Comments Add Comment

पीपीएलका महंगा खेलाडीः कसको प्रदर्शन कस्तो ?

काठमाडौं । पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेटको पहिलो संस्करणमा पोखरा पल्टन र चितवन राइनोज फाइनलमा पुगेका छन् । पोखरा समूह चरणमा शीर्ष स्थान कायम गर्दै फाइनलमा पुगेको हो भने चितवनले इलिमिनेटरमा काठमाडौं रोयल्सलाई हराएर फाइनल पक्का गर्‍यो ।

दुवै टिमको फाइनल यात्रा सजिलो भने थिएन । पाँच वटा टिमले समूह तालिकामा समान अंक हासिल गर्दा नेट रन रेटका आधारमा मात्रै पोखरा पहिलो भएको हो । यसैगरी सुरुको दुई खेल हारेको चितवनले शानदार कमब्याक गर्दै उपाधि होडमा आफूलाई उभ्याएको छ ।

प्रतियोगिता अन्तिम चरणमा आइपुग्दा केही लो प्रोफाइलका खेलाडीहरु चम्केका छन् भने केही स्टार खेलाडी फिक्का बनेका छन् । पीपीएलमा ६ जना खेलाडी सर्बाधिक महँगो २ लाख ५० हजार रुपैयाँमा विक्री भएका थिए भने तीन खेलाडी २ लाख ४० हजार रुपैयाँमा । फाइनल खेलअघिका नतिजालाई हेर्दा महँगोमा बिकेका खेलाडीको प्रदर्शन भने कस्तो रहृयो त ?

पोखरा पल्टन-बिनोद भण्डारी र रोहितकुमार पौडेल 

थुप्रै अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका विनोद भण्डारी र नेपाली राष्ट्रिय टोलीका कान्छा सदस्य रोहित पौडेललाई पोखरा पल्टनले साढे दुई लाखमा खरिद गरेको थियो । रोहित पौडेलले औसत प्रदर्शन गरिरहँदा विनोद पहिलो म्याचपछि फिक्का बनेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले हराएको थियो । यस जितमा बिनोद भण्डारीको प्रदर्शन महत्वपूर्ण रहृयो ।

पहिले ब्याटिङ गरेको पोखराका लागि चौथो नम्बरमा ब्याटिङमा आएका उनले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ४१ रन बनाएका थिए । उनको इनिङको मद्धतमा पोखराले प्रतियोगिताकै सबैभन्दा स्कोरका रुपमा १ सय ९७ रन बनाएको थियो । पहिलो खेलमा रोहितले भने ब्याटिङ गर्नु परेको थिएन ।

दोस्रो खेलमा पोखरा बुटवलसँग ३३ रनले पराजित हुँदा बिनोदले ५ बलमा ६ रन बनाए भने रोहितले १० बलमा २ रन मात्रै जोड्न सकने । तेस्रो खेलमा चितवनलाई ५ विकेटले पराजित गर्दा बिनोद २ बलमा ४ रन बनाउँदै अविजित रहेका थिए । रोहितले २४ बलमा १९ रन बनाएका थिए ।

चौथो खेलमा धनगढीसँग २ विकेटले पराजित हुँदा बिनोदले १३ बलमा ७ रन र रोहितले २१ बलमा ३१ रन बनाए । पाँचौ खेलमा काठमाडौंलाई ४ विकेटले हराउँदा बिनोद २ बल खेल्दा शून्यमै आउट भएका थिए भने रोहितले ७ बलमा १५ रन बनाए ।

विनोद र रोहितसँग अझै पनि फाइनलमा आफ्नो छाप छोड्ने अवसर छ ।

विराटनगर टाइटन्स – प्रदीप ऐरी

पछिल्लो समय राष्ट्रिय टिममा पुनरागमन गरेका प्रदिप ऐरीका लागि यो प्रतियोगिता महत्वपूर्ण थियो । अक्सनमा उनी दुई लाख ४० हजारमा बिकेका थिए । तर, प्रतियोगितामा उनी फ्लप भएका छन् ।

पहिलो खेलमा पोखराविरुद्ध १ सय ९८ रनको ठूलो लक्ष्य पछ्याएको विराटनगरका लागि ओपनिङमा आएका प्रदीप ऐरीले ६ बलमा १० रन मात्रै बनाउन सके । दोस्रो खेलमा धनगढीसँग ७८ रनले पराजित हुँदा पनि ओपनिङमा आएका प्रदीपले ५ बलमा ४ रन बनाएर आउट भए ।

तेस्रो खेलमा काठमाडौंसँग पाँच विकेटले हार्दा पनि प्रदिपको प्रदर्शन उस्तै कमजोर रह्यो । उनले ५ बलमा ९ रन मात्रै बनाउन सकेका थिए ।

चौथो खेलमा बल्ल उनले उल्लेखनीय प्रदर्शन गरे । बुटवललाई १२ रनले हराएको खेलमा उनले ४३ बलमा ४१ रन बनाए । पाँचौ खेलमा चितवनसँग ४ विकेटले पराजित हुँदा फेरि उनी फ्लप भए । सो खेलमा प्रदीपले १४ बलमा ११ रन बनाएका थिए । बुटबलविरुद्धको खेललाई बिर्सने हो भने उनले ४ म्याचमा ३४ रन मात्रै बनाएका छन् । उनको स्ट्राइक रेट पनि कमजोर नै छ ।

चितवन राइनोज – आरिफ शेख, करण केसी र अनिल साह

चितवन राइनोजले राष्ट्रिय टिमको सदस्य रहेका तीन खेलाडीहरुलाई उच्च मूल्यमा किनेको थियो । ब्याट्सम्यान आरिफ सेख, बलर करण केसी र विकेटकिपर अनिल साहलाई उसले जनही २ लाख ५० हजार हालेको थियो । उनीहरुमध्ये करणको प्रदर्शन सन्तोषजनक रह्यो भने आरिफ र अनिलले सोचेजस्तो गर्न सकेनन् ।

प्रतियोगिताको पहिलो खेलमा बुटवल ब्लास्टरसँग भिडेको चितवन राइनोज ७० रनको ठूलो अन्तरले पराजित भएको थियो । पहिले ब्याटिङ गरेर बुटवलले दिएको १ सय ३६ रनको रन पछ्याउने क्रममा चितवन ६५ रनमै अलआउट भयो ।

ओपनिङमा आएका अनिल साह ४ बल खेलेर शून्यमै आउट भए । त्यस्तै आरिफ शेख पनि पहिलो बलमा नै आउट भए । चितवनका लागि बलिङमा ४ ओभरमा २२ रन अर्चिएर २ विकेट लिएका करण केसीले ब्याटिङमा ९ बलमा ७ रन बनाउँदा रन आउट भएका थिए ।

दोस्रो खेलमा पोखरासँग ५ विकेटले पराजित हुँदा अनिलले १८ बलमा १६ रन मात्र जोड्न सके । करण दुई बल खेल्दा खाता नखोली आउट भए । आरिफ भने ब्याटिङमै आएनन् । ४ ओभर बलिङ गरेका करणले १९ रन मात्रै दिएर ३ विकेट लिएका थिए ।

तेस्रो खेलमा धनगढीलाई प्रतियोगिताकै सबैभन्दा ठूलो अन्तर १ सय २६ रनले हराउँदा ओपनिङमा आएका अनिलले ३४ बलमा ३७ रन बनाएका थिए । आरिफ ५ बल खेल्दा शून्यमै आउट भए भने करणले ६ बलमा ११ रन बनाएका थिए । बलिङमा पनि करणले ३ ओभरमा ५ रन मात्रै दिएर १ विकेट लिएका थिए ।

चौथो खेलमा काठमाडौंविरुद्ध १३ रनको रामोञ्चक जित निकाल्दा अनिलले २७ बलमा २७ रन बनाएका थिए । जसमा आरिफ र करणले बल फेस गर्नै परेको थिएन । बलिङमा ४ ओभर गरेका करणले ३४ रन खर्चेर ३ विकेट लिएका थिए ।

पाँचौ खेलमा विराटनगरलाई ४ विकेटले हराउँदा अनिलले १२ बलमा १३ रन, आरिफले ३९ बलमा ३५ रन बनाए । बलिङमा करणले ४ ओभर गर्दा ३७ रन खर्चेर १ विकेट लिएका थिए ।

इलिमिनेटर खेलमा काठमाडौंलाई ६ विकेटले हराएर फाइनल प्रवेश गरेको चितवनका लागि अनिलले ४ बलमा १ रन मात्रै बनाएका थिए । आरिफले ३२ बलमा २० रन बनाए । बलिङमा करणले ३ ओभर ३ बल गर्दा २४ रन खर्चेर १ विकेट लिएका थिए ।

बुटवल ब्लास्टर – सागर पुन

बुटवलका महँगा खेलाडी सागर पुन अक्सनमा २ लाख ४० हजार रुपैयाँमा बिक्री भएका थिए । पहिलो खेललाई छोड्दा उनी पनि प्रतियोगितामा फ्लप बनेका छन् ।

पहिलो खेलमा चितवनविरुद्ध ब्याटिङमा ४८ बलमा ४६ रन बनाएका सागरले २ ओभर बलिङ गर्दा पनि ४ रन मात्रै खर्चिए ।

दोस्रो खेलमा पोखरालाई ३३ रनले हराउँदा बुटवलका लागि सागर पुनले राम्रो ब्याटिङ गर्न नसके पनि ४ ओभर बलिङ गर्दा १५ रन मात्रै खर्चिएर १ विकेट लिएका थिए । ब्याटिङमा भने ओपनिङमा आएका उनले १० बल खेलेर २ रन बनाउँदै आउट भए ।

तेस्रो खेलमा विराटनगरसँग १२ रनले पराजित हुँदा सागरले ३३ बलमा २९ रन बनाएका थिए । उनले २ ओभर बलिङ गर्दा २२ रन खर्चिएर १ विकेट लिएका थिए ।

चौथो खेलमा धनगढीसँग २० रनले पराजित हुँदा सागर ५ बलमा १ रन बनाउँदै आउट भएका थिए । १ ओभर बलिङ गरेका उनले १२ रन खर्चिए ।

पाँचौ खेलमा काठमाडौंसँग ३७ रनले पराजित हुँदा सागरले ३ बलमा १ रन मात्रै बनाए । बलिङमा उनले ३ ओभर फ्याक्दा २३ रन खर्चिए ।

काठमाडौं रोयल्स – बसन्त रेग्मी

पीपीएल अक्सनमा २ लाख ५० हजार रुपैयाँमा बिक्री भएका बसन्त रेग्मी राष्ट्रिय टिमबाट लामो समयदेखि खेल्दै आएका भेट्रान खेलाडी हुन् । काठमाडौंका लागि मध्यम प्रदर्शन गरे ।

काठमाडौंले पहिलो खेलमा धनगढीलाई १७ रनले हराएको थियो । १ सय ८१ रनको लक्ष्य पछ्याएको धनगढीविरुद्ध ४ ओभर बलिङ गरेका बसन्तले २९ रन खर्चेर २ विकेट लिएका थिए ।

दोस्रो खेलमा विराटनगरलाई ५ विकेटले जितेका बेला बसन्तले ब्याटिङ गर्नु नपरे पनि बलिङमा उत्कृष्ट खेल देखाएका थिए । उनले ४ ओभर बलिङ गर्दा ११ रन मात्रै दिएर २ विकेट लिएका थिए ।

तेस्रो खेलमा चितवनसँग १३ रनले हार्दा ३ ओभर बलिङ गरेका बसन्तले २१ रन खर्चेर २ विकेट लिए । ब्याटिङमा उनी ६ बलमा ३ रन बनाएर नटआउट रहे ।
चौथो खेलमा बुटवललाई ३७ रनले हराउँदा बसन्तले ब्याटिङ गर्नु नपरे पनि बलिङमा ४ ओभर गरेर २० रन खर्चर्दै २ विकेट लिए ।

पाँचौ खेलमा पोखरासँग ४ विकेटले पराजित हुँदा बसन्त १२ बलमा १९ रन बनाउँदै अविजित रहेका थिए । बलिङमा पनि उनले ३ ओभर गर्दा १४ रन मात्रै खर्चिएका थिए ।

फाइनल प्रवेशका लागि भएका इलिमिनेटर खेलमा चितवनसँग ६ विकेटले पराजित हुँदा बसन्त ब्याटिङमा ६ बल खेल्दा शुन्यमै आउट भएका थिए । बलिङमा उनले ३ ओभर २ बल गर्दा २४ रन खर्चिए ।

एक्स्पर्ट धनगढी-दिलिप नाथ

पीपीएल अस्कनमा २ लाख ४० हजार रुपैयाँमा बिक्री भएका दिलिप नाथ पूर्णरुपमा असफल बने । ओपनरका रुपमा ब्याटिङ गर्न आएका उनले कुनै पनि खेलमा उल्लेखनीय रन बटुल्न सकेनन् । उनले ५ खेलमा केबल ३२ रन जोड्न सफल भएका छन् ।

पहिलो खेलमा काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदा ६ बलमा १० रन मात्रै बनाउन सके । उनी बसन्त रेग्मीको बलमा बोल्ड भएका थिए ।

दोस्रो खेलमा विराटनगरलाई ७८ रनले हराउँदा पनि विकेट किपर ब्याट्सम्यान दिलिप नाथले ९ बलमा ८ रनको योगदान दिए । तेस्रो खेलमा चितवनसँग १ सय २६ रनले हार्दा दिलिप ४ बल खेलेर रन नै नबनाई आउट भएका थिए ।

चौथो खेलमा बुटवललाई २० रनले हराउँदा दिलिपले १५ बलमा १० रन बनाएका थिए । साथै पाँचौ खेलमा पोखरालाई दुई विकेटले हराउँदा दिलिपले ११ बलमा ४ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment