Comments Add Comment

खेलाडी दाजुबहिनी : सधैँ माया, सधैँ सम्मान

२३ कात्तिक, काठमाडौं । टेबलटेनिस राष्ट्रिय खेलाडी एलिना महर्जनलाई अरु चाडपर्वभन्दा विशेष लाग्छ तिहार । त्यसमा पनि भाइटीकाको दिनको व्यग्र पखाईमा हुन्छिन् उनी ।

एलिनाको तिहार मोहको प्रमुख कारण हो दाजु राकेश महर्जनसँगको न्यानो एवम् आत्मीय सम्बन्ध । उनै राकेशले टेबलटेनिस ब्याट समात्न सिकाए, खेल्न सिकाए । राष्ट्रिय खेलाडी समेत रहेका दाजुकै बाटो पछ्याउँदै सफलताको सिँढी उक्लिरहेकी छिन् ।

यमराजले आफ्नी बहिनी यमुनासँग भेट्न बल्लतल्ल समय निकालेको र त्यही मौकामा बहिनीले दाजुको दीर्घायुको कामना गर्दै सम्मान एवम् प्रेम दर्शाएको पौराणिक कथामा जस्तो दुरी राकेश र एलिनाबीच कहिल्यै भएन । उनीहरु घरदेखि अभ्यास र कार्यालयमा सँगसँगै हुन्छन् । खेलाडीकै रुपमा नेपाल प्रहरीमा १० वर्षअघि राकेशले जागिर सुरु गरे । तीन वर्षदेखि एलिनाले पनि प्रहरीकै जागिर खाएर खेलिरहेकी छन् ।

३३ वर्षका राकेश र २३ वर्षकी एलिनाबीच उमेरमा अन्तर भए पनि व्यवहार र भावनामा अन्तर छैन । दुवैले एकअर्कालाई राम्ररी बुझेका छन् । हरकुरामा एकअर्काको साथमा छन् । उनीहरु दाजुबहिनी मात्र नभएर साथी पनि हुन् ।

उज्यालो अनुहारकी एलिनालाई उज्यालो चाड तिहार मनपर्ने कारण अरु पनि छन् । दियोमा बत्ति बाल्न, रंगोली बनाउन पाउँदा उनी फुरुङ्ग हुन्छिन् ।

परिवारमै चार खेलाडी

राकेश र एलिना एउटै घरबाट राष्ट्रिय खेलाडी बने । राष्ट्रियस्तरमा मात्रै होइन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि उनीहरुले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । एलिना बाबुआमाकी माइली छोरी हुन् । कान्छी छोरी एरिका पनि टेबलटेनिस खेलाडी नै हुन् । जेठी अर्चनाले भने खेलिनन् ।

अझ रमाइलो कुरा त के छ भने राकेशकी श्रीमती नविता श्रेष्ठ पनि टेबलटेनिसकी राष्ट्रिय खेलाडी नै हुन् ।

महिला वरियतामा एक नम्बर रहेकी भाउजु नवितासँग हारेर एलिना गएको चार वर्षदेखि दोस्रो नम्बरमा छिन् । ‘मैले भाउजुलाई एकपटक मात्रै हराएको छु । भाउजुको खेल निकै राम्रो छ । हामी एउटा शैलीमा खेलिरहँदा उहाँ छिटो निर्णय लिएर परिवर्तन गरिहाल्न सक्नुहुन्छ । यसैले म सँधै हार्छु,’ एलिना भन्छिन् ।

बहिनीको मात्रै होइन, श्रीमतीको पनि गुरु हुन्, राकेश । यसैले पनि दुई जनाको खेल हुँदा हेरेर बस्ने आँट उनमा हुँदैन । खेल सुरु हुने बेला लुसुक्क कतै निस्किदिन्छन् ।
बाहिर नभने पनि भित्र मनमा कसले जिते हुन्थ्यो भन्ने लाग्छ ? प्रश्न भूँईमा खस्न नपाउँदै राकेशले भने, ‘जसले जिते पनि आˆनैले जित्ने हो । हार्ने पनि आफ्नैले हो । त्यसैले उनीहरु खेल्दा हेर्नै सक्दिन । एउटा पहिलो, अर्को दोस्रो त हो भन्ने सोच्छु र जान्छु ।’

राकेशले गएको चार वर्षदेखि टेबलटेनिस खेलाडी रबिना देसारलाई पनि बहिनी बनाएर भाइटीका लगाइरहेका छन् । यसैले त उनको घरमा भाइटीकाको दिन ‘टेबलटेनिस खेलाडीहरुको मिनिसम्मेलन’ जस्तो माहोल हुन्छ । तर, खेल्ने र अभ्यास गर्ने बेलाबाहेक उनीहरु खेलकुदका गफ गर्दैनन् । चाडवाडमा त झनै गर्दैनन् ।

भाइटीका र म्ह पूजाको दिनबाहेक अरु सबै दिन अभ्यासमा हुने उनीहरुलाई दुई दिन खुसीको नयाँ मेसो पनि हुन्छ । चाडकै रमाइलोमा मजाले झुम्मिन्छन् र हाँसखेल गर्छन् ।

उपहारमा खेल सामग्री

राकेशलाई ७ वर्षको हुँदादेखिकै तिहार याद छ । बुबा, हजुरबा सबैसँग लहरै बसेर टीका लगाएको, पूजा गरेको सम्झन्छन् । पटकाहरु पड्काउने, चक्र घुमाउने गरेको पनि हिजै जस्तो लाग्छ । देउसीको चाहिँ खासै अनुभव लिन पाएनन् उनले ।

‘देउसी खेल्न चाँही धेरै गएको याद छैन । एकपटक मात्रै गएँ क्यार !’ उनी सुनाउँछन्, म्ह पूजाको दिन पनि रमाइलो लाग्छ । त्यसमा हामी नेवारको नयाँ वर्ष ‘भिन्तुना’ पनि हुने हुनाले विशेष हुन्छ । र्‍यालीमा जाने, पूजा गर्ने गर्छौं ।’

एलिनाका लागि भने भाइटीका नै सबैभन्दा विशेष लाग्छ । ‘दाइबाट उपहार पनि पाइन्छ नि त’ एलिना हाँस्दै भन्छिन्, ‘दाइले धेरैजस्तो खेल सामग्री नै दिनुहुन्छ । खेल्न सजिलो ब्याट लाग्यो भने प्रतियोगिताको लागि भनेर राख्छु । नत्र अभ्यासको बेला पनि चलाउँछु ।’

‘बहिनीलाई खेल सागाग्री नै दिएपछि आफूले पनि प्रयोग गर्न पाइन्छ भनेर त होइन ?’

प्रश्न नसकिँदै राकेशले रोकेर भने, ‘होइन होइन, उनले खेल्ने ब्याटले मैले खेल्न मिल्दैन । मैले खेल्ने ब्याटले उनले खेल्दिनन् । हामी दुवैको ब्याट फरक हुन्छ ।’

भाइटीकाको दिन एलिना दिदीबहिनीसँगै मिलेर राम्ररी मण्डप बनाउँछिन् । जुन म्ह पूजाको दिनको मण्डपभन्दा अलि फरक र ठूलो हुन्छ । भटमास, मकै, दालहरु मण्डपमा मिलाएर राख्छिन्, विधि पुर्‍याएर पूजा गर्छिन् अनि दाइलाई टीका लगाइदिन्छिन् । ‘अँ, हामी सप्तरंगी टीका लगाउँदैनौं । पहिले बाजेदेखिको चलनअनुसार सामान्य रातो टीका मात्रै लगाउँछौं,’ उनले भनिन् ।

खानेकुरामा सौखिन

अरुबेला खानेकुरामा जति सतर्कता अपनाए पनि तिहारमा भने केही नसोची मजाले खान्छिन् एलिना । मीठो लाग्ने सबै कुरा अघाइञ्जेल खाइदिन्छिन् । राकेश पनि त्यस्तै छन् । उनी भन्छन्, ‘खाने बेला सोचिराख्नु हुँदैन । सफासँग पाकेको खानेकुरा खाइहाल्नु पर्छ । बरु त्यसलाई पचाउन शारीरिक व्यायाम अलि बढी गर्ने नि !’

भाइटीकाको दिनमा उनीहरुको घरमा विशेष त नेवारी खानेकुरा नै पाक्छ । डाख्ला, भुटी, अचार सबै नेवारी भोजमा जस्तो नै हुन्छ । एलिना पकाउन मम्मीलाई सहयोग गर्छिन् । ‘एलिना माछा मीठो पकाउँछिन् श्रीमतीले खासै पकाउँदिनन् । उनले पकाए पनि बहिनीले पकाएको जस्तो मीठो हुँदैन,’ दाइले यसो भन्दा मख्ख परेकी एलिनाले पनि थपिहालिन्,, ‘दाइ पनि मासु मीठो पकाउनुहुन्छ ।’

राकेशलाई चुला भनिने किमा करी खुबै मनपर्छ । तर भेन्टा, रामतोरी, लौका, कर्कलो उनी हेर्दा पनि हेर्दैनन् । एलिनालाई अचार अलि बढी मन पर्छ । तर, उनले नखाने भन्ने कुरा छैन । मंगलबार र शनिबार भने मासु खाँदिनन् ।

‘हाम्रोमा कहिलेकाहीँ त तरकारी के पकाउने भन्ने अन्योल हुन्छ । हजुरबा, बुबा, मम्मी, दाइ, भाउजु सबैको चित्त बुझ्ने खानेकुरा भेट्टाउन कम्ता गाह्रो पर्दैन ।’

एलिना र राकेशलाई सम्झना भएदेखि भाइटीका छुटेको थिएन । गएको वर्ष भने उनीहरुको घरमा टीका भएन । उनीहरुलाई धेरै माया गर्ने हजुरआमा बित्नुभएको वर्ष थियो । ‘आˆनो मनभित्रको मान्छे कहिल्यै नर्फकने गरी आफूबाट टाढा जाँदा दुःख लागिहाल्छ । त्यतिबेला चाडबाडको रमाइलोले नछुँदोरहेछ । अझ मलाई त सबैभन्दा धेरै माया हजुरआमाले नै गर्नुहुन्थ्यो’ राकेशले भने ।

दाजु बहिनीको केमेस्ट्री

राकेश र एलिनालाई एकअर्काको धेरै कुरा थाहा छ । मनपर्ने कुरा, मन नपर्ने कुरा, रमाइलो लाग्ने कुरा, नरमाइलो लाग्ने कुरा ।

‘फुर्सदको समयमा कहिँलेकाहीँ परिवार मिलेर घुम्न पनि जान्छौं । पहिले जस्तो ढुक्कले घुम्न जाने समय भने हुँदैन । संयुक्त परिवारमा भएकाले घरका पाका मान्छेहरुलाई पनि हेर्नुपर्ने हुन्छ, फुत्त निस्कन मिल्दैन’ राकेशले भने ।

एलिना बीबीए सकाएर बसिरहेकी छिन् । राकेशले भने एसएलसीपछि पढाइलाई निरन्तरता दिन सकेनन् । पढाइ छोडेर टेबलटेनिस खेल्ने र सिकाउनेतिर लागे ।

सानो बेलामा दाइले सिकाएको हरेक कुरा एलिनालाई अहिले पनि याद छ । ‘अभ्यासमा अहिले पनि सँगै हुन्छौं । तर, सानो बेलामा जस्तो सँगै भने अहिले जाँदैनौं । सबैको आफ्नै सवारी साधन छ । अभ्यासपछि पनि कोही कता कोही कता जानुपर्ने भएकाले सँगै आउने जाने सम्भव हुँदैन,’ राकेशले भने ।

अरु बेलामा जति सिकाए पनि राकेश खेलको बेलामा भने बहिनीलाई सिकाउँदैनन् । उनी भन्छन्, ‘खेल्ने बेला म सधैं सँगै हुन्छु भन्ने हुँदैन नि त । त्यस्तो बेला पनि उसले आफ्नै बलबुतामा जितोस् भन्ने लाग्छ ।’

यसो नगरे हुने !

राकेशले बिजेश्वरी स्कूलमा टेबलटेनिस सिकाउँदा पनि अरु विद्यार्थीलाई भन्दा फरक व्यवहार बहिनीलाई गरेनन् । ‘त्यो बेला त मेरा लागि सबै भाइबहिनी नै हुन् । सबै राम्रो खेल्थे । भित्र मनमा बहिनीले जितोस् भन्ने त हुन्थ्यो नै । तर, मैले बहिनीको समर्थन गर्दा अरु खेलाडी निराश हुन सक्थे,’ उनी भन्छन् ।

बहिनीको सबै कुरा राकेशलाई मन पर्छ । तर, खेल्ने बेला सानोसानो गल्ती दोहोर्‍याएको मन पर्दैन । उनी खेलकै बेला रिसाइदिन्छन् । एलिनालाई भने दाजुको रिसाउने बानी ठीक लाग्दैन ।

‘अहो ! दाइ त असाध्यै रिसाउनु हुन्छ । सानो गल्ती भयो भने असाध्यै गाली गर्नुहुन्छ । एकपटक फाइनल खेल्दा दाइले गाली गरेपछि म रुँदै खेलेकी छु,’ एलिनाले सम्झिइन् ।

राकेश स्पष्टीकरण दिँदै भन्छन्, ‘जहिले जितिरहने मान्छेसँग पनि ९-२ ले पछि परेकी थिइन् । त्यो मलाई सैह्य भएन र गाली गरेर म त्यहाँबाट निस्किएको थिएँ’ राकेशले भने, ‘मैले गाली गरेर गएपछि रुँदै खेलेर पनि उनले जितिन् ।’

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment