Comments Add Comment

सफलता सूत्रः बदलौ काम गर्ने शैली

खासगरी युवा वा किशोर वर्ग, जो केही गर्ने सोंचमा छन्, उनीहरुका लागि यो जानकारी उपयोगी हुनसक्छ । यो चरणमा हामीमा अथाह जोश हुन्छ, जाँगर हुन्छ, शक्ति हुन्छ, समय हुन्छ । भनौं, सबैकुरा हुन्छ । तर, अनुभव एवं परिपक्ताको कमी हुनसक्छ ।

किनभने यसअघि हामीले कुनै काम गरेका हुँदैनौं । कुनै अनुभव संगालेका हुँदैनौ । त्यसैले नयाँ काम गर्नु हाम्रो निम्ति नितान्त नौलो अनुभव हुनसक्छ । यस्तो अवस्थामा कामको कसरी थालनी गर्ने भन्ने मात्र होइन, काम गर्दा के कस्ता कुरामा ध्यान दिने भन्ने कुरामा पनि सर्तकता अपनाउनुपर्छ ।

तर, जोशमा हुन्न होस भनिन्छ । हामी युवा जोशका साथ केही काम गर्न सोच्छौं । यद्यपी सोचेजस्तो नतिजा हासिल हुँदैन । यसले गर्दा हामीलाई हतोत्साही बनाउन सक्छ । त्यसैले कुनैपनि काम गर्नुपूर्व सोंचविचार गर्नुपर्छ । पूर्ण योजना बनाउनुपर्छ । भनिन्छ, पूर्ण वा पर्फेक्ट योजना तय गर्नु भनेको करिब आधा काम पुरा हुनु हो ।

युवा अवस्थामा हामी अलि हतार गर्छौं । कुनै कामको तुरुन्तै नतिजा खोज्छौं । तर, हतारको काम लतार भनेजस्तै हुन्छ ।

काममा धैर्यता

हरेक काम गर्दा हामीलाई हतार भइरहेको हुन्छ, जे काम पनि हामीलाई छिटो सक्ने हतारो हुन्छ । विहान देखि बेलुका सम्म हामी हतारै हतारमा दौडिरहेका हुन्छौं ।

विशेषगरी युवाहरु हरेक कुरामा हतार गर्छन् । उनीहरुलाई एक सेकेण्ड पनि फुर्सद हुँदैन । युवाहरुमा धैर्यताको कमी छ । उनीहरु समय लगाएर काम गर्न भन्दा सर्टकट उपाय अपनाएर छिटो काम सक्न चाहन्छन् ।

इन्टरनेटमा एक क्लिक गरेर हरेक कुराको उत्तर थाहा पाए झैं जिन्दगीका हरेक समस्याको समाधान पनि फटाफट होस् भन्ने उनीहरु चाहन्छन् ।

हरेक कुरा छिटो गर्ने चक्करमा युवाहरुले काम त तुरुन्तै सक्छन् तर, पर्याप्त सोचविचार नगरि हतारमा गरेको काममा धेरै त्रुटी र कमीकमजोरी हुन्छ भन्ने बुझ्दैनन् ।

हतारमा गरेको काममा केहि न केहि कमी अवश्य रहन्छ भन्ने कुरा भने उनीहरुले बुझ्न सक्दैनन् । पछि काम बिगि्रसकेपछि भने पछुताउँछन् ।

१. हतारमा हुन्छ दोधार

जो मानिस हतारमा हुन्छन उनीहरु छिटोछिटो बोल्छन, अगाडीका मानिसहरुलाई नसकिँदै बीचमै प्याच्च बोल्छन्, अरुको कुरा ध्यानसँग सुन्दैनन र उनीहरुलाई कुनै काम दिइयो भने राम्रोसँग पुरा गर्न सक्दैनन् । उनीहरुलाई के गरुम वा के नगरुम भन्ने दोधारमा ठिकसँग काम गर्न सक्दैनन् ।

२. निर्णय लिने क्षमतामा कमी

कुन अवस्थामा के गर्नु पर्छ र के काम कसरी गर्ने भन्ने कुरा हतारमा बुझ्न मुश्किल हुन्छ । कठिन समयको सामना गर्दा हतारमा मानिस आत्तिने र हडबडाउने हुन्छन् । यस्तोमा आफ्नो मानसिक अवस्था नियन्त्रण गर्न सकिँदैन र केहि यस्तो कदम चालिन्छ जसको कारण झनै ठूलो गल्ती हुन्छ ।

३. असफलता

हडबडीमा कुनै पनि काममा आफ्नो शतप्रतिशत दिन सक्नुहुन्न । सफल नभएपछि त्यस कामलाई छोडेर फेरि अर्को काम गर्न सुरु गर्नुहुन्छ ।

हतारमा तपाईलाई के सहि वा के गलत हो भन्ने कुरा बुझ्न गाह्रो हुन्छ । यस्तोमा कैयौं समस्याको सामना गर्नुपर्छ । पटकपटकको असफलताको कारण धेरै युवाहरुले गलत बाटो रोज्न पनि सक्छन् ।

४. विश्वास जोगाउन मुस्किल

भनिन्छ विश्वास कमाउन सजिलो हुन्छ तर जोगाउन धेरै मुस्किल । यदि तपाईं पनि हतारमा काम गर्ने बानी छ भने तपाइर्ंले आफूले आर्जन गरेको विश्वास समेत गुमाउने सम्भावना हुन्छ ।

जो मानिसले छिटो काम गरेर अरुलाई प्रभावित गर्न सकिन्छ भन्ने सोच्छ भने उ गलत हुन सक्छ । किनभने हतारमा काम गरेर तपाइर्ंले अरुलाई प्रभावित गर्न सक्नुहुन्न ।

एकपटक सोच्नुहोस त, तपाईं एक ड्राइभर हुनुहुन्छ । तपाईं तिव्र गतिमा गाडी कुदाएर तपाईलाई समय भन्दा अगाडी नै गन्तव्यमा पुर्याउनु हुन्छ तर, अर्को ड्राइभरले ठिक्कको गतिमा गाडी कुदाएर सहि समयमा पुर्याउँछ । तपाई र अर्को ड्राइभर मध्ये यात्रुले कसलाई विश्वास गर्लान ?

पक्कै धेरैले पनि दोस्रोलाई विश्वास गर्छन् । यसैगरि जीवनमा पनि तपाई धैर्य र संयमता अपनाएर गरेको राम्रो कामले मात्रै अरुलाई प्रभावित पार्न सक्नुहुन्छ ।

५. स्वास्थ्यको लागि हानीकारक

आजका युवाहरुलाई तत्काल बनाएर खान सकिने खानेकुरा मात्रै मनपर्छ । उनीहरु होटलमा गएर फास्टफुड खान्छन् तर एकछिन समय लगाएर घरमा खाना बनाउँदैनन् । यति मात्रै हौइन उनीहरु जहाँ पनि जे भेटेपनि खाइदिन्छन् । यसकारण उनीहरुलाई कम उमेरमै विभिन्न खालका स्वास्थ्य समस्याले सताउँछ ।

६. करियरमा असर गर्छ

युवाहरुमा धैर्यताको कमी हुन्छ । उनीहरु कुनै एक काम सहि तरिकाले सिक्नको सट्टा जागिर परिवर्तन गर्न मनपराउँछन् । यदि कुनै दिन बोस वा अन्य कुनै सिनियरले केहि भनेमा उनीहरु चित्त दुखाएर जागिरै छोडिदिन्छन् ।

उनीहरु आफ्नो दृष्टिकोणबाट मात्रै सोच्छन् । अलि शान्त भएर ठन्डा दिमागले सोच्ने उनीहरुको बानी हुँदैन । उनीहरु आफ्नो अगाडि पछाडिको कुरा सोच्दैनन र रिसको झोँकमा जागिर नै छोडिदिन्छन । तर, यस्तो गर्नु करियरको लागि ठिक हुँदैन ।

एउटा काम छोडेर दोस्रो काम गर्दा तपाइर्ं कुनै पनि काममा दक्ष बन्न सक्नुहुन्न । हरेक काम गर्दा बिस्तारै थोरै थोरै ज्ञान मिल्छ त्यसैले समय धेरै लागेपनि आफ्नो कामलाई राम्रो बनाउने कोसिस गर्नुपर्छ ।

यतिमात्रै होइन हरेक काममा हतार गर्नाले तपाइर्ंले धेरै खालका स्वास्थ्य समस्याहरुको पनि सामना गर्नपर्छ । तनावको स्तर बढ्छ, हार्मोनल परिवर्तन देखिन्छ, व्यक्तिगत सम्बन्ध पनि प्रभावित हुन्छ ।

के गर्ने ?

तपाई सफल हुन चाहनुहुन्छ र जीवनमा अगाडि बढ्न चाहनुहुन्छ भने हरेक काममा हतार गर्नुको सट्टा आफ्नो काम राम्रो बनाउने तिर लाग्नुहोस । धैर्य भएर आफ्नो जीवनको हरेक पक्षलाई सुधार्ने तिर लाग्नुहोस् । आफ्नो कमी कमजोरी सुधारेर सँधै स्मार्ट बन्ने प्रयास गर्नुहोस् ।

सबैभन्दा महत्वपूर्ण समय व्यवस्थापनको गुण सिक्नुहोस । कुनै कामलाई पर्याप्त समय दिएर सिस्टमेटिक तरिकाले काम गर्नुहोस् । त्यसैले कुनै पनि कामलाई हतार हतार सक्नुको सट्टा सोचेर बुझेर काम गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment