Comments Add Comment

काठमाडौंका बाटा बाटामा अब ‘स्मार्ट सोलार डस्बीन’

११ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले मुख्य सडक क्षेत्रमा ‘स्मार्ट सोलार डस्बीन’ (फोहोर फ्याँक्ने भाँडो) राख्न शुरु गरेको छ ।

महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपीपी) अवधारणा अनुसार काठमाडौंका विभिन्न क्षेत्रमा ‘स्मार्ट सोलार डस्बीन’ राख्ने योजना बनाएको छ ।

पहिलो चरणमा हाल माइतीघरदेखि बानेश्वरसम्म १२ वटा सोलार डस्बीन राखिएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी महाशाखाका निर्देशक महेश काफ्लेले अनलाइनखबरलाई जानकारी दिए ।

अब क्रमशः टुँडिखेल आसपास, रानीपोखरी आसपास, न्युरोडदेखि बसन्तपुर, माइतीघरदेखि थापाथली, भद्रकालीदेखि सिंहदरबार आसपासमा स्मार्ट सोलार डस्बीन राखिने उनले बताए ।

उनका अनुसार अहिले हरेक दिन रातीको समयमा कम्तीमा ७ वटा ‘स्मार्ट सोलार डस्बीन’ राख्ने काम भइरहेको छ ।  महानगरपालकिाले हाललार्इ काठमाडौंभित्र ६० वटा यस्ता फोहोर फ्याँक्ने डस्बीन राख्ने योजना रहेको जनाएको छ ।

‘हाम्रो सफा काठमाडौं’ लेखिएको फोहोर फ्याँक्ने डस्बीनमा सोलार बत्ति समेत जडान गरिएकाले रातीको समय समेत प्रष्टसँग देखिनेछ ।

डस्बीनमा प्रदुषण मापन मीटर, तापक्रम मीटर, मोबाइल चार्जर समेत राखिएको छ । डस्बीनको पछाडि चार स्क्वायर फिटको फोहोर फ्याँक्ने ठाउँ छ ।

अगाडि १८ स्क्वायर फिटको भागमा विज्ञापन र पछाडि ९ स्क्वायर फिटको भागमा महानगरपालिकाको सूचनामूलक सन्देश रहने काफ्लेले जानकारी दिए ।

०७३ मंसिर १९ मा नै यस्ता डस्बिन राख्ने निर्णय भएपनि बाटो विस्तार तथा गुणस्तरीय सामान नपाउँदा ढिलाई भएको महाशाखाको दाबी छ ।

अब भने महानगरपालिकाभर यस्ता स्मार्ट सोलार डस्बीन राख्ने कामले निरन्तरता पाउने महाशाखाका निर्देशक काफ्ले बताउँछन् ।

सडकमा हिँड्दा चकलेट-बिस्कुटका खोल, फ्रुटी, मिनरल वाटरको बोतल लगायतका फोहोर समेत जथाभावी फयाँक्नुको सट्टा डस्बीनमा नै फाल्न महानगरपालिकाले आग्रह गरेको छ ।

सहरलाई सफा र सुन्दर राख्न नागरिक आफैं पनि सचेत हुन जरुरी रहेको काफ्लेले बताए । यस्ता डस्बीनमा जम्मा भएकाे फाेहाेर महानगरपालिकाले व्यवस्थापन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment