Comments Add Comment

अर्बाैंको परियोजनामा खेलकुद परिषदको खेलवाड

२५ कात्तिक, विराटनगर । मोरङको झापा बैजनाथपुरस्थित प्रस्तावित रंगशाला निर्माणको काम लथालिंग बनेको छ । प्रदेश नं. १ कै अत्याधुनिक र सुविधासम्पन्न रंगशालाका रुपमा यसलाई हेरिएको थियो ।

रंगशालाको लागि दुई दशकअघि नै जग्गा खरिद गरिए पनि पर्याप्त बजेट र समन्वयको अभावमा निर्माण रोकिएको हो । तर, उक्त जग्गामा संरचना निर्माणको काम अलपत्र परेपछि स्थानीयले गौचरणको रुपमा प्रयोग गर्न थालेका छन् ।

राष्ट्रिय खेलकुद परिषदले २०५५ सालमा ८५ लाख लागतमा १५ विगाहा १५ धुर जग्गा रंगशालाका लागि खरिद गरेको थियो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अस्थाई संरचना बनाएर क्रिकेट, सुटिङ लगायतका केही खेलहरु सोही मैदानमा गराइयो । तर, त्यसयता यहाँ कुनै प्रतियोगिता आयोजना भएको छैन ।

तत्कालीन समयमा विराटनगरस्थित शहिद रंगशालालाई अभ्यास गर्ने मैदानका रुपमा मात्रै प्रयोग गर्ने हिसाबले बैजनाथपुरको रंगशालाको गुरु योजनाअघि बढाइएको हो । गुरुयोजना अनुसार रंगशाला गर्न अरबौं बजेट चाहिने भए पनि सरकारले वाषिर्क केही लाखका दरले मात्रै निकासा गरिरहेको खेलकुदका पदाधिकारीको भनाइ छ ।

दुई दशकको अवधिमा सो रंगशालामा दुई वटा पोल ठड्याइएएका छन् । यसैगरी क्रिकेटको खेल्न जालीले घेरेर कामचलाउ मैदान बनाइएको छ । त्यसबाहेक अरु कुनै संरचना बन्न सकेका छैनन् । बरु गाई-बस्तु चराउनलाई भने काइदाको ‘गौचरण’ भएको छ । चेन्जिङ रुममा नै गाइवस्तु बाँध्ने गरिएको छ भने मैदानमा जताततै वीयरको वोतल र अन्य फोहोर भेटिन्छ ।

किन आएन वजेट ?

छिल्लो समय राष्ट्रिय खेलकुद परिषदले नै बैजनाथपुरको प्रस्तावित रंगशालालाई प्राथमिकतामा राख्न छाडेको छ । परिषदको उदासिनताले गर्दा नै रंगशालाको लागि आवश्यक बजेट विनियोजन हुन नसकेको यस क्षेत्रका खेलप्रेमीहरु बताउँछन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्ट सुनसरीको इटहरी निवासी भएकाले उनी यो प्रस्तावित रंगशालालाई महत्व नदिइएको यहाँका खेलप्रेमीको दाबी छ । हुन पनि बिष्टको गृृहनगरमा रहेको इटहरी रंगशाला निर्माणका लागि सरकारले २१ करोड छुट्याउँदा विराटनगरको यो रंगशालाका लागि सरकारले ५० लाख मात्रै छुट्याएको थियो ।

डिजाइन नै फेरवदल

रंगशाला निर्माणको गुरु योजना अनुसार काम हुन सकेको छैन । जग्गा खरिद गर्दा प्रस्तावित डिजाइन नै परिवर्तन गरिएको छ ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयका प्रमुख टेकप्रसाद कट्टेल भन्छन्, ‘जहाँ फुटबल बनाउने भनिएको छ, त्यहाँ क्रिकेट पिचिङको काम भयो, क्रिकेटको ठाउँमा फुटबल मैदान प्रस्ताव गरिएको छ ।’

स्वीमिङ पुल बनाउने ठाउँमा सुटिङ रुम बनाइएको उनले जानकारी दिए । सरकार परिवर्तन भएसँगै सदस्य सचिव परिवर्तन हुँदा योजना गिजोलिएको कट्टेलको भनाई छ । ‘अन्तिम समयमा वजेट आउँछ, त्यो पनि नगण्य,’ कट्टेलले भने ।

बिराटनगर १ नम्बर प्रदेशको स्थायी राजधानी दाबी गर्दै आएको सहर हो । यहाँ खेलकर्मी र खेलप्रेमीको संख्या उल्लेख्य छ । तर, रंगशाला निर्माणले गति लिन नसक्दा उनीहरु हतोत्साही बनेको बरिष्ठ भलिबल प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरी बताउँछन् ।

कस्तो थियो गुरुयोजना ?

गुरुयोजनामा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम निर्माण गर्ने भनिएको थियो । यस्तै, ४ सय मिटर ट्रयाकिङ फिल्ड, अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान, कबड्डी मैदान, हक्की, बहुउद्देश्यीय कभर्ड हल, बास्केटबल, भलिबल, सुटिङ हल, सफ्ट टेनिस, स्वीमिङ पुल, चिल्ड्रेन पार्क, चमेनागृह लगायतका संरचनाहरु गुरुयोजनामा थिए ।

तर, गुरुयोजना अनुसार कति लागत पर्न जान्छ भन्नेमा पूर्वाञ्चल खेलकुद विकास समिति पनि अनभिज्ञ छ ।

‘अरबौं वजेट लाग्न सक्छ, तर अहिलेसम्म बजेटको ठोस प्रस्ताव गरिएको छैन,’ समितिका अध्यक्ष रविन नगरकोटीले भने, ‘गुरुयोजना अनुसारको काम गर्न ठूलो लगानी आउनु पर्छ । सरकारको क्षमता छ जस्तो लाग्दैन, दाता नै गुहार्नुपर्ने हुन्छ ।’

उनका अनुसार भौतिक पूर्वाधार निर्माणका लागि भन्दै विभिन्न चरणमा थोरै-थोरै बजेट आउने गरेको छ । जग्गा घेराबारा, कम्पाउण्ड वाल, एकतले कार्यालय भवन, क्रिकेट पिच र तारजाली, प्याराफिट निर्माणका लागि बजेट आएको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा भएको खर्चसमेत जोड्दा हालसम्म लगभग ७ करोड बजेट खर्च भएको समितिका अध्यक्ष नगरकोटीको भनाइ छ ।

भलिबल राष्ट्रिय टिमका पूर्व कप्तान ऋषिराज आचार्य भने रंगशाला निर्माणका क्रममा अनियमितता भइरहेको आशंका गर्छन् । ‘यत्रो रकम खर्च भइसक्यो तर, संरचना केही देखिँदैन । पैसा कहाँ गयो त ?’ उनले प्रश्न गरे ।

बैजनाथपुर रंगशालाका लागि प्रदेश सरकारले यस वर्ष ५ करोड विनियोजन गरेको छ । त्यसैगरी विराटनगर महानगरपालिकाले पनि २ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै ३ वर्षमा निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ १७ करोडको लागत अनुमान गरेर बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने प्रस्ताव राष्ट्रिय खेलकुद परिषदमा पेश गरिएको छ ।

करोडौं लगानी भइसकेको र उपयुक्त स्थानमा रहेको यो खेलकुद मैदानलाई व्यवस्थित गर्नुपर्ने विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले बताए ।निर्माणाधीन रंगशालामा गतिलो सुरक्षा प्रबन्ध मिलाइएको छैन । सुरक्षाका लागि मासिक ३ हजार रुपैया दिएर एक परिवार राखिएको छ ।

विराटनगर रंगशालाको बिकल्प

विराटनगरमा भएको सहिद रंगशाला साँघुरो भइसकेको छ । अन्य खेलकुदका संरचना पर्याप्त छैन । निर्माण गर्ने स्थानको पनि अभाव छ । त्यसैले वैजनाथपुर रंगशालाको विकल्प देखिदैन ।

समितिका कार्यालय प्रमुख कट्टेलले मोरङमा खेलकुदको संरचना नहुँदा खेलकुद प्रतियोगिता आयोजना गर्नदेखि खेल प्रशिक्षण गराउन पनि निक्कै कठिनाइ हुने गरेको बताए ।

उनले भने, ‘बक्सिङको रिङ छ तर, हल छैन । कराँते र ब्याडमिन्टन एकै ठाउँमा खेल्नुपर्ने अवस्था छ । मार्सल आर्टस्को १०/१५ वटा खेलका लागि प्रशिक्षण गराउने संरचना छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment