+
+

यज्ञराज आईसीयुमा, दूर्गादेवीलाई पीरमाथि पीर !

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १० गते १९:०२

१० मंसिर, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायका लागि लड्दा लड्दै आमा दुर्गादेवीका १२४ दिन बितिसकेका छन् । उनी अहिले पतिको उपचारका क्रममा टिचिङ अस्पतालमा छिन् । मानसिक अवस्था बिग्रिएका पति यज्ञराज आईसीसीयूमा छन् । उनको खुट्टामा प्लास्टर गरिएको छ ।

संघर्षमा दिन बित्तै जाँदा कमजोर बन्दै गएको न्यायको आश त एकातिर छँदै छ, त्यही न्यायको लडाइँमा लागिरहेका श्रीमान यज्ञराजको स्वास्थ्य बिग्रिएपछि दुर्गादेवीलाई पीरमाथि पीर थपिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको घटनामा दोषी पत्ता नलाग्नुले न्यायविहीन राज्यको आभास गरिरहेकी दुर्गादेवीले हिम्मत नहारी लडिरहेकी छिन् । अब उनलाई सावित गर्नु छ ‘न्याय पाउनुभन्दा ‘बौलाउनु’ निको होइन ।’

डाक्टर भन्छन्– तनावकै कारण मानसिक समस्या

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि कात्तिक २५ गते आइतबारदेखि धर्नामा बसेका श्रीमानले गएको हप्तादेखि केही अस्वाभाविक व्यवहार देखाउन थाले । छोरीको हत्यारा पत्ता लागोस् भनेर न्यायको आवाज निकालिरहेका यज्ञराजको अस्वाभाविक बोली र व्यवहारले दुर्गादेवीको मन झनै कुँडियो ।

‘यस्तो अवस्थामा श्रीमानको आधार चाहिन्छ नै, छोरीको न्यायको लागि भन्दाभन्दै श्रीमानको बिकराल अवस्था आयो । अब त हामी के गरी सम्हालिउँला’ सोमबार त्रिवि शिक्षण अस्पतालमा भेटिएकी दुर्गादेवीले मन भारी पारेर भनिन् ।

आइतबार बेलुका कञ्चनपुरबाट काठमाडौं उपचारका लागि ल्याइएका यज्ञराजको स्वास्थ्यमा सुधार भइरहेको छ । उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनमा तनावकै कारण मानसिक समस्या देखिएको हो ।

‘धेरै जटिलता छैन, स्ट्रेसका कारण नै हो, अब हिजो बेलुका यहाँ ल्याउँदाभन्दा सुधार भएको छ । बाँकी कुरा सबै रिपोर्ट आएपछि नै थाहा होला’ उपचारमा संलग्न डाक्टरले भने, ‘हिजो इमर्जेन्सीमा राख्दा पनि मान्छेको असाध्यै भिड भयो, अरु ठाउँमा राख्दा मानिसहरुको भिड हुने सम्भावना देखेर आईसीसीयुमा राखिएको हो । ठाउँ अलग्गै भएकाले उपचारमा सजिलो हुन्छ ।’

मानसिक अवस्था बिग्रनुअघि यज्ञराजले छोरीको हत्यारा पत्ता नलागेकोमा आपत्ति प्रकट गर्दै भनेका थिए, ‘कि त सक्दैनौँ भन्दिनुपर्‍यो, होइन भने छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउनुपर्‍यो ।’

अहिले त उनी त्यही भन्न सक्ने अवस्थामा पनि छैनन् । ‘मलाई अहिले अरु त आराम छ, तर हेर्नुस् न कसले खुट्टामा हानिदिएछ’ प्लास्टर गरेको खुट्टा देखाउँदै अस्पतालको बेडबाट उनले यत्ति भने अनि एकोहोरो अनुहारमा हेरिरहे ।

दुर्गादेवीमा बढ्दो धपेडी

सोमबार दुर्गादेवी घरी आईसीसीयुको बेड नम्बर २ मा राखिएका यज्ञराजलाई हेर्न पुग्थिन्, घरी बाहिर आएर यताउती गर्थिन् । निरन्तर बजिरहेको मोबाइल झिँझो नमानी उठाउँदै भन्थिन्, ‘हुन्छ, आउनुस् न, यहीँ अस्पतालमा छौँ ।’

फोनमार्फत आउने आश्वासन होस्, या भेटेरै कसैले दिएका सान्त्वना र हौसला, उनले सबै बुझिरहेकी छिन् । न्यायको आश मरेको छैन । तर, डर बढेको छ । न्याय नपाइएला भन्ने डरसँगै श्रीमानलाई केही भइदेला कि भन्ने पीरले थिचेको छ ।

‘सात दिन अघिदेखि मनपरी बोल्ने, नराम्रा शब्द बोल्ने, कराइरहने भएको थियो । दुई दिन अघिदेखि त हात खुट्टा चलाउने र जसलाई पनि हान्ने गरेका थिए’ श्रीमानको अवस्था सुनाउँदै दुर्गादेवीले भनिन्, ‘दुई दिन त असाध्यै शक्ति देखाउने गरे । जहाँ पायो लात्ती हान्दा खुट्टाको औँला भाँचिएको रहेछ, त्यही पनि लात्ती हान्न छाडेका थिएनन् ।’

‘त्यस्तो अवस्था मानसिक समस्याले नै हुन्छ भनेर डाक्टरले भनेका छन् । बजारभरिका मान्छेले पनि सम्हाल्न नसक्ने कस्तो बिमार पो भयो ? त्यस्तो विमार पछि पनि आयोे भने त हामीलाई खतरा छ’ उनले सुनाइन् ।

पीरले थिचिरहेका बेला पनि उनले दृढ हुँदै भनिन्, ‘हाम्री छोरीले न्याय पनि पाउनुपर्छ र श्रीमानको अवस्था पनि फर्काउनुपर्छ ।’

आफूलाई श्रीमानबाट आड भरोसा प्राप्त होला भन्नुपर्ने ठाउँमा दुर्गादेवीलाई अहिले डर पलाएको छ । श्रीमानको अवस्था के होला, कहिले ठीक होला भन्ने पिरलो छ । ‘देवर र भिनाजु पनि आउनुभएको छ, उहाँहरु नआउनुभएको भए त मैले एक्लै सम्हाल्न सक्दै सक्दैन थिएँ’ एकछिनको मौनतापछि उनले भनिन्, ‘ठीक भएन भने त घर लैजानै सकिँदैन । घर लगेर हामीले के गरी राख्ने ? कसरी सम्हाल्ने ?’

‘बिरामी हुनअघि उहाँको अवस्था केही बुझ्न पाइनँ । हामीबीच छोरीका बारेमा बाहेक अरु कुराकानी भएको थिएन, सँगै न्यायका लागि लडिरहेका हौँ’ उनले भनिन् ।

दुर्गादेवीलाई भेट्नेहरुले भनिरहेका थिए, न्याय मिल्छ, तपाइँ पीर नगर्नुस्, मन बलियो पार्नुस् । सोमबार अस्पतालमै भेट्न पुगेका नयाँ शक्ति पार्टीका नेता डाक्टर बाबुराम भट्टराई र हिसिला यमीले पनि त्यही भने– ‘निर्मला तपाईंकी मात्रै छोरी होइनन् । हाम्री पनि छोरी हुन् । न्यायको यो लडाइँमा हामी पनि तपाइँसँगै छौँ, हिम्मत नहार्नुहोला ।’
दुर्गादेवीले उही मलीन अनुहारमा न्यायको आश देखाएर भनिन्, ‘छोरीको न्याय त जसरी पनि पाउनै छ अहिले उहाँको बिमार जसरी हुन्छ, ठीक बनाउनुपर्‍यो । उहाँलाई राम्रो नभएर हामी सबैको जीवन बेहाल भइसकेको छ ।’

‘श्रीमानबाट सहयोग र हेरचाह पाउँला, हामीलाई सहयोग गर्नुहोला भनेर सोच्ने समयमा उहाँलाई नै यस्तो भइदिँदा के गर्नु र ! हामी कसरी उहाँलाई सम्हाल्न सकौँला खै’ दुर्गादेवीले भनिन् ।

न्याय कहिले पाइएला खै ?

निर्मलाका हत्याराहरु पत्ता लागुन् र न्याय मिलोस् भनेर दुर्गादेवीले श्रीमानसँगै राजधानी आएर दबाव दिइन्, मन दह्र्रो पारेर परेको ठाउँमा आवाज निकालिन् । कञ्चनपुरमै धर्नामा बसिन् । के मात्रै गरिनन् …. ? तर, उनमा न्याय पाउने आश छोपिँदै जाँदा पीरका भारी झनै बढ्दै गएका छन् ।

जिल्लामा प्रहरी प्रशासनको नेतृत्व परिवर्तन होस्, देशव्यापी आन्दोलन भएर दबाव सिर्जना होस् या आधा दर्जन छानविन समिति बनोस्, कुरा जति आए पनि न्याय आएको छैन ।

घरमा जेठी र कान्छी छोरीलाई छिमेकीको जिम्मा लगाएर आएकी दुर्गादेवीले कतितिरको पीर मात्रै पो लिनु ? कतिका सोधाइको जवाफ दिनु ? निरन्तर आइरहने कतिको फोन उठाएर भन्नु … ‘हुन्छ । आउनुस् न, अस्पतालमै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?