Comments Add Comment

देश २५ अर्ब ४५ करोडले घाटामा

१३ कात्तिक काठमाडौं । देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति) यो वर्षको सुरुबाटै घाटामा गएको छ ।  भदौ र असोजमा शोधनान्तर घाटा २५ अर्ब ४५ करोड रुपैयाँ छ । यस्तो घाटा अघिल्लो वर्षको यस्तै अवधिमा ५ अर्ब ८७ करोड रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर अर्थात भुक्तानी सन्तुलनको स्थिति ऋणात्मक हुनु भनेको मुलुकले आम्दानीभन्दा बढी खर्च गर्नु हो ।  आर्थिक वर्ष २०६७/०६८ को १० महिनासम्म शोधनान्तर घाटामा गएको थियो भने गतवर्ष पनि यस्तै समस्या देखिएको थियो ।

वर्षको अन्तमा भुक्तानी सन्तुलन धनात्मक देखिएपनि वर्षैभरि शोधनान्तर घाटा कायम थियो । आर्थिक वर्ष २०६६/०६६मा शोधनान्तर घाटा २४ अर्ब रुपैयाँ पुगेपछि राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको थियो । उक्त वर्ष ४५ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भएको छ । यसैको असर शोधनान्तरमा परेको हो । भदौमा चालु खाता घाटा ३५ अर्ब ५६ करोड रुपैयाँमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो दुई महिना १९ करोड २६ लाख डलर रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड १ लाख डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह१ अर्ब २३ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब ८४ करोड र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १० करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार वस्तु तथा सेवा आयात बढ्ने क्रमसँगै डलरको मूल्यमा भएको वृद्धिले चालू खाता घाटामा गएको हो ।

अन्य महिनाको तुलनामा दशैंतिहारका कारण साउन र भदौमा आयात बढ्ने भएकाले शोधनान्तर स्थितिमा त्यसको असर देखिएको तर्क राष्ट्र बैंकका अधिकारीहरुको छ ।

साउन र भदौमा कुल वस्तु आयात ३८.५ प्रतिशतले बढेको छ । यो अवधिमा २ खर्ब ३२ अर्ब ३५ करोड बराबरको वस्तु ता सेवा आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.६ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३८.९ प्रतिशत, चीनबाट भएको आयात १३.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५५.२ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपूर्जा, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, स्वास्थ सम्बन्धी उपकरण तथा औजार, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ ।

कुल वस्तु निर्यात ८ प्रतिशतले वृद्धि भएको छ । १४ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.२ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तब्यका आधारमा भारततर्फ १३.६ प्रतिशत, चीनतर्फ ११.४ प्रतिशत र अन्य मुलुकतर्फ १.० प्रतिशतले निर्यात वृद्धि भएको छ ।  वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दन्त मञ्जन, लत्ताकपडा, जुस, लगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैंची, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

कुल वस्तु व्यापार घाटा ४१.२ प्रतिशतले विस्तार भएर २ खर्ब १७ अर्ब ६५ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.१ प्रतिशत रहेको थियो ।

भदौसम्म कुल विदेशी विनिमय सञ्चिति गत असार मसान्तको ११ खर्ब ०२ अर्ब ५९ करोडबाट १.३ प्रतिशतले वृद्धि भई भदौ मसान्तसम्म ११ खर्ब १७ अर्ब ४६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २.२ प्रतिशतले घटेर ९६७ अर्ब ९३ करोडमा झरेको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत छ ।

यो दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.७ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment