Comments Add Comment

यही आत्मविश्वास रहे नेपाल साफ च्याम्पियन बन्छ : प्रशिक्षक खड्का

२९ कात्तिक, काठमाडौं । टोकियो २०२० ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम बिहीबार स्वदेश फर्किएको छ ।

नेपाली टिमलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

निकै उत्साहित देखिएका प्रशिक्षक हरि खड्काले यो नेपालको लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै आफ्नो योजना सफल भएको प्रतिक्रिया दिए । उनले भने, ‘भारतसँग हामीले दिमागले खेल्यौं । तर पनि एक गोलको लिडिङ गर्दा गर्दै पनि बराबरीमा रोकियौं । म्यानमारका मुख्य खेलाडीविरुद्ध हामीले प्लान गरेका थियौं त्यसैअनुसार खेलाडीले खेले । सबै एकपछि अर्को खेलमा राम्रो खेल्दै गए । यसको श्रेय खेलाडीलाई नै जान्छ ।’

त्यसो त नेपाली महिला टिमले यो पटकको साफ च्याम्पियनसिप फुटबलको उपाधि उचाल्ने लक्ष्य बनाएको छ । त्यसको तयारीको रुपमा पनि यो छनोटलाई हेरिएको थियो । यसबारे प्रशिक्षक खड्का यसो भन्छन् , ‘यो छनोट खेलले खेलाडीमा आत्मविश्वास उच्च भएको छ । यही आत्मविश्वासलाई कायम राख्दै खेल्यो भने साफमा अवश्य पनि राम्रो नतिजा आउँछ ।’

उनी थप्छन्, ‘राम्रो टिमसँग मैत्रीपूर्ण खेल खेल्दै अघि बढ्नुपर्छ जस्तो लाग्छ । हाम्रो लक्ष्य भनेकै साफ च्याम्पियनसिप च्याम्पियन हुनु हो ।’

यता, नेपालको पहिलो पटक कप्तानको जिम्मेवारी निभाएकी निरु थापा अन्तिम खेलको अन्तिम समयमा चुक्दा तेस्रो हुनु परेको बताइन् । ‘भारत पहिले जस्तो भए पनि बंगलादेश टिम धेरै राम्रो भएको छ । बंगलादेशसँग हाम्रो लक्ष्यअनुसारको खेल खेल्न सकेनौं । अन्तिम समयमा हामी चुक्यौ’ उनले भनिन् ।

म्यानमारमा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको पहिलो राउण्डमा नेपाल उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले समूह सी ३ खेलबाट ३ अंक नै बनाउँदै तेस्रो भएको थियो । तेस्रो स्थानमा भएका उत्कृष्ट २ टिमले दोस्रो चरणमा पुग्ने प्रावधान थियो । यसैअनुसार नेपाल ओलम्पिकको दोस्रो चरणमा छनोट हुन सफल भएको हो ।

नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि नेपाल भन्दा निकै अब्बल टिम आयोजक म्यानमारलाई १–१ गोलकै बराबरी खेल्दै अंक बाँडेको थियो । अन्तिम तथा तेस्रो खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै फेरी अंक बाँडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment