Comments Add Comment

कोलम्बो प्रोसेसको सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै आज सकिने

३० कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार पठाउने राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार सकिँदैछ ।

विहिबार मञ्चमा आवद्ध १२ देशका उच्च अधिकारी स्तरीय बैठकले तयार पारेको घोषणापत्रलाई अन्तिम रुप दिन आज सदस्य राष्ट्रका मन्त्री स्तरीय बैठक बस्दैछ ।

मन्त्रीस्तरीय बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११ बजे होटल शोल्टीमा उद्घाटन गर्ने कार्यक्रम रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रम मन्त्री गोकर्ण विष्टले गर्नेछन् ।  दुई दिने सम्मेलन अन्तर्गत पहिलो दिन विहिबारको बैठकमा सदस्य राष्ट्रका उच्च अधिकारीहरुले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीका विषयमा छलफल गरेका थिए ।

बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र सम्झौतामा आधारित श्रमका विषयमा सम्बन्धित मुलुकबीच छलफल हुँदै आएको छ ।

कोलम्बो प्रोेसेसमा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, इन्डोनेशिया, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम गरी १२ देश र ८ पर्यवेक्षक राष्ट्र आवद्ध छन् ।

नेपाल २९ मार्च २०१७ देखि कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रका रुपमा रहँदै आएको छ । सन् २००३ मा श्रीलंकामा आयोजना भएको वैदेशिक रोजगारीका लागि कामदार पठाउने एसियाका स्रोत मुलुकका श्रम आप्रवासन मन्त्रालय स्तरीय परामर्श कार्यक्रम पश्चात यो संगठनको स्थापना भएको हो ।

कोलम्बो प्रोसेसको मन्त्री स्तरीय बैठक प्रत्येक दुई-दुई वर्षमा र श्रम सचिव स्तरीय बैठक हरेक वर्ष हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment