Comments Add Comment

आजका पत्रपत्रिका: तनावमा सातै प्रदेशका मन्त्रिपरिषद्

१६ कात्तिक, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले निर्मला पन्त हत्याको सय दिन पुगेको सन्दर्भमा यसमाथि भइरहेका अनुसन्धानबारे चासो व्यक्त गरेका छन् । पन्त बलात्कार तथा हत्यापछिका यी सय दिनमा सरकारी तबरबाट विभिन्न अनुसन्धान भइरहे पनि उपलब्धि शून्यमै छ ।

प्रदेश मन्त्रिपरिषदमा देखिएको आन्तरिक तनावलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ उठाएका छन् । अधिकांशले प्रदेश ३ का मुख्यमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीचको भनाभनबारे समाचार लेखिरहँदा नयाँ पत्रिकाले भने सातै प्रदेशका आन्तरिक तनाव र कलहबारे कम्पाइल गरेको छ ।

आर्थिक, राजनीतिकसँगै अनियमितता, बेथितिलगायत विषय उठान गरेका आजका पत्रपत्रिकाहरुले जनप्रतिनिधिको भ्रमण मोह, पाइपलाइन निर्माण, प्रधानमन्त्रीको स्वास्थ्य, तपोवनको अतिक्रमित भूमि फिर्तालगायत विषयलाई पनि समाचार बनाएर छापेका छन् ।

किचलोमा सातै प्रदेशका मन्त्रिपरिषद्

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र भौतिक पूर्वाधार मन्त्री केशव स्थापितबीच विवाद बढेको खुलासा अनलाइनखबरले गरेपछि आजका सबैजसो दैनिक पत्रिकाहरुले यसबारे समाचार लेखेका छन् । नयाँ पत्रिकाले भने प्रदेश ३ को विवादसँगै सातै प्रदेशका आन्तरिक तनावबारे केलाएको छ ।

नयाँ पत्रिकाका अनुसार प्रदेश ३ मात्रै होइन, बाँकी प्रदेशहरु पनि केही न केही आन्तरिक उल्झनमा फसेका छन् । समाचार अनुसार कर्णाली प्रदेशमा सत्तापक्षबीच नै आन्तरिक विवाद चर्किएको छ । त्यहाँ विवाद चर्किंदा एकीकृत पार्टीको संसदीय दलको नेता चयन हुन सकेको छैन । आर्थिक वर्षको बजेटमा मन्त्रीहरुले आफ्नो जिल्लामा मात्र बजेट विनियोजन गरेको भन्दै प्रदेशसभा सदस्यले मन्त्रीहरुको चर्को आलोचना गर्दै राजीनामा मागेका छन् ।

प्रदेश १ को दुःख पनि उस्तै छ । त्यहाँको मन्त्रिपरिषद अझै अपूर्ण छ भने राजधानीबारेको कचिंगल टाउको दुखाइको विषय बनेको छ । प्रदेश २ मा गठबन्धन र दलभित्रै पनि विवाद छ भने सुदूरपश्चिममा राजधानी तोकिए पनि सबैले स्वीकारेका छैनन् ।

मलेसिया मिलाउन अझै कठिन

तिहार आगमनको झल्को दिनेगरी मुख पृष्ठमा तस्वीर छापेको कान्तिपुरले ‘मलेसिया मिलाउन अझै कठिन’ शीर्षक दिएर पछिल्लो श्रम समझदारीका गाह्रासाह्राबारे लेखेको छ ।

समाचार अनुसार नेपाल–मलेसिया श्रम समझदारी तत्काल कार्यान्वयन गर्न अप्ठ्यारो परेको छ । नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारेको मुद्दा र वैदेशिक रोजगार व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन देखिएको हो ।

कान्तिपुर लेख्छ– मलेसियाले नेपालमा रहेको संयन्त्रबारे समीक्षा भइरहेको भन्दै पुरानै संयन्त्रमार्फत् नेपाली कामदारको भिसा प्रक्रिया बढाउन अनुरोध गरेको छ ।

कान्तिपुरमै तपोवनको ३७ रोपनी वन फिर्ता भएको, सद्भाव बढाउन बारामा सामूहिक तरकारी खेती शुरु भएको लगायत समाचार छन् ।

अभिलेख नहुँदा साना किसानको ऋण मिनाहा कठिन

साझा सहकारी संस्थाबाट ऋण लिने साना किसानहरुको अभिलेख नहुँदा उनीहरुको ऋण मिनाहा गर्ने सरकारको घोषणा कार्यान्वयनमा अप्ठ्यारो परेको कारोबारले लेखेको छ ।

सरकारले आर्थिक वर्ष ०७५–७६ को बजेटमा साना किसानहरुले तत्कालीन साझा सहकारी संस्थाबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरेको घोषणा गरेको थियो । तर साझा सहकारी संस्था र उनीहरुले ऋण दिएका साना किसानबारे सरकार तथा सहकारीका निकायमा समेत अभिलेख नहुँदा सरकारको योजना कार्यान्वयन गर्न विलम्ब भएको छ ।

कार्यालय रित्याएर घुमघाम

अन्नपूर्णले जनप्रतिनिधिको भ्रमण मोहबारे मुख्य समाचार लेखेको छ । पूर्वीनेपालका स्थानीय तह अवलोकन गर्न जनप्रतिनिधिसहितको टोली निस्किएपछि ललितपुरको वागमती र झापाको बुधबारे कार्यालय सुनसान भएको उल्लेख गर्दै स्थानीय तह नीति र थीतिविहीन बनेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment