Comments Add Comment

राष्ट्रिय खेलकुदको मिति तोक्दै–सार्दै, राखेप कहिले सुध्रिने ?

२२ कार्तिक, काठमाडौं । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता करिब २ महिना सरेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राहतको सास फेरेको हुनुपर्छ । तर, यसले राखेप र सरकारलाई भने खेलप्रेमीहरु माझ अविश्वासिलो बनाएको छ ।

मिति घोषणा गर्ने तर प्रतियोगिता नजिकिँदै गर्दा अनेकौं बहाना बनाएर पन्छिनु खोज्ने पुरानै रोग हो । राखेपले आयोजना गर्ने कुनै पनि ठूला प्रतियोगिता तोकिएको मितिमा सम्पन्न भएको रेकर्ड छैन । आखिर तोकिएकै मितिमा ठूला प्रतियोगिता किन सम्पन्न हुदैनन् त ? यो प्रश्नले खेलाडी, प्रशिक्षक र यससँग सम्बन्धित सबैलाई पिरोल्ने गरेको छ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन हुँदै गर्दा आठौं प्रतियोगिताको जिम्मा मध्यपश्चिमले लियो । प्रतियोगिता आयोजनाका लागि राखेपले ०७५ मंसिर २१ देखि २८ गतेसम्मको मिति तोकेको थियो । तर, अन्तिम समयमा प्रतियोगिता स्थगित गरेर नयाँ मिति तोकिएको छ ।

माघ २५ देखि फागुन ३ गतेसम्मलाई नयाँ मिति तोकिएको हो । यसअघि तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्ने दाबी गरेका राखेप सदस्य सचिव केशवकुमार विष्ट मिति सर्नुमा बजेटको ढिर्लाइलाई देखाउँछन् । उनी भन्छन्, ‘बजेट समयमै आएन । बजेट नआउँदा पूर्वाधार निर्माणमा ढिलाइ भयो, त्यसकारण बाध्य भएर मिति सारिएको हो ।’

करिब तीन महिना पूर्वाधार निर्माणको कार्य ठप्प हुँदा अहिले राखेपलाई थप भार पनि परेको छ ।

‘असार, साउन र भदौ तीन महिना बजेट अभावको कारण निर्माण कार्यहरु अघि बढ्न सकेन । अहिले निर्माण कार्य त भइरहेको छ । तर, अझै पनि बजेट पर्याप्त छैन,’ सदस्यसचिव विष्टले भने ।

‘अब सर्दैन’

राष्ट्रिय खेलकुद प्रतियोगिता घरेलु खेलकुदको ओलम्पिक जस्तै हो । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी चयनको प्रमुख आधार पनि यही हो । तर, राखेप र युवा तथा खेलकुद मन्त्रालयले यसलाई सेड्यूलमा लैजान सकेका छैनन् ।

मिति घोषणा गरेर स्थगित हुँदै गर्दा खेलकुदका नेतृत्वकर्ताप्रति खेलाडीको विश्वास गुम्दै गएको छ । नयाँ तोकिएको मितिमा पनि प्रतियोगिता हुनेमा उनीहरुलाई संशय छ । तर, राखेपका सदस्यसचिव विष्ट भने अब आठौं खेलकुदको मिति नसर्ने दाबी गर्छन् ।

उनले भने, ‘यो अन्तिम मिति हो । अब कुनै हालतमा सर्दैन ।’

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन करिब ५ वर्ष लागेको थियो । पटक–पटक मिति सारेर बल्लतल्ल पूर्वाञ्चलका विभिन्न जिल्लामा ०७३ पुस ८ देखि १५ गतेसम्म प्रतियोगिता सम्पन्न गरिएको थियो । तर, प्रतियोगितामा भौतिक संरचनाको अभाव निकै खट्कियो । यसपटक पनि त्यसैको पुनरावृत्ति हुने हो कि ?

यसबारे सदस्यसचिव विष्ट भन्छन्, ‘प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी राख्दैनौं । पूर्वाधारमा सातौंको जस्तो कमीकमजोरी हुँदैन । सातौंमा त ७०–८० लाख मात्र पूर्वधारमा खर्च भएको थियो । यसपटक त १७ करोड ८० लाख बजेट छ । त्यसको करिब आधाजति आइसकेको छ । त्यसै अनुसार कार्य पनि तीव्र रुपमा भइरहेको छ ।’

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राखेपले सरकारसँग ४१ करोड बजेट माग गरेको थियो ।

प्रदेश ५ मा हुने भनिएको आठौं खेलकुद प्रतियोगितामा ३५ खेल समावेश छन् । सातौ राष्ट्रिय खेलकुदमा समावेश गरिएको खेल स्नुकरलाई हटाएर अहिले पाराग्लाइडिङलाई राखिएको छ । समावेश अन्य खेलहरुमा फुटबल, क्रिकेट, भलिबल, उसु, बास्केटबल, तेक्वान्दो, कराँते, ब्याडमिन्टन, साइक्लिङ, कुस्ती, जिम्याष्टिक, शारीरिक सुगठन, फेन्सिङ, ट्रायथलन र स्क्वास रहेका छन् ।

त्यस्तै, एथ्लेटिक्स, बक्सिङ, भारत्तोलन, टेबलटेनिस, ह्यान्डबल, हक्की, सुटिङ, लनटेनिस, पौडी, बुद्धिचाल, जुडो, खोखो, आर्चरी, सेपाकताक्रो, आइटीएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी र फुलकन्ट्याक कराँते पनि रहेका छन् ।

बाँके, बर्दिया, कपिलबस्तु, रुपन्देही र दाङमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला छनोट भने यही मंसिर २१ गतेदेखि सुरु हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment