Comments Add Comment

पाकिस्तानको अर्को छलाङ, अष्ट्रेलियापछि न्यूजील्यान्डविरुद्ध पनि क्लिन स्विप

१९ कार्तिक, काठमाडौं । क्रिकेटमा एकपछि अर्को समस्याले गुज्रिएको देश पाकिस्तानले पछिल्ला दिनहरुमा भने एकपछि अर्को छलाङ मारेको छ । पाकिस्तानले न्यूजील्यान्डविरद्धको टी–ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।

आइतबार राति सम्पन्न अन्तिम तथा तेस्रो खेलमा न्यूजील्यान्डलाई ४७ रनले पराजित गर्दै पाकिस्तानले तीन खेलको सिरिज क्लिन स्विप गरेको हो । केही दिनअघि मात्रै अष्ट्रेलियाविरुद्धको सिरिज क्लिन स्विप गरेको पाकिस्तानका लागि यो फेरीको अर्को ठूलो उपलब्धि हो ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले दिएको १६७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्यूजील्यान्डले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ११९ रन मात्रै बनाउन सक्यो ।

न्यूजील्यान्डका लागि कप्तान केन विलियम्सनले ६० रनको विष्फोटक ब्याटिङ गरेपनि आफ्नो टिमलाई जिताउन सकेनन् । उनले ३८ बलको सामाना गर्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, ग्लेन फिलिप्सले २६ रन बनाएपनि न्यूजील्यान्डका लागि अन्य कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बलिङतर्फ पाकिस्तानका शादब खानले ३ विकेट लिए । त्यस्तै, इमाद वासिम र वाकस माक्सोदले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर अजामले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाए । त्यस्तै, मोहम्मद हफिजले अविजित ५३ रन बनाएका थिए ।

यसअघिको पहिलो खेलमा पाकिस्तानले न्यूजील्यान्डलाई २ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा पाकिस्तानले न्यूजील्यान्डमाथि ६ विकेटको जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment