+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्तिले निराश सीमाबासी : मिचिएको भूमि फिर्ता आउने आश गुम्यो

सडक निर्माण र भूमिको विवाद समाधानका लागि विगतदेखि संघर्ष गर्दै आएका बेलौरीका स्थानीय प्रधानमन्त्री बालेन शाहको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिपछि थप आक्रोशित बनेका छन् ।

जनक विष्ट जनक विष्ट
२०८३ जेठ १९ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको बेलौरी नगरपालिका-८ मा भारतसँगको सीमा विवादका कारण २०७३ सालदेखि डेढ किलोमिटर हुलाकी सडक निर्माण कार्य रोकिएको छ ।
  • नेपालीले भोगचलन गर्दै आएको जमीनमा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेपछि स्थानीय बासिन्दा विगत ९ वर्षदेखि आन्दोलित छन् ।
  • लालपुर्जा भई मालपोत समेत तिर्दै आएको नेपाली भूमिमा भारतीय पक्षले दाबी गरेपछि सीमा क्षेत्रका नागरिकमा त्रास बढेको छ ।

१९ जेठ, धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका-८ खप्टी नाला क्षेत्रको डेढ किलोमिटर हुलाकी सडक भारतसँगको सीमा विवादका कारण निर्माण अघि बढ्न सकेको छैन ।

२०७३ सालदेखि निर्माण थालिएको पुनर्वासदेखि दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये यो क्षेत्रमा भारतीय एसएसबीको अवरोधका कारण अहिलेसम्म सडक कालोपत्रे भएको छैन । स्थानीयवासी विवाद समाधान गरी सडक निर्माण गरिदिन माग राखी विगत ९ वर्षदेखि संघर्ष गर्दै आएका छन् ।

तर, दुई देशको मामला भएका कारण अहिलेसम्म विवादित भूमिबारे कुनै निर्णय भएको छैन । नेपाल-भारत सीमा स्तम्भ नम्बर ७७८/१(३८) देखि २० मिटरको दूरीमा नेपालतर्फ बनिरहेको यो सडकमा भारतीय पक्षको अवरोध निरन्तर छ ।

नेपाल-भारत सीमा स्तम्भ नम्बर ७७८/१(३८) । जनक विष्ट/अनलाइनखबर

सीमा स्तम्भभन्दा केही वरपर भने सडकको दायाँबायाँ वर्षौंदेखि नेपालीले जग्गा चलनभोग गर्दै आएका छन् । कतिसम्म भने, उनीहरूले नेपाल सरकारलाई जग्गाको मालपोत पनि तिर्दै आएका छन् ।

सडक निर्माण र भूमिको विवाद समाधानका लागि विगतदेखि संघर्ष गर्दै आएका बेलौरीका स्थानीय प्रधानमन्त्री बालेन शाहको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिपछि थप आक्रोशित बनेका छन् ।

सीमा विवाद हल गर्ने आशासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत दिएको तर प्रधानमन्त्रीले अपेक्षाविपरीत अभिव्यक्ति दिएपछि निराश बनाएको उनीहरूको भनाइ छ ।

विवादका कारण निर्माण हुन नसकेको हुलाकी सडकमै भेटिएका बेलौरी नगरपालिका-८ का भुवन चौधरीले भारतीय पक्षको अवरोधले समस्या भोग्नु परेको गुनासो गरे ।

‘यो सडकको पारि पनि धेरै जनाको लालपुर्जा भएको जग्गा-जमिन छ । अहिले पनि खेतीपाती गर्दै आएका छौँ । तर भारतीय एसएसबीले आफ्नो भूमि हो भन्दै हामीलाई बारम्बार दुःख दिइरहन्छ । सडक नै बनाउन दिएन,’ चौधरीले भने, ‘प्रधानमन्त्रीले हामीले पनि जमिन मिचेका छौँ भन्नुभयो रे । अब झन् कसरी समस्या समाधान होला खोइ ।’

बेलौरी नगरपालिका-८ का भुवन चौधरी

बेलौरी नगरपालिका-१० सडक घाटका स्थानीय चक्रबहादुर कठायत वर्षौंदेखि चलनभोग गर्दै आएको यो क्षेत्र भारतीय पक्षले आफ्नो नक्सामा पर्ने भन्दै अवरोध गर्दा अहिलेसम्म सडक निर्माणको काम नभएको बताउँछन् । बेलौरीमै सीमा क्षेत्रमा नेपाली लालपुर्जा भएका जमिनमा भारतीय नागरिकले कब्जासमेत गरेको बताउँदै कठायतले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति ठिक नभएको आम बुझाइ भएको बताए ।

‘हुलाकी सडक निर्माण हुने यो क्षेत्र मात्र होइन नेपाली लालपुर्जा भएको भूमिमा समेत भारतीयले कब्जा गरेका छन् । प्रधानमन्त्रीले संसद्‌मा दिएको अभिव्यक्ति ठिक भएन भन्ने यहाँको आम बुझाइ छ,’ कठायतले भने, ‘हामी सीमाबासी पीडित भएका बेला उहाँको यस्तो अभिव्यक्ति आउनु दुःखद हो ।’

चक्रबहादुर कठायत

२०२४ सालदेखि चलनभोग गर्दै आएको लालपुर्जा भएको जमिन नै भारतले लिएपछि बेलौरीका धेरै मानिस पीडित भएको उनी बताउँछन् ।

प्रधानमन्त्रीको भनाइले स्थानीयमा थप त्रास सिर्जना भएको कठायतले बताए । ‘पहिल्यै थिचोमिचो गरेर ल्याएको छ । प्रधानमन्त्रीको कुराले थप त्रास बढ्यो । अझै अतिक्रमण गर्ने पो हुन् कि भन्ने आशंका थपिएको छ,’ कठायतले भने ।

नेपाल-भारत पिल्लर नम्बर ३८ नजिकै इँटा भट्टा सञ्चालन गर्दै आएका हरि चन्द ठकुरी सीमा विवादका बारेमा विगतदेखि नै अग्र पंक्तिमा रहेर संघर्ष गरिरहेका व्यक्ति हुन् । नेपाल-भारत सीमा सरोकार समितिको उपसमिति संयोजक पनि रहेका चन्द प्रधानमन्त्रीको अभिव्यक्तिले चिन्तित बनाएको भन्दै आक्रोशित सुनिए ।

‘संसद्‌मा प्रधानमन्त्रीले दिनुभएको जवाफ गलत छ । नेपालीतर्फबाट भारतीय भूमि कतै पनि मिचिएको छैन,’ चन्दले भने, ‘तर सट्टा भर्ना भोगचलन भइरहेको कुरा साँचो हो । उहाँको यो अभिव्यक्तिको विरोधमा स्थानीय बासिन्दा छौँ ।’

हरि चन्द ठकुरी

नेपाली जनताले आफ्नो भएको प्रमाणका आधारमा चलनभोग गरेको भूमि फिर्ता ल्याउन नसक्ने नेता र कर्मचारीले कालापानी र सुस्ता फर्काउलान् भन्ने विश्वास गर्न नसकिने उनी बताउँछन् ।

‘हामीले आफूले जोतिखाएको जमिन छुटाउँदैनन् भने यी नेताहरूले कालापानी र सुस्ता छुटाउलान् भन्ने विश्वास कसरी गर्ने ?,’ चन्दले प्रश्न गरे ।

प्रधानमन्त्री बालेनमाथि भारतसँग समान रूपले सम्झौता हुन्छ र मिचिएको जग्गा फिर्ता पाइन्छ भन्नेमा विश्वास गरेको बताउँदै तर त्यो कुरा गलत भएको स्वयं उनकै अभिव्यक्तिले प्रमाणित भएको चन्दको दाबी रहेको छ ।

२०५९ सालअघिको नक्सामा नेपाली भूमिमै पर्ने भूभागलाई नयाँ नक्साले भने भारततर्फ देखाएको भारतीय पक्षको दाबी रहेको छ । चन्दका भनाइमा अहिले विवाद रहेको पिल्लर नम्बर ३८ भन्दा साढे दुई सय मिटर पर भारततर्फ नेपालकै भूमि थियो । तर भारतीय पक्षले नेपाली भूमि मिच्दै वरसम्म ल्याएपछि यो क्षेत्रमा विवाद बढ्दै गएको हो ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?