Comments Add Comment

अमेरिकी सिनेटको मध्यावधि चुनावः ट्रम्पलाई नियन्त्रण गर्ने शक्ति प्राप्त होला ?

२० कात्तिक, अमेरिका । संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन सिनेट र तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’को नियन्त्रणका लागि मंगलबार मध्यावधि निर्वाचन हुँदैछ ।

तल्लो सदन हाउस अफ रिपि्रजेन्टेटिभका सबै ४३५ सिट, १०० सदस्यीय माथिल्लो सदन सिनेटको ३५ सिट र ५० राज्यमध्ये ३६ का गर्भनरका लागि मध्यावधि निर्वाचन हुन लागेको हो ।

अमेरिकामा कुनै पनि राष्ट्रपतिको चार वर्षे कार्यकालको आधा अवधि सकिएपछि मध्यावधि निर्वाचन गर्ने व्यवस्था छ । मंगलबार हुने मध्यावधि निर्वाचनलाई धेरैले राष्ट्रपति डोनाल्ड ट्रम्पको दुईवर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिएका छन् ।

यो निर्वाचनले चारवर्षे कार्यकालको बाँकी दुई वर्षमा उनको नीतिहरुलाई प्रभाव पार्न सक्ने क्षमता राख्छ । विशेष गरी आप्रवासीहरुमाथि कडाइ गर्ने उनको नीतिको व्यापक आलोचना हुँदै आएको छ र डेमाक्रेटले बहुमत कायम गर्न सफल भएमा उनका विवादित नीतिहरु माथि अंकुश लगाउन सक्नेछन् ।

तीन करोडभन्दा धेरै मानिसले आफ्नो राज्यमा निर्वाचन दिनको पहिले नै ‘अर्लि भोटिङ’ वा ‘एब्सेन्टी ब्लालोट’ को फाइदा उठाइसकेका छन् । यो तथ्याङ्कले सन् २०१४ को ‘अर्ली भोटिङ’ गर्ने मतदाताको संख्यालाई छाँयामा पारिदिएको छ ।

सत्तारुढ दल रिपब्लिकन पार्टीले सन् २०११ देखि तल्लो सदनमा र सन् २०१५ देखि माथिल्लो सदनमा बहुमत कायम गरेको छ । र, सन् २०१७ जनवरीदेखि एकीकृतरुपमा संघीय सरकारको दुवै सदनमा नियन्त्रणमा राखेको छ ।

ओबामाको राष्ट्रपतिकालमा डेमोक्रेटहरुको सन् २००९ र २०१० मा दुवै सदनमा बहुमत थियो ।

कस्तो छ अहिलेको समीकरण ?

१०० सदस्यीय माथिल्लो सदन सिनेटमा ५१ रिपब्लिकन र ४९ जना डेमोक्रेट सदस्य रहेका छन् जसमध्ये दुईजना स्वतन्त्र छन् ।

अहिले मध्यावधि निर्वाचन हुने ३५ सिट छन् । डेमोक्रेटहरुलाई बहुमतका लागि थप दुई सिट जित्नु आवश्यक पर्छ । तर, विश्लेषकहरुले रिपब्लिकनकै बहुमत कायम हुने वा अझै उनीहरुले सिट थप्न सक्ने आँकलन गरेका छन् ।

त्यस्तै ४३५ सदस्यीय तल्लो सदनमा अहिले २३५ रिपब्लिकन सदस्यहरु र १९३ डेमोक्रेटहरु छन् । सात पद रिक्त छन्, जुन मध्यावधि निर्वाचन अगाडिको निर्वाचनले पदपूर्ति गरेका छैनन् । तल्लो सदनमा बहुमत प्राप्त गर्नका लागि डेमोक्रेटहरुले २३ सिट जित्नुपर्छ ।

त्यस्तै निर्वाचन हुने ३६ गर्भनरमा २६ रिपब्लिकन रहेका छन् भने ९ डेमोक्रेट छन् ।

कस्तो असर गर्छ निर्वाचन परिणामले ?

निर्वाचनको परिणामले अमेरिकी राजनीतिमा महत्वपूर्ण असर गर्ने छ । यो निर्वाचनले मतदाताहरुलाई रिपब्लिकनहरुलाई यही हैसियतमा वा अझैमाथि लैजाने वा डेमोक्रेटहरुलाई बहुमत दिई सरकारमाथि नियन्त्रण गरी ट्रम्पको नीतिहरुलाई नै चुनौती दिने अवसर छ ।

गर्भनरको दौड पनि धेरै महत्वपूर्ण छ । किनभने गभर्नरहरुले उनीहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

अहिलेसम्मको मध्यावधिको नतिजा

अमेरिकी मध्यावधि निर्वाचनको इतिहासमा सँधैजसो हृवाइटहाउसको कमान सम्हालेको सत्ताधारी दलले सिनेट र हाउसमा दुवैमा सिट गुमाएको देखिन्छ । विशेषगरि अझै राष्ट्रपतिको कार्यशैलीको आलोचना भएको छ भने त यो सम्भावना धेरै देखिन्छ ।

यस्तोमा ट्रम्प आफ्ना विभिन्न नीति र कार्यशैलीको कारण आलोचित हुँदै आएका छन् । उनको एप्रुभल रेटिङ ४० प्रतिशतभन्दा कम छ ।

दोस्रो विश्वयुद्धपछि राष्ट्रपतिको पार्टीले औसतमा संसदको २६ संसद र तीनदेखि चार सिनेट सिट गुमाएको तथ्यांक रहेको छ ।

मध्यावधि निर्वाचनको सबैभन्दा खराब नतिजाको रुपमा सन् २०१० मा बाराक ओबामा राष्ट्रपति हुँदा डेमोक्रेट पार्टीले तल्लो सदनको ६३ सीट गुमाएको थियो । त्यस्तै सन् १९९४ अर्का डेमोक्रेट राष्ट्रपति बिल क्लिन्टनको पालामा ५२ सिट गुमाएको थियो ।

यता रिपब्लिकनको हकमा सन् २००६ मा राष्ट्रपति जर्ज डब्लु बुसको पालामा ३० सिट र सन् १९७४ मा राष्ट्रपति जेराल्ड फोर्डको पालामा ४८ सिट गुमाएको थियो ।
स्रोतः भ्वाइस अफ अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment