News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ ।
- अदालतले कुशवाहालाई ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जरिवाना र सोही बराबरको बिगो जफत गर्ने फैसला गरेको छ ।
- उपभोक्ता समितिहरूबाट घुस लिएको पुष्टि भएपछि अख्तियारले दायर गरेको मुद्दामा अदालतले कुशवाहालाई दोषी ठहर गर्दै सजाय तोकेको हो ।
१९ जेठ, काठमाडौं । विशेष अदालतले घुस लिएको अभियोगमा दोषी ठहर भएका मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले गत जेठ ४ गते सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसूरमा दोषी ठहर गरेको थियो ।
त्यसपछि आज अदालतले उनलाई ४ वर्ष कैदसँगै ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जरिवानाको सजाय निर्धारण गरेको हो ।
अदालतका अनुसार सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत कुल ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ प्राप्त गरेको पुष्टि भएको छ । उक्त रकमलाई नै भ्रष्टाचारको विगो मानी सजाय निर्धारण गरिएको हो ।
फैसलाअनुसार वारदात भएको समयमा सिंह महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रहेकाले उनले आफ्नो सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय समेत गरिएको छ ।
विशेष अदालतले सिंहबाट घुसस्वरूप प्राप्त ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जफत गरी असुलउपर गर्न आदेश दिएको छ । साथै जरिवानाका आधारमा अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विभिन्न उपभोक्ता समितिहरूबाट कमिशन तथा घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले आरोप पुष्टि भएपछि उनलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो।
प्रतिक्रिया 4