Comments Add Comment

नेपाली कफीः न आत्मनिर्भर, न आशलाग्दो उत्पादन

१ मंसिर, पोखरा । पछिल्लो एक दशकदेखि नै सुनिँदै आएको शब्द हो, ‘नेपालमा कफीको प्रचूर सम्भावना छ ।’ केही वर्षयता ‘विदेशी बजारमा नेपाली कफीको माग बढ्दो’ शीर्षकमा समाचार छाइरहेका छन् । जापान, जर्मनी, कोरिया, अमेरिका लगायतका देशमा नेपाली कफीको माग बढिरहेको सरकारी अधिकारीहरु बताउँछन् । नेपाली कफीलाई उच्चकोटीको मानिँदै आएको छ । तर, उत्पादन र कारोबारका हिसाबले नेपाली कफी धेरै पछाडि रहेको तथ्यांकले देखाउँछ ।

नेपाली कफीको न आश लाग्दो उत्पादन छ न निर्यात बढ्दो छ । नेपालमा महंगो विदेशी कफी आयात हुन्छ र सस्तोमा नेपाली कफी निर्यात हुन्छ । गएको आर्थिक वर्षमा ९ करोड ३७ लाख २५ हजार रुपैयाँ बराबरको कफी आयात गर्दा ६ करोड ५८ लाख ९१ हजार रुपैयाँको कफी निर्यात भएको छ । गत वर्षको तुलनामा कफीको आयात ६४ प्रतिशतले बढेको छ भने ११ प्रतिशतले निर्यात घटेको तथ्यांकले देखाएको छ ।

प्रचुर सम्भावना भएको भनिएको नेपाली कफीको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भनेे उत्पादन, बिस्तार, निर्यात निकै झिनो देखिन्छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालबाट २ करोड ४९ लाख ९१ हजार रुपैयाँ बराबरको ६३  मेटि्रक टन कफी निर्यात गर्दा ९ करोड ९१ लाख ७६ हजार रुपैयाँ बराबरको कफी आयात भएको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा निर्यात बढेर १ सय ५ मेटि्रक टन पुग्यो । त्यसबाट नेपालले जम्मा ५ करोड ५५ लाख रुपैयाँ पाएको थियो । तर, त्योभन्दा बढी रुपैयाँको कफी नेपालमा आयात भएको थियो । नेपालले १ सय ११ मेटि्रक टन कफी १० करोड लाख ७९ लाख रुपैयाँको कफी भित्राएको तथ्यांकले देखाउँछ । त्योभन्दा पछिल्लो वर्ष नेपालले खासै फड्को मारेन । ५ करोड ४० लाख  रुपैयाँको ९९ मेटि्रक टन कफी विदेश पठाएर ८ करोड ४५ लाख रुपैयाँको ८४ मेटि्रक टन कफी निर्यात गरेको छ । यो तथ्यांक हेर्दा पनि नेपालले जुन हिसाबले चर्चा भएअनुसार उल्लेख्य कफीमा फड्को मार्नु पर्ने हो त्यो देखिँदैन ।

प्रशस्त सम्भावना भएको भनिएको नेपाली कफीको उत्पादन बिस्तार र विकास किन हुन सकेन त ? राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम भन्छन्, ‘नेपाली कफी उच्च कोटीको छ भन्नेमा कुनै शंका छैन तर खुद्रे किसानबाट ठूलो परिवर्तन खोज्नु सान्दर्भिक हुँदैन । ठूला लगानीकर्ता नै यसतर्फ नआइ सम्भव छैन ।’

नेपाली कफी कोरिया र जर्मनीमा

झन्डै ८० वर्ष पहिले गुल्मीबाट सुरु भएको कफी खेती अहिले ४३ जिल्लामा पुगिसकेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ५ सय १३ मेटि्रक टन कफी उत्पादन हुन्छ । यो पछिल्लो अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । तर यो साह्रै थोरै र सम्भावनाभन्दा कम भएको बताउँछन्, कार्यकारी निर्देशक गौतम ।

गुल्मीको सहकारीबाट कफी कोरिया निर्यात हुन्छ भने ललितपुरबाट जर्मनी जान्छ । सिन्धुपाल्चोकबाट कोरिया जान्छ भने अन्य निजीस्तरबाट पनि जापान, युरोपियन मुलुकदेखि अमेरिकासम्म पुग्ने कफी बोर्ड बताउँछ । १५ डलरसम्म नेपाली कफी बिकीरहेको कार्यकारी निर्देशक गौतम बताउँछन् । कफी उत्पादनको मूल्य र बजारको समस्या नरहे पनि उल्लेख्य वृद्धि नभएको उनको भनाइ छ । कफीमाथि नेपालमा अनुसन्धान नै नभएको गौतम बताउँछन् ।

‘रिसर्चबिना कुनै पनि कुरा व्यावसायिक बन्दैन । त्यसका लागि सरकारले नै चासो देखाउनुपर्छ,’ उनले भने, ‘संरक्षण र प्रवर्द्धन नगर्ने, रिसर्च गरेर यसरी गर नभन्ने अनि कफी रोप भनेरमात्रै हुँदैन । यो राज्यको रकमको दुरुपयोगमात्रै हो ।’ नेपालमा कुरा भएको तर काम हुन नसकेको उनी आफैं स्वीकार्छन् ।

कम कफी निर्यात हुनु र बढी आयात हुनुको पछाडि नेपालमा कफी कल्चर भने बढेको कार्यकारी निर्देशक गौतमको बुझाइ छ ।

साना किसानबाट माग पूरा हुँदैन

सम्भावना भएर पनि सानातिना किसानमार्फत कफीको विकास हुन नसक्ने कार्यकारी निर्देशक गौतम बताउँछन् । त्यसका लागि ठूला लगानीकर्ता नै यो क्षेत्रमा भित्राउनुपर्ने उनको भनाइ छ ।

पुस, माघ महिनातिर ठूला लगानीकर्तालाई कफीमा लगानीका लागि आकर्षित गर्ने गरी इन्भेस्टमेन्ट फोरम बनाउने कार्यकारी निर्देशक गौतमले बताए । ‘नेपालको सम्भावना र मागलाई पूरा गर्न सानातिना किसान र सानातिना उत्पादनले हुँदैन,’ कार्यकारी निर्देशक गौतमले भने, ‘आज जग्गा जमिन बाँझा हुँदैछन् । माग बढ्दो छ तर ठूलो लगानी छैन ।’

प्रधानमन्त्रीबाट नै घोषणा गरेर इन्भेस्टमेन्ट कार्यक्रम गर्ने योजना गौतमले सुनाए । कफीको उत्पादनको क्षेत्र र अवस्था पहिचान गरेर लगानीका लागि आहृवान गर्ने गौतमको भनाइ छ । ‘कति निर्यात गर्छौं, कति आयात हुन्छ, कति क्षेत्रफलमा उत्पादन हुन्छ भन्ने सबै जानकारी दिएर लगानीका लागि आहृवान गछौर्ं,’ गौतमले भने, ‘नेपालबाट विदेश निर्यात हुने मुख्य बस्तुमा कफी पर्छ । त्यसको अवसर र सम्भावना बुझाउने काम गर्नेछौं ।’

कफी खेती गर्छु भन्नेलाई बोर्डले लगानी पनि गर्ने उनको भनाइ छ । ‘हामी बाटो, बिजुली, सिँचाइ दिन्छौं । यसमा ठूला लगानीकर्ता आएर लगानी गर्नुहोस् भन्ने हाम्रो आहृवान हो,’ गौतमले भने ।  जंगल क्षेत्र प्रयोग गरी उत्पादनमा वृद्धि गर्न सक्ने सम्भावना भए पनि सरकारले यस्तो उत्पादक कार्यमा चासो नदिएको सरोकारवालाको गुनासो छ ।

उत्पादनशील जमिनको ४ प्रतिशतमा मात्रै खेती

कफी खेति गर्ने किसान बढेका छन् । खेती हुने क्षेत्रफल पनि बढेको छ । तर उत्पादनशील क्षेत्रफलको अति कम जमिनमामात्रै कफी खेती हुने गरेको छ । नेापलमा कफी खेती गर्न अति उत्तम मानिएको जग्गाको ४ प्रतिशत जमिनमा मात्र कफी खेती हुने गरेको तथ्यांकले देखाउँछ ।

नेपालमा ११ लाख ९८ हजार, ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिन्छ । त्यसमध्ये पनि ६१ हजार २ सय २८ हेक्टर जमिन कफी खेतीका लागि उत्तम मानिएको छ । अति उत्तम मानिएको क्षेत्रमा व्यावसायिक र प्राविधिक हिसाबले कफी खेतीलाई बिस्तार तथा विकास गर्ने हो भने ठूलो फड्को मार्न सकिने कार्यकारी निर्देशक गौतमको भनाइ छ । ‘उत्पादन र उत्पादकत्व वृद्धिसँगै नेपालको आफ्नै कफीलाई विशिष्टीकरण गर्न गुणस्तरमा थप सुधार गर्दै लैजानु पर्ने देखिन्छ,’ क्षेत्रीय चिया तथा कफी विकास बोर्डका लक्ष्मण पोखरेलले भने ।

नेपालमा अहिले ३२ हजार कफी उत्पादक किसान छन् । कफी बिस्तारका लागि बोर्डमा जम्मा ४० लाख रुपैयाँ लगानी गरेको छ । देशभर यसका १० कार्यालयमा ९३ जना कर्मचारीको दरबन्दी छ तर ७३ जना कर्मचारी छन् । बोर्डमा जम्मा बजेट ९ करोड रुपैयाँ रहेको कार्यकारी गौतम बताउँछन् । सरकारको कम लगानी र उत्पादकत्व बढाउने खालको कार्यक्रम ल्याउन नसक्नुको कारण पनि कफीको विकास नभएको उनको भनाइ छ ।

नेपालमा २ जातको कफी अरेविका र रोबस्टा पाइने गरेपनि अरेविका जातको कफी उत्पादन गर्ने गरिएको छ । किसानलाई कफी उत्पादनमा आकर्षित गराउन, प्राविधिक सहयोग, किसानवाट उत्पादित कफीको उचित मूल्यांकन तथा कृषि सामाग्री, पल्पर मेसिन लगायत सहयोग गर्दै आएको छ ।

५ जिल्ला कफीको सुपर जोन

सरकारले ४ जिल्लालाई कफी उत्पादनको सुपर जोन बनाउँदै छ । कफीको उच्च उत्पादन भएका जिल्लालाई सुपर जोन बनाएर विकास गर्ने योजना छ ।

गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा जिल्लालाई सुपर जोनका रुपमा विकास गर्ने कार्यकारी निर्देशक गौतमले बताए । ‘कफीमा व्यावसायिकता ल्याउनका लागि सुपर जोन कार्यक्रम ल्याइएको छ,’ गौतमले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यी जिल्लालाई सुपर जोनका रुपमा विकास गर्न लागिएको हो । कफीमा पनि चिया क्षेत्रको जस्तै ठूला लगानी आकर्षित गरी स्टेट फार्मिङलाई जोड दिने उनको भनाइ छ । समुद्रीसतहको आठ सयदेखि १४ सय मिटरको उचाइमा कफी उत्पादन हुन्छ ।

मंसिर १ देखि नयाँ मूल्य

मंसिर १ गतेदेखि लागु हुने गरी कच्चा कफीको नयाँ मूल्य निर्धारण गरिएको छ । यसअघि ८३ रुपैयाँ रहेको ए ग्रेडको फ्रेस चेरी कफीको मूल्य २ रुपैयाँ बढाइएको छ । बी ग्रेडको चेरीको कफीमा पनि २ रुपैयाँ बढेर ८० रुपैयाँ पुगेको छ ।

ए ग्रेडको पार्चमेन्ट कफीको मूल्य १० रुपैयाँ बढेर ५ सय २५ रुपैयाँ पुगेको छ । बी ग्रेडको पार्चमेन्ट कफीमा पनि १० रुपैयाँ बढेर ४ सय १० रुपैयाँ पुगेको छ । ड्राइचेरी कफीको मूल्य भने गएको वर्षसँग समान छ ।

१४ औं संस्करणको राष्ट्रिय कफी दिवस शनिबार पोखरामा मनाइने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा कफी दिवस मनाउन लागिएको हो ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई साकार पार्न प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको वृहत अभियानमा जुटौं भन्ने मूल नारासहित यसपटकको दिवस मनाइँदै छ । कृषिमन्त्री चन्द्रदेव खनालको उपस्थितिमा प्रदेशको कृषि मनत्रालय, देशका कफी सहकारी, किसान र सरोकारवालाको उपस्थितिमा पोखरामा दिवस मनाउन लागिएको बोर्डका कार्यकारी निर्देशक गौतमले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment