Comments Add Comment

बारा महोत्सवको तयारी पूरा

२९ कात्तिक, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित दुधौरा पुलको किनारमा महोत्सव हुने भएको छ । भोलि -शुक्रबार) देखि सुुरु हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला -बारा महोत्सव) को तयारी पूरा भएको आयोजन संस्थाले जनाएको छ ।

महोत्सव आयोजक संस्था एस फाउण्डेसन अफ नेपालका अध्यक्ष वेदप्रसाद भट्टले पत्रकार सम्मेलनको आयोजना गरी दुधौरा पुलको किनारलाई रिभर पार्क निर्माणको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

कात्तिक ३० गतेदेखि मंसिर १० गतेसम्म आयोजना हुने महोत्सवको उदेश्य रिभर पार्कसहित जिल्लाको कृषि उत्पादनको बजारीकरण तथा प्रवर्द्धन, औद्योगिक उत्पादनको प्रदर्शनी र पर्यटन प्रवर्द्धन गर्ने रहेको छ ।

करिब ५८ लाखको अनुमानित लागत रहेको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिएको अध्यक्ष भट्टले जानकारी दिए ।

महोत्सव अवधीभरी कृषी, पर्यटन र औद्योगिक क्षेत्रको विषयमा दर्शकले जानकारी लिन सक्ने गरी तयारी भइरहेको अध्यक्ष भट्टले बताए । महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सव स्थलमा जिल्लाभित्र रहेको कृषीको अवस्था र सम्भावनाको बिषयमा विज्ञसंग जानकारी लिन सक्ने गरी ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

यसैगरी जिल्लाको पर्यटकीय स्थलका बारेमा तस्विर, भिडियो र ब्रोसरबाट जानकारी गराउने तयारी भइरहेको अध्यक्ष भट्टले बताए ।

महोत्सवको उद्घाटन उद्योग तथा आपूर्ति मन्त्री मातृका यादवले गर्ने कार्यक्रम तय भएको सञ्चार संयोजक प्रदीप गौतमले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।

आयोजकका अनुसार शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल के. क्षेत्री, दिपक लिम्बु, मिलन लामा, टिका प्रसाई, प्रिती आले, हास्य कलाकार दिनेश काफ्ले, नेपाल आइडलका निशान भट्टराईलगायत ३० जना भन्दा बढी कलाकारको प्रस्तुति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment