Comments Add Comment

क्वार्टरमा बस्ने स्वास्थ्यकर्मीकै लापरबाहीले नारायणी अस्पताल दुर्गन्ध !

९ मंसिर, वीरगञ्ज । नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नारायणी उपक्षेत्रीय अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवास सुविधा (क्वार्टर) दिइएको छ । कतिपय चिकित्सक स्वास्थ्यकर्मीहरु अस्पताल हाताभित्र रहेको क्वार्टरमा बस्दै आएका छन् ।

अस्पतालले दिएको क्वार्टरमा परिवारसहित बस्ने चिकित्सक र कर्मचारीले सरसफाइमा चासो नदिँदा अस्पताल परिसर नै फोहोर भएको छ । क्वार्टरमा बस्नेहरुले जथाभावी फोहोर फाल्ने गरेका छन् भने भवनहरुमा पनि झार उम्रिएका छन् ।

अस्पतालमा केहि वर्ष अघि निर्माण भएको ३२ परिवार अट्ने ४ तल्ले क्वार्टर भवन, प्रसुति गृहतर्फ १६ परिवार र ८ परिवार अटने छुट्टाछुट्टै क्वार्टर छ । त्यसैगरी चिकित्सकहरुका लागि एक दर्जन भन्दा बढी क्वार्टरहरु रहेको अस्पतालका कर्मचारी दामोदर अघिकारी बताउँछन् ।

वीरगञ्ज महानगरपालिकाका सरसफाइ कर्मचारी सुरेश राम अस्पताल परिसरमा चारैतिर फोहोर नै फोहोर देखिएको बताए । ‘हामी त बाहिर सडकको फोहोर सफा गर्ने हो, आज सरसफाइ अभियानका कारण भित्र छिरेको निकै फोहोर देखियो’ उनले भने ।

व्यवस्थित वीरगञ्ज अभियानका अध्यक्ष प्रकाश खेतान पटक पटक गएर क्वार्टरमा बस्ने कर्मचारीहरुलाई सम्झाउँदा समेत अटेर गरेको बताउँछन् । ‘अस्पताल भन्ने ठाउँ त स्वर्ग जस्तो हुनुपर्ने हो, विरामी आउने वित्तिकै देखेर रोग निको हुनुपर्ने हो तर यहाँ त विरामी आयो भने झनै विरामी पर्छ । सरसफाइको अवस्था एकदमै दयनीय छ’ उनले भने ‘क्वार्टरमा बस्ने माथिबाट तल फोहोर फाल्ने रहेछन् ।’

त्यसो त अस्पतालमा सरसफाइ कर्मचारी नभएका होइनन्, उनीहरुले जसो तसो अस्पतालको सरसफाई गर्ने गरेको भएपनि क्वार्टर भएको क्षेत्रको सरसफाइ गर्दैनन् ।

वीरगञ्ज महानगरपालिका वडा नं ४ का अध्यक्ष जगत साह कानु स्वास्थ्य क्षेत्रका कर्मचारीहरु अरुलाई सरसफाइको बारेमा सचेत गराउनुपर्नेले जथाभावी फोहोर गर्नु लाजमर्दो कुरा भएको बताउँछन् ‘अस्पतालले सरसफाइ कर्मचारी राखेको छ, कसरी व्यवस्थापन गर्नुहुन्छ थाहा छैन, जताततै फोहोर नै फोहोर देखिन्छ,’ उनले भने ‘अरुलाई सरसफाइको बारेमा सिकाउनेहरु नै आफ्नो क्वार्टरको अगाडि पछाडि फोहोर गरेर बस्छन् ।’

अस्पताल परिसरलाई सफा राख्न लागि परेको मेडिकल सुपरीटेन्डेन्ट एनामुल हक दावी गर्छन् । ‘नियमित सरसफाइ भइरहेको छ, बाहिरबाट समेत सहयोग पाएका छौं । मात्र कोठा सफा राखेर मात्रै हुन्न पुरै क्वार्टर सफा राख्नुपर्छ’, उनले भने ‘सबैलाई सरसफाइका बारेमा जानकारी छ । तर पनि लापरबाही गर्छन्, अझै कसरी सुधार गर्न सकिन्छ कोशिस गरिरहेका छौं ।’

अस्पताल परिसरमा अहिले १८ वटा फोहोर राख्ने ड्रम छ । अब थप ३२ वटा राख्ने प्रक्रिया सुरु भएको उनले बताए ।

व्यवस्थित वीरगञ्ज अभियानद्वारा दुई पटक सफाइ

सातामा एक दिन सार्वजनिक स्थानको सरसफाइ गर्न थालेको व्यवस्थित वीरगञ्ज अभियानले दुई पटक अस्पतालको सरसफाइ गरिसकेको छ । अस्पताल परिसरमा रहेको झाडी बुट्यान फाँड्नुको साथै झाडु लगाएर अस्पताल हाताभित्र सरसफाइ गरिएको हो । खाली जमिनमा झाडी बनेका कारण महानगरपालिकाबाट डोजर लगेर समेत सफा गर्नुपरेको अभियन्ताहरु बताउँछन् ।

नगरपालिकाका सरसफाई कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, व्यवस्थित वीरगञ्ज अभियानका अभियन्ताहरुले अस्पताल परिसरको सरसफाइ गरेका हुन् । उनीहरुले अस्पताल क्वार्टरमा बस्ने स्वास्थ्यकर्मीहरुलाई आफ्नो कोठा मात्रै नभएर क्वार्टर परिसरसमेत सफा राख्न आग्रह गर्ने गरेका छन् । तर पनि क्वार्टरमा बस्ने कर्मचारीहरुले एकले अर्कोलाई फोहोर गर्ने गरेको भन्दै दोषारोपण गरेर बस्ने गरेका छन् ।

अस्पतालमा भएका कर्मचारीले सफाइमा ध्यान नदिएका कारण समय समयमा बाहिरबाट मानिसहरु गएर सफाइ गर्नुपर्ने अवस्था आएको व्यवस्थित वीरगञ्ज अभियानका सदस्य रियाज अन्सारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment