Comments Add Comment

शक्ति समूहले भन्यो : सामाजिक सञ्जाल दुरुपयोगले महिला बेचबिखनको उच्च जोखिम

१२ मंसिर, काठमाडौं । सामाजिक सञ्जालको ब्यापकतासँगै मानव बेचबिखन पनि नयाँ स्वरुपमा बढेको तथ्य सार्वजनिक भएको छ ।

बेचबखिन प्रभावित महिलाहरुको संस्था शक्ति समूहले विभिन्न जिल्लामा चलाएका कार्यक्रम र उद्दारका घटनाले सामाजिक सञ्जालका कारण किशोरी र महिलाहरु जोखिममा परेको पाइएको हो ।

काठमाडौंमा बुधवार आयोजित शक्ति समूहको सामाजिक लेखा परीक्षण कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गर्दै शक्ति समूहकी कार्यकारी निर्देशक सुनीता दनुवारले बेचबिखनको परम्परागत शैली फेरिएको बताइन् । एक वर्षभरी भएका उद्धार तथा मुद्दा दर्ताको विवरण पेश गदै उनले मानव बेचबिखनमा सामाजिक सञ्जालको दुरुपयोग उच्च जोखिममा रहेको जानकारी दिइन् ।

सामाजिक सञ्जालमा विभिन्न उमेर समूहका महिलालाई दलालहरुले सम्पर्क गर्ने र विभिन्न आश्वासन दिएर जोखिममा पार्ने गरेका धेरै घटना शक्ति समूहमा आइपुगेको संस्थाले जनाएको छ । प्रहरीमा गएर समाधान नभएको भन्दै पीडितका परिवार शक्ति समूहलगायत संस्थाहरुको सम्पर्कमा पुग्ने गरेका छन् ।

दनुवारले वार्षिक विवरण पेश गर्दै भनिन्–सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा यसले बेचबिखन जस्तो अपराध निम्त्याइरहेको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य बेचबिखन तथा यौन शोषणका घटनाहरुको अध्ययन गर्दा सामाजिक सञ्जालको दुरुपयोग मुख्य कारण देखियो ।

पहिले जस्तो भारतका कोठीमा लगेर यौनकार्यमा लगाउने बेचबिखनको शैलीमा परिवर्तन आएको शक्ति समूहले जनाएको छ । मनोरञ्जन क्षेत्रहरु बेचबिखनको ट्रान्जिट बनिरहेको र आन्तरिक बेचबिखन तथा आधुनिक दासताले गर्दा मानव बेचबिखन विरुद्धको लडाइ पेचिलो बन्दै गएको बेचबिखनविरुद्धकी अभियन्ता चरिमाया तामाङले बताइन् ।

शक्ति समूहका अनुसार विवाहको नाममा कोरिया, चीन, मलेसियालगायतका देशमा नेपाली युवतीको बेचबखिन भइरहेको छ । त्यस्तै वैदेशिक रोजगारीका नाममा पनि बेचबखिनको नयाँ शैली देखा परेको शक्ति समूहकी अध्यक्ष बालकुमारी दर्लामी मगरले जानकारी दिइन् । उनका अनुसार प्रविधिको विकाससँगै बेचबिखन विरुद्धको लडाई पनि कठिन बनिरहेको छ ।

सामाजिक लेखा परीक्षण कार्यक्रममा शक्ति समूहले यो वर्ष मानव बेचबिखनका १६ जना दलालविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिइएको थियो । त्यस्तै ३७जना महिला बालवालिकालाई उद्दार गरिएकोमा अधिकांश पोखराका छन् ।

शक्ति समूहको सुरक्षित आवासमा करिव डेढ सय बेचबिखन प्रभावित महिलालाई आश्रय दिइएको विवरणमा उल्लेख छ । हरेक वर्ष दातृ निकाय,सरकारी प्रतिनिधि,जनप्रतिनिधि र सञ्चारकर्मीसहितको उपस्थितिमा शक्ति समूहले सामाजिक लेखा परीक्षण गर्ने गरेको छ ।

शक्ति समूहले बेचबिखन प्रभावित र उद्दार गरिएका महिलालाई आयआर्जन हुने सीपमूलक तालिम दिने गरेको दनुवारले बताइन् । शक्ति समूह बेचबिखन प्रभावित महिलाहरुलेनै स्थापना गरेको विश्वकै पहिलो संस्था हो ।

सुनिता दनुवार र चरिमाया तामाङलगायतका प्रभावित महिलाको अगुवाईमा २० वर्षअघि स्थापित यो संस्थाले बेचबिखनविरुद्धको अभियानमा अन्तर्राष्ट्रिय पुरस्कारहरु पाएको छ ।

शक्ति चरिमाया र सुनीता दुवैजनाले अमेरिकी सरकारको टिप हिरो अवार्ड पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment