Comments Add Comment

ग्यारेथ बेलको त्यो रात ….

११ मंसिर, काठमाडौं । २०१० को च्याम्पियन्स लिग इंग्लिस क्लब टोटनह्यामका लागि एउटा पर्खाइको सपना साकार बनेको अवसर नै हो । लामो पर्खाइपछि आधुनिक फुटबलको सबैभन्दा ठूलो क्लब प्रतिस्पर्धामा टोटनह्यामले आफ्नो परीक्षा गरिरहेको थियो ।

टोटनह्याम च्याम्पियन्स लिगको सपना बोकेर बसेको ४८ वर्ष भएको थियो । युरोपियन कप हुने १९६१–६२ को समयमा युरोपियन फुटबलको ठूलो क्लब प्रतिस्पर्धामा भाग लिएको टोटनह्याम त्यसपछि निरीह बनिरहेको थियो ।

यो सिजन लगातार तेस्रो र समग्रमा पाँचौ च्याम्पियन्स लिग खेलिरहेको टोटनह्यामले २०१०–११ को च्याम्पियन्स लिग समूह चरणमा अपत्यारिलो प्रदर्शन गरेर सबैलाई चकित बनाएको थियो ।

त्यसबेला च्याम्पियन्स लिग समूह चरणमा इटालियन क्लब इन्टर मिलान, नेदरल्याण्डको एफसी ट्वेन्टी र जर्मनीको वेर्डर ब्रिमेनसँगै टोटनह्याम समूह ‘ए’ मा रहेको थियो । अहिलेको समूह चरणमा जस्तै इन्टर मिलानसँग त्यही समय नै टोटनह्यामले आफ्नो उच्च क्षमता देखाएको हो । जसमा नायक बनेका थिए, उनै ग्यारेथ बेल ।

पहिलो खेलमा वेर्डर ब्रिमेनसँग २–२ को बराबरी खेलेको टोटनह्यामले दोस्रो खेलमा एफसी ट्वेन्टीलाई ४–१ ले हराएको थियो । जसमा ८५ औँ मिनेटमा ग्यारथ बेलले पनि एक गोल गरेका थिए ।

२० अक्टोवर २०१० च्याम्पियन्स लिग समूह चरणको महत्वपूर्ण खेलमा टोटनह्याम इन्टर मिलानसँग खेलिरहेको थियो । खेलको ३५ मिनेटमा नै ४–० ले पछि परेको टोटनह्याम असाध्यै निरिह बन्यो । वर्षौं पर्खाइको च्याम्पियन्स लिग टोटनह्यामलाई भारी पर्‍यो ।

खेलको दोस्रो मिनेटमा जेभियर जानेटीले गोल गरेर इन्टर मिलानलाई अग्रता दिए । त्यसपछि ११ औँ र ३६ औँ मिनेटमा स्यामुअल इटो र १४ औँ मिनेटमा डिजेन स्टानकोभिकले गोल गरेका थिए ।

पहिलो हाफ निराशाजनक रहेर खराब फुटबलको उपमा पाइरहेको टोटनह्यामका लागि खेलको ५२ औँ मिनेटमा गोल गरेर ग्यारथ बेलले आश फर्काए । उनले ९० औँ मिनेटमा र अतिरिक्त समयमा गोल गरेर ह्याट्रिक पूरा मात्रै गरेनन्, टोटनह्याममाथिको खराब फुटबलको दाग मेटाए ।

खेल हारे पनि त्यो त्यही रात थियो, जहाँ ग्यारथ बेल एक स्ट्राइकरमा रुपमा सबैको नजरमा तानिए । एउटा लेफ्ट ब्याकबाट लेफ्ट विंगर बनेका बेलले फराकिलो मैदानमा आफूलाई अनुभवि बनाए । भोलिपल्टको हरेक सञ्चार माध्यमको हेडलाइनमा २१ वर्षका उनै बेलले खेल जितेको इन्टर मिलानलाई पनि पछि पारिदिए ।

त्यसले नै समयको चाल टोटनह्यामतिरै ढल्कियो र समूह चरणमा नै इन्टर मिलानसँगको दोस्रो खेलमा ३–१ ले खेल जित्दै अघिल्लो चरणमा बलियो उपस्थिति बनायो । अनुभवहीन खेलाडीको समूहको उपमा पाइरहेको टोटनह्यामले जस्तो खेल देखायो त्यसले धेरैको बोली बन्द गरिदिएको थियो ।

इन्टर मिलनसँगको दोस्रो खेलमा गोल नगरे पनि बेलको उपस्थिति निकै बलियो थियो । तीव्र गति र लामो पासले उनले इन्टरका डिफेन्सलाई धुरुक्क बनाएका थिए । त्यो समय पूरा खेलमा इन्टर रक्षात्मक बन्नुपरेको थियो ।

च्याम्पियन्स लिगका खेल नै हुन् जसले खेलाडीलाई विश्वभर एकैपटक सबै क्लबमा ढोका खोलिदिन्छ । त्यहीँ कसैको नजरमा नरहेका बेल च्याम्पियन्स लिगको त्यही रातमार्फत सबैतिर छाए । ठूला भनिएका क्लबले उनलाई ल्याउने चाह देखाए । त्यसले नै ठूलो रकम खर्चेर स्पेनिस क्लब रियल मड्रिडले उनलाई ल्यायो ।

‘हो त्यही रात हो, जहाँ सबैले एउटा राम्रो खेलाडीको रुपमा मलाई चिने । त्यही रातले मेरो खेल जीवन नै परिवर्तन गरिदियो । मलाई अझै राम्रो गर्दै अगाडि बढ्न पनि हौसला र आत्मविश्वास दियो’ बेलले भनेका छन् ।

त्यो चम्किलो रातपछि ग्यारथ बेल मात्रै होइन, टोटनह्याम नै पनि एउटा सुन्दर फुटबल यात्रा गरिरहेको छ । जति नै अघि पुगे पनि त्यो रातको बेल र टोटनह्यामलाई फुटबलप्रेमीले बिर्सने छैनन् ।

अन्तिम १६ मा पुगेको टोटनह्यामले पिटर क्रुचको गोलमा पहिलो लेगमा एसी मिलानलाई १–० ले हरायो । साथै दोस्रो लेगमा गोलरहित बराबरी गरेर क्वार्टरफाइनलमा पुग्यो । क्वार्टरफाइनलमा भने रियल मड्रिडसँग ४–० र १–० ले हारेर टोटनह्यामको यात्रा टुंगियो ।

त्यो समय च्याम्पियन्स लिगमा क्वार्टरफाइनलबाटै बाहिरिए पनि फाइनलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई हराएर उपाधि जित्दासम्म पनि टोटनह्यामको चर्चा हुन छाडेको थिएन ।

त्यसमा टोटनह्यामबाट बेलमात्रै होइन नायक बनेका अरु खेलाडी पनि थिए । ग्यारथ बेलसँगै पिटर क्रुच, लुका मोडरिक, बेनोइट आसु इकोटो र राफेल भ्यान डर भार्टले एउटा उदाउँदो फुटबल टिमलाई विश्व मञ्चको उत्कृष्ट स्थानमा देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment