Comments Add Comment

सरदार पटेलको विशाल प्रतिमा मुनि तडि्परहेका किसानको कथा

काठमाडौं । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकै सबैभन्दा अग्लो प्रतिमाको अनावरण गरेका छन् । भारतका ‘लौह पुरुष’ नामले प्रसिद्ध सरदार वल्लभ भाइ पटेलको यो प्रतिमालाई भारत सरकारले ‘स्ट्याचु अफ युनिटी’को नाम दिएको छ ।

गुजरातको अहमदाबाद भन्दा करिब २०० किलोमिटर टाढाको गाँउमा रहेको सरदार बल्लभभाइ पटेलको यो शालिकलाई बनाउन लगभग तीन हजार करोड भारतीय रुपैंया खर्च भएको छ ।

तर, दक्षिणी गुजरातको नर्मदा जिल्लामा यो प्रतिमा वरिवरि बस्ने मानिसहरु यति ठूलो रकम प्रतिमा बनाउन भन्दा आफ्नो आवश्यकत पुरा गर्न खर्चिएको भए वस्था धेरै सुधार हुन्थ्यो भन्ने विश्वास गर्छन् ।

उनीहरुको विचारमा खासगरि ती किसानहरुको अवस्था सुधि्रन सक्थ्यो, जो नर्मदा नदीको किनारामै बसेर पनि आफ्नो खेतमा पानीका लागि छटपटाइरहेका छन् ।
३९ वर्षका बिजेन्द्र ताडवीको गाँउ नाना पिपडिया प्रतिमा बनेको स्थानबाट १२ किलोमिटर मात्रै टाढा छ । उनको तीन एकड जमिन छ, जहाँ उनी खुर्सानी र बदाम खेती गरिरहेका छन् ।

भारतका करोडौं अरु किसानहरु जस्तै विजेन्द्रलाई पनि आफ्नो खेतीलाई आवश्यक पानीको लागि वषर्ायाम नै पर्खिनुपर्ने बाध्यता छ । यस इलाकाको केही किसान भने खेतको सिंचाई गर्न पम्पको मद्धतले जमिनको पानी तान्ने गर्छन् ।

नर्मदा नदीको नजिकै भएपनि उनीहरुको खेतसम्म नदीको पानी नपुग्ने बिजेन्द्र बताउँछन् । त्यसैले पानीको समस्या यस क्षेत्रका किसानको लागि सबैभन्दा ठूलो मुद्दा हो ।

किसानहरु धेरै दुःखी छन्

घरव्यवहार चलाउन सजिलो होस् भनेर सन् २०१५ मा विजेन्द्र ताडवीले खेतीपातीको साथसाथै प्रतिमा बनाइएको ठाँउमा ड्राइभरको जागिर खाने निर्णय गरेका थिए ।

गुजरात सरकारको एक रिपोर्टलाई उद्धृत गर्दै उनी उक्त प्रतिमा बनाउन तीन हजार करोड भारतीय रुपैंया खर्च भएको कुरा बताउँछन् । त्यसमा आधा भन्दा धेरै धनराशीको योगदान गुजरात सरकारले गरेको छ भने बाँकी पैसा केन्द्र सरकारले बेहोरेको छ ।

एक रिपोर्टको अनुसार यो प्रतिमा बनाउन सार्वजनिक रुपमा चन्दा पनि उठाइएको थियो । तर, विजेन्द्र ताडवी जस्ता किसान गुजरात सरकारको यो निर्णयबाट धेरै दुःखी छन् । बिजेन्द्र भन्छन्, ‘एक विशाल शालिकमा यति धेरै पैसा खर्च गर्न भन्दा सरकारले खडेरी पीडित किसानको लागि पानीको व्यवस्था गरेको भए धेरै राम्रो हुन्थ्यो ।’

ठूलो प्रतिमा बनाउने राजनीतिक खेल

सरदार वल्लभभाइ पटेलको जन्म गुजरातमा भएको थियो । भारतको स्वतन्त्रता आन्दोलनमा उनको महत्वपूर्ण भूमिका थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१० मा गुजरातको मुख्यमन्त्रीको रुपमा सरदार वल्लभभाइ पटेललाई समर्पित यो प्रतिमा निर्माणको घोषणा गरेका थिए ।
पछिल्ला केही वर्षमा कैयौं पटक सत्तारुढ भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार वल्लभभाइ पटेललाई हिन्दू राष्ट्रवादी नेताको रुपमा पेस गर्ने कोसिस गरिरहेका छन् ।

साथै, पटेलको कद होचो बनाउन मुख्य विपक्षी पार्टी कांग्रेस जिम्मेवार रहेको भाजपाको ठहर छ ।

पण्डित जवाहरलाल नेहरुको छवि बढाउन र उनको वंशजलाई फाइदा पुर्याउन कंाग्रेस पार्टीले सरदार पटेललाई सँधै ‘खेलभन्दा बाहिर’ राखेको भाजपाले आरोप लगाउँदै आएको छ ।

सन् २०१३ मा नरेन्द्र मोदीले भनेका थिए, ‘हरेक भारतीयलाई सरदार पटेल किन देशको प्रधानमन्त्री बन्न सकेनन् भन्ने कुराको अफसोच छ ।’

भारतमा स्वतन्त्रता संग्रामपछि ७१ वर्षमा करिव ५० वर्षसम्म कांग्रेस पार्टीको राज रहेको छ । यसैले भारतीय जनता पार्टीले सरदार पटेलको यो प्रतिमाको वैचारिक प्रभावलाई धेरै भन्दा धेरै ठूलो बनाउने कोसिस गरिरहेको छ ।

पटेल मेमोरियलमा प्रतिमासँगै एक तीन तारे होटल पनि बनाइएको छ । यहाँ एक संग्रहालय र एक रिसर्च सेन्टर पनि छ, जसले पटेललाई मन पर्ने विषय ‘असल शासन’ र ‘कृषि विकास’मा काम गर्नेछ ।

ठूलो सपना देखाइँदैछ

यी सबैकुरा विजेन्द्र ताडवीको गाउँ नजिकै भइरहेको छ । जुन गुजरातको सबैभन्दा गरीब, पिछडिएको र आदिवासीको अधिकतम घनत्व भएको नर्मदा जिल्लामा रहेको छ ।

यो जिल्लाका धेरै मानिसहरुलाई अर्को छाकको रोटी खान पाइन्छ कि पाँइदैन भन्ने कुरा समेत थाहा हुँदैन ।

यहाँ प्राथमिक विद्यालयमा बच्चाहरुको भर्ना दर घट्दै गएको छ र अझै पनि यो इलाकामा कुपोषणको शिकार भएका मानिसहरु भेटिन्छन् ।

यो क्षेत्रका सबै समस्याहरुको बारेमा सन् २०१६ मा गुजरात सरकारद्धारा जारी गरिएको एक रिपोर्टमा पनि उल्लेख गरिएको छ । तर, यो भिमकाय प्रतिमाको अनावरणपछि नर्मदा जिल्लाको आर्थिक स्थिति सुधि्रने गुजरात सरकारको दाबी छ ।

सरकारको अनुमान अनुसार प्रतिमालाई हेर्न हरेक वर्ष करिव २५ लाख पर्यटक आउनेछन् । पटेल मेमोरियल प्रोजेक्टका एक वरिष्ठ अधिकारी सन्दिप कुमारले भन्छन्, ‘यो प्रोजेक्टको कारण स्थानीय मानिसहरुलाई रोजगारीको अवसर पैदा हुन्छ र यस पर्यटकहरुबाट यस क्षेत्रका मानिसहरुले राम्रो आम्दानी गर्छन् ।’

केही प्रश्न अझै अनुत्तरित छन्

तर, स्थानीय मानिसहरुलाई सरकारको यस्तो दाबीमाथि शंका छ । स्थानीय आदिवासी कार्यकर्ता लखनले भने यसबारेमा सरकारलाई प्रश्न गर्नुपर्ने बताए ।

उनी भन्छन्, ‘हामी यो सरकारसँग उनीहरु किन किसानहरुलाई सिधै फाइदा हुने योजनाहरु लिएर आँउदैनन् भनेर सोध्छौं । यस्ता योजनाहरु, जसले दैनिक मरिरहेका किसानहरुलाई केही राहत मिलोस् ।’

‘हामीसँग किसानहरुलाई सिंचाईको पानी मिल्नेछ भनिएको थियो तर, स्थिति अहिलेसम्म उस्ताको उस्तै छ’ उनी भन्छन् ।

सन् २०१३ मा यस क्षेत्रका मुख्यमन्त्रीको रुपमा नरेन्द्र मोदीले यँहाका किसानहरुसँग उनीहरुको खेतखेतमा कर्जन बाँधबाट पानी पुर्याउने वाचा गरेका थिए । तर, बाँधको कमाण्ड एरियामा गाँउ रहँदा पनि बिजेन्द्र ताडवीले कहिल्यै पनि सिंचाईको पानी पाउन सकेका छैनन् ।

कमाण्ड एरिया कुनै बाँधले ओगट्ने त्यो इलाका हो, जहाँ सिंचाई योजनाको माध्यमले खेतीको पानी पुर्याउने योजना बनाइएको हुन्छ ।

ताडवीका अनुसार पानीको कमीको कारणले उनले वर्षमा एक पटक मात्रै बाली लगाउने गरेका छन् । जबकी जो किसानहरुसँग पानीको सुविधा छ, उनीहरुले वर्षमा तीन बाली लगाउने गर्छन् ।

नर्मदा जिल्लाको स्थिति

सन् २०११ को जनगणना अनुसार नर्मदा जिल्लाको ८५ प्रतिशत जनसंख्या कृषि सँग जोडिएको छ । समा पनि धेरै जसो साना किसानको साथमा दुई एकडदेखि चार एकडसम्म मात्रै जमिन छ ।

किसानहरुको हकको लागि काम गर्ने लखन भन्छन्, ‘नर्मदा नदीको पानी गुजरातको भित्रि भागसम्म त पुग्छ तर, प्रतिमा बनाइएको क्षेत्रको कुनै पनि गाउँमा पुग्दैन ।’
यहाँका जिल्ला अधिकारीले यसको जाँच गर्ने र सबै किसानलाई पानी पुर्याउने व्यवस्था मिलाउने बताए ।

सरकारी तथ्याङ्क अनुसार भारतको आधा जनसंख्या खेती किसानीको काम गर्छ तर, कुल ग्राहस्थ उत्पादनको १५ प्रतिशत मात्रै कृषि क्षेत्रको योगदान छ ।

भारतको कृषि विकास दर घटेर १.२ प्रतिशतमा खुम्चिएको छ । देशका धेरै मानिसहरु कृषिमा त लागेका छन् तर, उनीहरुको कृषि उत्पादन धेरै कम छ । लाखौं किसान हरेक वर्ष आफ्नो कृषि कर्जा चुकाउनको लागि ठूलो संघर्ष गर्छन् ।

भारतमा किसानको अवस्था

पछिल्लो महिना मात्रै पश्चिमी उत्तर प्रदेशका किसानहरुले दिल्लीको सीमामा विशाल प्रदर्शन गरेका थिए । यस वर्ष महाराष्ट्रका किसानहरुले पनि ठूलो प्रदर्शन गरिरहेका छन् ।

त्यस्तै अघिल्लो वर्षमात्रै तामिलनाडुका दुःखी किसानले दिल्लीमा लामो समयसम्म प्रदर्शन गरेका थिए । सबै प्रदर्शनमा किसानहरुको कर्जा माफ गर्न र त्यसका लागि योजना बनाउन माग उठेको थियो ।

तर, सबैभन्दा दुःखद स्थिति त के छ भने जहाँ विश्वकै सबैभन्दा ठूलो प्रतिमा बनिरहेको छ, त्यसैको फेदमा रहेको गाउँ पानी चोरी गर्न बाध्य छ ।

एक किसानका अनुसार केही किसानहरुले बाध्य भएर बाँधसम्म पाइप बिच्छ्याएका छन् ताकी उनीहरुले आफ्नो खेतसम्म थोरै भएपनि पानी ल्याउन सकुन् । उनी भन्छन्, ‘आफूलाई जिँउदो राख्न हामीलाई यो काम गर्नुपर्छ । हामीलाई बाँधबाट पानी चोर्नु गैरकानूनी हो भन्ने थाहा छ तर, खेतीको लागि पानी उपलब्ध गराउने अरु कुनै माध्यम छैन ।’

बीबीसी हिन्दीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment