नेपाली चलचित्रमा कुनै समय नायक विराज भट्टको राज थियो । विराज भट्टको चलचित्र भनेपछि हलमा दर्शक ओइरिन्थे । सोही क्रेज चलिरहँदा विराजले भोजपुरी चलचित्रमा काम गर्ने निर्णय गरे । विराजले भोजपुरी चलचित्रमा पनि आफ्नो राम्रो क्रेज बनाए, दाम राम्रो कमाए ।
उनै, विराजले निर्देशक रोज राणाको चलचित्र ‘जय परशुराम’बाट आफ्नो कमब्याक त नेपाली चलचित्रमा गराए । तर, चलचित्र चलेन । चलचित्र नचलेपछि विराज फेरि हराए ।
अब, उनै विराज भट्ट फेरि चलचित्र क्षेत्रमा उदाउने तयारीमा छन् । चलचित्र ‘साङ्लो’मार्फत विराज दर्शकमाझ आउन लागेका हुन् ।
यो चलचित्रलाई विराज आफैले निर्देशन गर्दैछन् । विराजले अनलाइनखबरसँग भने-‘हो, म चलचित्र निर्देशनको तयारीमा छु । साङ्लो रमाइलो कथामा बन्नेछ । एक्सन, प्रेम, पारिवारिक कथा नै यसमा रहनेछ ।’
चलचित्रका लागि अहिले नायिकाको खोजी पनि भैरहेको छ । विराजले भने-‘चलचित्रमा एक जना मात्र नायिका हुनेछिन् । उनको भूमिका पनि हिरोसरहको छ ।’
चलचित्रका लागि ३ वटा गीत तयार पारिएको छ । राजनराज सिवाकोटी, सुरेश अधिकारी र विनोद खम्बुले चलचित्रका लागि गीत तयार पारेका छन् । विराजले भने-‘अझै कथावस्तुमा काम हुँदैछ । छायांकनमा जानका लागि समय लाग्छ ।’
प्रतिक्रिया 4