यास गरिरहेँ ।

ब्ल्याक बेल्टमा पुग्दासम्म मैले प्रशिक्षकको मन जितिसकेकी थिएँ । ‘मौका पाएमा यसले राम्रो गर्न सक्छे’ भन्ने गर्नुहुन्थ्यो ।

त्यसले मलाई असाध्यै प्रोत्साहन मिल्थ्यो । बिस्तारै मैले प्रतियोगिताहरु खेल्न सुरु गरें । धेरै प्रतियोगिताहरु जित्दै गएपछि आत्मविश्वास बुलन्द भयो । तेक्वान्दोमार्फत देशका लागि केही गर्नुपर्छ भन्ने भावना प्रबल बन्दै गयो ।

०००

२०५५ सालमा ब्ल्याक बेल्ट पाएको अर्को वर्षदेखि पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेलेँ । लगत्तै जुनियर खेलाडीको रुपमा राष्ट्रिय टिममा स्थान बनाएँ । राष्ट्रिय टिममा रहेर अभ्यास गर्न पाएपछि मेरो खेल अझै समृद्ध हुँदै गयो । त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको सिलसिला सुरु भयो ।

अहिले धेरैजसो स्कूलमा पढाइसँगै खेललाई पनि महत्व दिइएको हुन्छ । हाम्रा पालामा स्कुलमा खेल्ने भन्ने नै हुँदैनथ्यो । त्यसैले स्कुलबाट आएपछि झोला फालेर खेल्न कुदिहाल्थें । पढाइमा भन्दा खेलतिर बढी ध्यान हुन्थ्यो मेरो ।

हाम्रै पाटन डोजाङमा भएको च्याम्पियनसिपबाट मेरो प्रतिस्पर्धात्मक तेक्वान्दो सुरु भएको हो । सुरु-सुरुमा खुबै डर लाग्थ्यो । भक्कु कुटाइ पो खाइन्छ कि भनेर त्राहिमाम हुन्थेँ । कतिलाई कुटियो, कतिको कुटाइ खाइयो कुनै हिसाब भएन ।

पहिलो प्रतियोगितामा म तेस्रो भएकी थिएँ । हारेपछि धेरै रोएँ । आफ्नै ठाउँमा खेल्दा पनि जित्न सकिनँ भनेर थकथकी लागेको थियो । तर, त्यो हारले म हतोत्साही भइनँ । अर्को खेल जित्नैपर्छ भन्ने अठोट लिएर झन् कडा मेहनत गर्न थालेँ ।

मेरो खेलमा परिवारको समर्थनले ठूलो टेवा दिएको छ । छोरीलाई यति सानोमा खेल्न पठाएर के गरेको ? पढाइ बिग्रिन्छ, चोटपटक लागेर शरीर बिग्रिन्छ भनेर बुवाआमालाई सम्झाउने धेरै थिए ।

तर, उहाँहरुले कसैको कुरा सुन्नुभएन । खेलेर कोही कमजोर हुँदैन, झनै बलियो हुन्छ भन्ने बुबाको बुझाइले गर्दा नै म खेलाडी बन्न सकें । म हारेर आउँदा पनि बुबाले जहिल्यै हौसला दिनुहुन्थ्यो । अर्को पटक जितिहालिन्छ नि भन्नुहुन्थ्यो । बुबा पनि क्याम्पस पढ्दा टेबलटेनिस खेलाडी भएकाले खेलको महत्व र विशेषता बुझ्नुहुन्थ्यो ।

०००

१२ वर्षकी हुँदा जुनियर नेशनल च्याम्पियनसिप जितें । त्यसबेलासम्म मैले तेक्वान्दोमा नै भविश्य देख्न थालेको थिएँ । त्यतिखेर माहोल निकै भिन्न थियो । उपत्यकास्तरीय च्याम्पियनसिपहरु त धेरै नै खेलिसकेकी थिएँ । त्यही पनि नेशनल च्याम्पियनसिप भनेपछि अलि भिन्नै खुशी भयो । त्यो उत्साहले देशको लागि खेल्ने विश्वास जागेको थियो ।

जुनियर नेशनल च्याम्पियनसिपमा मेरो तौल समूहमा सबैभन्दा सानी म नै थिएँ । मैले जितेपछि सबैले प्रशंसा गर्नुभयो । सिनियर टिममा स्थान बनाउनका लागि प्रेरणा दिनुभयो । मेरो मन निकै पुलकित भयो ।

जुनियर नेशनल च्याम्पियन बने पनि सिनियर टिममा पुग्न सजिलो थिएन । सन् २००४ मा पाकिस्तानमा भएको नवौं दक्षिण एसियाली खेलकुदका लागि खेलाडी छनोट प्रतियोगिता भएको थियो । त्यसमा नेशनल च्याम्पियन रेनुका थापामगरसँग हारेर म दक्षिण एसियाली खेलकुदका लागि छनोट हुनबाट चुकेँ ।

रेनुकासँगको खेलमा पनि मैले कमजोर खेलेको भने होइन । ‘सिनियर नेशनल च्याम्पियनसँग पनि कति राम्रो खेलेको, आच्छु आच्छु नै बनाइदियौ’ भनेर अरुले स्याबासी पनि दिएका थिए । त्यसपछि गुरुहरुले पनि राम्रो खेलेको भनेर मलाई नेशनल टिममै बसेर अभ्यास गर्न दिनुभयो ।

नेशनल टिममा आएपछि दैनिक अभ्यास हुन थाल्यो । १० कक्षामा पुग्दा पनि नेशनल टिममा नै बसेर अभ्यास गरिरहेकी थिएँ । त्यतिखेर वर्ल्ड च्याम्पियनसिपका लागि छनोटको तयारी भइरहेको थियो । मैले स्कुलमा बिहान र बेलुकाको एउटा/एउटा क्लास छाडेर भए पनि राम्ररी अभ्यास गरिरहेकी थिएँ । साइकलमा स्कुल जाने, घर फर्किने र फेरि अभ्यासको लागि जाने गर्थें । सबै ठिकठाक चलिरहेको बेला एउटा पीडादायी घटना घट्यो ।

छनोट खेलभन्दा दुई दिनअघि म साइकलबाट लडेर घाइते भएँ । दाहिने कुमको हड्डी तीन ठाउँमा भाँचियो । म खेल्न नसक्ने भएँ । हुनसम्मको पीडा भयो । तीन-चार रात त निदाउन पनि सकिनँ । मेरो अवस्था देखेर परिवार नै दुःखमा थियो । त्यो समय सम्झियौं भने अहिले पनि मन चसक्क हुन्छ । कता-कता दुःखेको जस्तो हुन्छ ।

घाइते भएर छनोटमा खेल्न नपाएपछि एसएलसीका लागि राम्रो तयारी गर्न भगवानले नैसमय दिएको होला भनेर मन बुझाएँ । एक महिना त पढाइ पनि नगरी आराम गरेपछि दोस्रो महिनाबाट भने पढ्न थालेकी थिएँ ।

०००

चोटका कारण झण्डै एक वर्ष तेक्वान्दोबाट टाढा रहेँ म । माछालाई पानीबाट निकाल्दा कस्तो हुन्छ ? मलाई सायद त्यस्तै भयो त्यो एक वर्ष ।
चोट ठीक हुँदै गयो, म अभ्यासमा फर्किएँ । यद्यपि, पहिलेको अवस्थामा आउन लामो समय लाग्यो । शरीरमा स्टामिना थिएन । किकहरु सबै बिग्रिएको थियो । फेरि सिकारु अवस्थामा फर्केको जस्तो भयो । तर पनि मेहनत गर्न छाडिनँ । साथीहरु र गुरुहरुले निकै सहयोग गर्नुभयो ।

२००५ मा १२ कक्षामा पढ्दा मैैले कोरियामा क्योङ ही युनिभर्सिटीमा अभ्यास गर्न जाने मौका पाएँ । पहिलोपटक विदेशमा एक महिना अभ्यास गरेँ । त्यसपछि १७ औं एसियन तेक्वान्दो च्याम्पियनसिपमा छनोट भएँ । त्यसपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि थाइल्याण्ड गएँ ।

२०६२ सालमा म एसियन तेक्वान्दो च्याम्पियनसिपका लागि जाँदा नेपालमा भयंकर आन्दोलन थियो । कहिले नारा जुलुस, कर्फ्यू, बन्द भइरहेका हुन्थे । त्यसैले हामी घरबाट एयरपोर्टसम्म पनि पुलिस भ्यानमा चढेर गएका थियौं । पुलिस भ्यानमा बस्दा कस्तो-कस्तो लागेको थियो ।

थाइल्याण्डमा हामी सबैजसो नयाँ खेलाडी थियौं । पुरानोमा दीपक बिष्ट मात्रै हुनुहुन्थ्यो । नयाँ ठाउँ, नयाँ अनुभव, नयाँ जोशमा सबै जना रमारहेका थियौं ।

तर, पहिलो खेलमै म हङकङकी खेलाडीसँग हारें । जित्छु जस्तो लागेको खेल हार्दा नरमाइलो लाग्यो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले हारे पनि अनुभव राम्रो भयो ।

नेपाल फर्कनेबित्तिकै २०६३ असोजमा श्रीलंकामा हुने १० औं दक्षिण एसियाली खेलकुदको लागि भनेर अभ्यास सुरु भइहाल्यो । म त्यसमा पनि छनोट भएँ । हामी नेपालमा नै दुई महिना क्लोज क्याम्पमा बस्यौं र प्रतियोगिताका लागि श्रीलंका गयौं । त्यो मेरो दोस्रो अन्तर्राष्ट्रिय सहभागिता थियो ।

फाइनलमा भारतीय खेलाडीसँग हार्नुपर्‍यो । असाध्यै नमिठो लाग्यो । धेरै रोएँ । तेक्वान्दोमा नै पद्मा गुरुङ दिदीले पनि फाइनलमा श्रीलंकाकी खेलाडीसँग हार्नुभएको थियो । त्यो बेला हामी रोएको फोटो अझै छ । रजत पदक जितेको खुसीभन्दा पहिलो स्वर्ण पदक चुकेको खिन्नता बढी थियो । अर्को पटक जित्छु भनेर आफैलाई सान्त्वना दिएँ ।

०००

मेरो सबैभन्दा सम्झनलायक अन्तर्राष्ट्रिय प्रतियोगिता बन्यो सन् २००६ को १५ औं एसियाली खेलकुद ।

हामीलाई कोरियामा ४५ दिनको अभ्यासमा पठाइएको थियो । कोरियाको अभ्यास असाध्यै कठिन थियो । त्यसअघि विदेश जाँदा रमाइलोसँग अभ्यास हुन्थ्यो । हासखेलमा नै अभ्यास सकिन्थ्यो । बीच बीचमा फिल्म हेर्ने, अरु रमाइला कार्यक्रमहरु हुन्थे । तर, कोरियामा भने त्यस्तो भएन । बिहान, दिउँसो र बेलुका दुई/दुई घण्टा अभ्यास हुन्थ्यो । अति नै पेलानमा परिएको थियो ।

कतिसम्म भने भनेको जस्तो गर्न नसक्दा कोरियन प्रशिक्षकले लठ्ठीले समेत हान्थे । कुटेको दाग नै शरीरमा बस्थ्यो । खुट्टा राता भएका हुन्थे । अहिले पनि सम्झँदा पीडा हुन्छ ।

त्यो अभ्यासका बेला धेरै खेलाडी घाइते नै भए । मेरो पनि पुरानो चोट बल्झिएको थियो । हेे भगवान ! हामीले के बिगार गरेका थियौं र आज यसरी चुटाइ खानुपरेको भन्ने लाग्थ्यो ।

१५ औं एसियाली खेलकुदमा आएको नतिजाले त्यो चुटाइ बिर्साइदियो । मैले कास्य पदक जितेँ । प्रशिक्षकले चुटेरै भए पनि सिकाएको फल निस्कियो भन्ने लाग्यो ।

त्यो बेला चीनकी खेलाडीसँग मेरो पहिलो प्रतिस्पर्धा थियो । त्यो खेल जितेमा तेस्रो मेडल पक्का नै हुन्थ्यो ।

तर, मेरो खेल हुने अघिल्लो दिन नै नेपाली मिडियामा समाचार आयो, ‘तेक्वान्दोबाट पदकको आश समाप्त’ भनेर । त्यसले झनै प्रेसर थपियो । नेपालमा बुबाले त त्यस्तो समाचार छाप्ने मिडियामा गएरै कराउनुभएछ । मेरी छोरीले खेलेकै छैन, किन यस्तो लेखेको भन्नुभएछ ।

मलाई भने निन्द्रा पनि लागेको थिएन । रातभर छटपटी भयो । खेल हुने दिन बिहान ४ बजे नै एकछिन व्यायाम गरें । आफ्नो अभ्यास गरें ।

चीनले थाइल्याण्डलाई सजिलै जितेर आएको थियो । त्यसैले चिनियाँ खेलाडीसँग म डराएकी थिएँ । खेलमा सुरुमा एक अंकको लिड लिने बित्तिकै मैले डिफेन्स खेल्न थालें । उसलाई पनि हान्न दिइनँ र आफूले पनि हानिनँ । त्यही एक अंकको लिडले नै मैले खेल जितें । खुशीले गदगद भएँ ।

एसियाली खेलकुदमा पदक जित्नु नै नेपाली खेलाडीका लागि निकै गौरवको कुरा मानिन्छ । यही पदक मेरो खेल जीवनको उच्चतम उपलब्धि हो । अहिले पनि निराशाको क्षणमा यही पदक हेर्दै आफूलाई सान्त्वना दिन्छु ।

त्यो प्रतियोगितामा तेक्वान्दोबाटै नेपालले तीन वटा पदक ल्याएको थियो । दीपक विष्ट, मनिता शाही र मैले कास्य पदक जितेका थियौं । त्यसअघि एसियाली खेलकुदमा तेक्वान्दोबाट एउटा रजतसहित ११ वटा पदक आएका थिए । त्यस्तो तेक्वान्दो पछिल्लो समय भने पदकविहीन हुँँदा नराम्रो लाग्छ ।

हामीले २००५ तिर जसरी अभ्यास गरिरहेका थियौं, अहिले २०१८ मा आइपुग्दा पनि त्यो फेरिएको छैन । अरु देशका खेलाडीले नयाँ-नयाँ शैलीमा लागिसक्दा हामी जहाँको त्यहीँ छौं । हामीलाई उछिनेर अरु अगाडि पुगिसके । तरिकाहरु समय अनुसार फेरिँदै जान्छ, त्यो त सिक्दै जानु पर्‍यो नि । हरेक कुरा अभ्यास नै त हो ।

नेपालले यसपटक १८ औं एसियाली खेलकुदमा तेक्वान्दोबाट मेडल जित्न नसक्नुको कारण पनि त्यही हो जस्तो लाग्छ ।

हुन त कोरियामा गएर तीन महिना अभ्यास गराइएको हो । तर, त्यहाँ पनि खेलाडीले कुन स्तरमा अभ्यास गर्न पाए भन्ने बुझ्नुपर्छ जस्तो लाग्छ । राम्रो डाइट पनि खान नपाइ गरेको अभ्यासले नतिजा आउला त ?

०००

मलाई तेक्वान्दोले दिएको अर्को ठूलो कुरा भनेको सुन्दर परिवार पनि हो । तेक्वान्दो खेलाडी दीपक विष्टसँग भेट, प्रेम र विवाह तेक्वान्दोले नै जुराएको हो । उहाँको साथ पाएर आफूले चाहेजस्तो जीवन बाँचिरहेकी छु ।

मैले तेक्वान्दो सिक्ने ठाउँ पाटन डोजाङमा आउँदा पहिलोपटक भेट भएको थियो । त्यो बेला हाम्रो डोजाङमा २०५६ असोजमा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदको लागि छानिएका खेलाडीसँग परिचय कार्यक्रम थियो । त्यही बेला दीपकसँग पहिलो भेट भयो ।

पछि उहाँ गुरुलाई भेट्न आउँदा पनि कुराकानी पनि भएको थियो । सन् २००५ मा राष्ट्रिय टिममा अभ्यास गर्न थालेपछि हामी नजिक भयौं । सँगै अभ्यास हुन्थ्यो । हाम्रो परिवार

पाटनबाट शंखमुलमा बस्न थालिसकेका थियो । एकपटक अभ्यासबाट फर्किंदा उहाँ पनि शंखमुलमा बस्ने भनेर थाहा पाएँ । उहाँ पनि साइकलमा हिँड्नुहुन्थ्यो ।

त्यसपछि हामी अभ्यासमा सँगै जाने, सँगै घर फर्कने हुन थाल्यो । नजानिँदो गरी एक-अर्काप्रति माया पलायो । अभ्यासमा एकजना अनुपस्थित हुँदा अर्कोलाई खल्लो लाग्थ्यो । मैले पिटाई खाँदा उहाँको मुख अँँध्यारो हुन्थ्यो भने उहाँले हार्दा मेरो मन दुख्थ्यो ।

एक दिन अभ्यासमा आउनुभएन भने पनि के भएछ जस्तो लागेर फोन गरिहाल्थें । म नगएको बेला पनि उहाँको फोन आइहाल्थ्यो ।

एकअर्कालाई प्रपोज पनि नगरी हामी प्रेममा परिसकेका थियौं । फिल्मी स्टाइलको औपचारिक प्रेम भएन । विस्तारै एकले अर्कोलाई बुझ्दै गयौं र मायामा डुब्दै गयौं । धेरै पटक अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सँगै गयौं । कति पटक दुवैले मेडल पनि जित्यौं ।

हाम्रो उमेरमा १० वर्षको अन्तर थियो । उहाँको घरमा बिहेको कुरा चल्न थालिसकेको थियो । त्यसैले हामीले परिवारलाई आफूहरुको प्रेम सम्वन्धबारे बताउने सल्लाह गर्‍यौं । उहाँको परिवारले सहजै स्वीकृति दिए ।

तर मेरो परिवारले ‘अब्जेक्सन’ जनायो । अन्ततः प्रेममा नभएको ‘फिल्मी स्टाइल’ हाम्रो बिहेमा भने प्रकट भयो । मैले घरबाट भागेर उहाँसँग बिहे गरें । छोरा भएपछि मात्र मेरो बुबा आमाले उहाँलाई ज्वाईं स्वीकार्नुभएको हो ।

२०१० को ११ औं दक्षिण एसियाली खेलकुद हामीले सँगै खेलेको अन्तिम खेल थियो । तर, दाम्पत्य सम्वन्धको ‘खेल’ अहिले पनि हामी सँगै खेलिरहेका छौं । हामीले २०११ मा विवाह गरेका हौँ । बिहेपछि पनि तिमीले खेल्नुपर्छ भनेर श्रीमानले प्रेरणा र हौसला दिइरहनुभयो । उहाँकै साथले गर्दा आमा भएपछि पनि म निरन्तर खेलमा लागिरहन सकें । परिवारमा पनि सबैले समर्थन गर्नुभएको छ ।

०००

१० औं दक्षिण एसियाली खेलकुदमा भारतसँग हारेर रोइरहँदा मैले निश्चय गरेको थिएँ- ११ औं दक्षिण एसियाली खेलकुदमा भने जसरी पनि गोल्ड जित्छु ।

सन् २०१० मा भएको ११ औं दक्षिण एसियाली खेलकुदमा पनि संयोगले फाइनलमा भारतसँग नै परें । मसँग पुरानो बदला लिने मौका हातमा थियो । तर, चुनौती सहज थिएन ।

पाकिस्तानसँगको क्वार्टरफाइनलमा नै म पछि परिसकेकी थिएँ । सबैजनाले आशा नै मारेका थिए । दोस्रो राउण्डसम्म म ४-० ले पछि थिएँ । तर पनि प्रशिक्षकले मलाई हौसला दिइरहनु भयो । अन्तिममा मैले ८-७ ले खेल जितेकी थिएँ ।

फाइनलमा पनि ठूलो टकराव भयो । तर, खेल आफ्नो पक्षमा पार्न म सफल भएँ । भारतीय खेलाडीलाई हराएर स्वर्ण जित्दाको खुशी ने अर्कै थियो । मेरो बदला पूरा भएको जस्तो लाग्यो ।

त्यसपछि २०१६ मा आयोजित १२ औं दक्षिण एसियाली खेलकुद भने राम्रो खेल्दाखेल्दै भारतसँग नै हार्नुपर्‍यो । अन्तिम राउण्डसम्म मैले बराबरी बनाए पनि सडेन डेथमा पुगेर हारेँ ।

त्यतिबेला हाम्रो पहिलो सन्तान पनि भइसकेको थियो । आमा भएपछि पनि महिलाले खेलमा राम्रो गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएँ । तर, स्वर्ण गुमाउँदा भने मन खिन्न भयो ।

०००

पहिलो सन्तान भएपछि १७ औं एसियाली खेलकुदमा पनि भाग लिएँ । त्यो बेला छोरा १४ महिनाको मात्रै भएको थियो । त्यति सानो बाबुलाई छाडेर खेलका लागि हिँड्न सजिलो थिएन ।

मेरो आफ्नो सानो छोरामाथि पाप त गरिरहेकी छैन जस्तो लागेको थियो । मलाई खोजेर रोयो, झगडा गर्‍यो भने के गर्ने भनेर निकै छट्पटीमा थिएँ । त्यस्तो पीरमा पर्दा परिवारले मलाई एकदमै साथ दियो ।

‘बाबु हामी हेर्छौं, तिमी निर्धक्क खेल’ भनेर सासु, ससुरा, देवर, देवरानी सबैले आडभरोसा दिनुभयो । कोरियामा दुई महिना बसेर मैले आफ्नो खेल देखाएँ । जित्न सकिनँ, तर १८ महिनाको विश्रामपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु नै मेरो लागि ठूलो कुरा थियो ।

०००

हरेक कुरामा साथ दिने श्रीमान र परिवार पाउँदा आफूलाई भाग्यमानी ठान्छु । बेलाबखत उहाँसँग ठाकठुक पनि नपर्ने होइन । कहिलेकाहीँ श्रीमान् रिसाउनु हुन्छ, म शान्त भइदिन्छु । कहिलेकाहीं म रिसाउछु उहाँ शान्त हुनुहुन्छ । एउटा आगो हुँदा अर्को पानी हुनै पर्छ ।

अहिले ठूलो बाबु पाँच वर्षको भयो । सानो बाबु एक वर्षको छ । ठूलो बाबुले पनि पाँच महिना अघिदेखि तेक्वान्दो सुरु गरिसक्यो । कोटेश्वर तेक्वान्दो डोजाङमा भएको साना बच्चाको एउटा प्रतियोगितामा छोराले गोल्ड मेडल जितेको थियो । सन्तानले आफ्नै बाटोमा हिँड्दा कुन आमाबाबुलाई खुशी नलाग्ला र । अझै खेलोस भन्ने आशा छ । तर पनि उसको चाहना विपरीत भने हामी जाँदैनौं ।

०००

खेलमा लागेर कति पाएँ कति गुमाएँ भन्ने लेखाजोखा गर्न मनै लाग्दैन । खेलाडी भएर पाएका राम्रा कुरा नै सम्झन मन लाग्छ । आयशा भनेर पाएको सम्मान अरु कुराले दिँदैन ।

बेलाबेला म पनि भविश्यका बारेमा सोच्थें । अहिले पनि सोच्छु । त्यस्तो बेला खेलाडी भएर बाँच्न कठिन छ भन्ने नै लाग्छ । तर देशमा अरु क्षेत्रको अवस्था पनि त्यस्तै नै त छ । अझ हामीले त खुसी हुने कति कारणहरु पाएका छौं नि । त्यसैले त अभाव हुँदा त्यसलाई पनि बिर्सिएर खुसी भएकी छु । असन्तुष्टिका बीच सन्तुष्ट हुने उपाय खोज्नुपर्छ, तर खेल छाड्नु हुँदैन जस्तो नै लाग्छ ।

अहिले दोस्रो बाबु पाएपछि अभ्यास सुरु गरेकी छैन । अझै पनि खेल्न मन त छ । मनमा आश पनि छ । जोश पनि छ । तर, आफ्नो उमेर र स्वास्थ्य पनि विचार त गर्नै पर्छ । अहिले जुनियरमा पनि राम्रा खेलाडी आएका छन्, त्यो पनि विचार गर्नुपर्छ ।

अहिले स्कूलमा पनि तेक्वान्दो सिकाउँछु । ती साना खेलाडीहरु हेर्दा मैले पनि यसरी नै खेलेकी थिएँ भन्ने सम्झना आउँछन् । उनीहरुमा आफू देखिरहेकी छु । उनीहरुमै आˆनो सपना देखिरहेकी छु । कुनै दिन यिनीहरुले देशका लागि उपाधि जितेका खबर पढ्न पाउँछु कि ?

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment