Comments Add Comment

अफ्रिकाको जेलमा ४ घण्टा !

हामीलाई काममा ९ बजे पुगिसक्नु पर्ने थियो । हामी बसेको घरबाट ट्याक्सी र्‍याक(माइक्रो स्टेशन) पुग्न हामीसँग दुई विकल्प थिए, एक- जुन बाटो हामीलाई ४० मिनेट जति लाग्थ्यो । अर्को- रेलवे ट्रयाक क्रस गरेर जानुपर्थ्यो , जुन बाटोबाट हामी १५ मिनेटमै पुग्थ्याैं ।

रेलवे ट्रयाक हुँदै जानु नियमतः गैरकानूनी मानिन्छ । तर, सबैजसोले त्यही बाटो नै प्रयोग गर्ने हुँदा हामी पनि समय बचतका निम्ति छोटो बाटो नै अपनाउँथ्याैं । त्यसदिन पनि सदाझैं हामी तयार भएर बाटो लाग्याैं  । म, हरि, दीपेन र गोपाल दाइ ।

हामी परैबाट देख्न सक्थ्यौँ, अन्य दिनभन्दा त्यस दिन रेलवे ट्रयाक पारी अलि बेसी नै भीड थियो । सबैका साथमा पासपोर्ट रहेको कन्फर्म गरेपछि हामी अघि बढ्यौँ । दुई काला व्यक्ति दौडँदै भागेको देखेपछि हामीले अड्कल काट्यौँ- केही त भएकै छ ।

हरिले भन्यो- सायद गैरकानुनी बस्दै आइरहेका होलान्, त्यसैले भागे । हामी अलि नजिक पुगेपछि देख्न सक्थ्यौँ कि पारिपट्टी मान्छेको घुइँचो र बाक्लै प्रहरीको उपस्थिति । के भएको रहेछ भन्ने हामी सबैलाई लागिरह्यो । हामी अघि बढिरह्यौँ । तर, रेलवे ट्रयाक क्रस मात्र के गरेका थियौं, हामीलाई रोकियो ।

हामीले सफाइ दिन पाउँदा नपाउँदै कुनै अपराधीलाई झैँ हात माथि राख्न भनियो । उनीहरुकै भ्यानमा आड लगाउँदै पिठ्यूँ देखाएर हात माथि गरी उभिन लगाइयो र खानतलासीमा लागे प्रहरी । हामी बोल्दै थियौँ, भन्न खोज्दै थियौं, तर, बोल्ने मौका नै दिइएन । भ्यानमा हालियो । हामी आत्तियौँ, अवाक् भयौँ ।

हामीले पछिमात्रै थाहा पायौँ, त्यस दिन त्यहाँ ट्रेनले मान्छे हानेको रहेछ र त प्रहरी सक्रिय देखिएका रहेछन् । छोडेनन् कसैलाई जो ट्रयाक हुँदै वारपार गरिरहेथे । हामीसहित भ्यानमा १० जना थिए त्यतिबेला । एउटा सानो भ्यान्टिलेसन जस्तो प्वालबाहेक अरु केही थिएन प्रकाश छिर्नका निम्ति । अब के गर्छ भनेर आत्तियौँ र सम्झाइरहेथ्यौँ आफैंलाई, किन डराउनु ? के ग¥याछाैं  र आत्तिनलाई ?

भ्यान अघि बढ्यो, हाम्रो डर बढ्दै गयो । झण्डै दुई घण्टाजति यताउता घुमाएपछि भ्यान रोकियो । त्यस दिन मानौँ पूरै अभियानमै निक्लेका थिए प्रहरी । हाईवेमा हिँड्नेदेखि रक्सीको तालमा दिउँसै हल्लिँदै हिँड्ने सबैलाई समात्दै भ्यानमा हाल्दै गर्दा हामी २० जना भैसकेथ्यौँ ।

जब भ्यान रोकियो, हामीलाई थाहा थिएन कि कहाँ, किन रोकियो । पछि थाहा भयो, हामीलाई चौकी पुर्‍याइएको रहेछ । १५/२० र्‍याण्डमा सेटिङ मिलाउन सकिने ती प्रहरीहरु त्यस दिन अलि कडै रुपमा प्रस्तुत भइरहेथे । गोपाल दाजु उनीहरुसँग कुरा राख्न मौका पर्खि नै रहनुभएको थियो । तर, मिलेन । गोपाल दाजुलाई निकै गार्‍हो भैरहेको थियो । गाडीमा गाह्रो हुने रहेछ दाइलाई । टाउको दुख्यो, बान्ता आउला आउला जस्तो भो भन्दै हुनुहुन्थ्यो ।

हामीलाई भित्र लगियो र चार्जसिट तयार पार्नका लागि उभ्याइयो । त्यो दिन शुक्रबार थियो । यदि त्यही दिन हामी निक्लन नसक्नु भनेको सप्ताहन्त बिदाका कारण सोमबारअघि बाहिर निक्लनु सम्भव थिएन । तनाव बढ्यो । निरिह हामी पालो कुर्दै लाइनमै उभिरह्यौँ ।

हामीले भ्यानमै हुँदा एउटा साझा सहमति जनाएका थियौं किन रेलवे ट्रयाक क्रस गरिस् भनेर सोध्यो भने के भन्ने ? हामी नेपालबाट आएका । नेपाल, जहाँ ट्रेन छैन, ट्रेन नहुनु भनेको ट्रयाक नहुनु स्वाभाविक थियो, त्यसैले हामीलाई थाहा थिएन यससँग सम्बन्धित नीति नियम । अञ्जानमा गल्ती भो, दोहोरिँदैन अब । यति भनेपछि त कसो माफी नदेला भन्ने थियो हामीलाई ।

हामी लाइनमा थियौँ । एक्कासी गोपाल दाइलाई निकै गार्‍हो भयो । बान्ता होलाजस्तो भो भाइ, यहीँ हुन सक्छ । यहीँ बान्ता हुन त दिनुभएन । मैले आँट गरेरै भने एक प्रहरी जवानलाई कि दाइलाई गार्‍हो भो, बान्ता होला जस्तो छ । यति भनेको मात्र के थिएँ, कड्कियो जवान ‘यु भमित यु इत’ । डर बढ्यो । मनमनै सोच्याैं संसारभरका प्रहरी एकै हुन् क्रुर ! विकल्प थिएन दाइसँग निक्लिसकेको बान्ता निल्नु बाहेक ।
अब पालो थियो मेरो । म उभिएँ पेन र कागजसहित रहेको प्रहरीको सामु ।

उसले मलाई सोध्यो – ‘आर यू तेरेन ?’ मैले बुझिनँ र भनें- सरी ।

उसले फेरि सोध्यो- आई सेड आर यु तेरेन ?

मलाई फेरि समस्या पर्‍यो । अलि आत्तिएर भनें- पार्डन मी !

ऊ अब रिसाइसकेको थियो । कड्किएर सोध्यो- हाउ मेनी टाइम्स यु वान्ट मि टु आस्क ?

म झनै डराएँ । दीपेनले उभिएकै ठाउँबाट भन्यो- तिमी रेल हो भनेर सोधेको के !

मैले बल्ल बुझेँ । तेरेन भनेको त उसले ट्रेन भन्न खोजेको रहेछ । मलाई फसाद पर्‍यो । हो भनौं कसरी, हैन भनुँ कसरी । मैले भनें- नो ।

फेरि उसले सोध्यो- द्यान व्हाई दिद यू क्रस द तर्‍याक ?

मैले हाम्रै सल्लाहबमोजिम फेहरिस्त बताएँ । हामी नेपालबाट आएका । नेपाल ट्रेन छैन, ट्रेन नहुनु भनेको ट्रयाक नहुनु स्वभाविक थियो । त्यसैले हामीलाई थाहा थिएन यससँग सम्बन्धित नीति नियम । अञ्जानमा गल्ती भो, अब दोहोरिँदैन ।

यति भन्दा पनि हाम्रो केही लागेन । उसले पालैपालो सबैलाई यसैगरी सोध्यो र थुन्यो । दीपेन र म एक्साइटेड थियाैं । डर त केही थियो नै, तर मजा लिइरहेका थियौं । फोटो खिच्नसमेत भ्यायौँ भित्रै । नयाँ अनुभव । फेरि अपराध पनि त गरेका थिएनौँ नि ! रेलको लिक पार गरेको मात्रै हो ।

हरि दाइ र गोपाल दाइ बेसी नै चिन्तित थिए । गोपाल दाइ यसो त्यता भएर हिँड्ने जो कोहीसँग हारगुहार गर्दै थिए । ब्रिफिङ गर्दै थिए । उसो त हामीले गाडीमै छँदा केही दाइ र नेपाली साथीभाइलाई फोन गरेर जानकारी गराएका थियौं । त्यो दिन शुक्रबार थियो । केही गरी त्यो दिन निक्लन नसक्नु भनेको सोमबार मात्रै निक्लनु थियो । शनिबार र आइतबार होलिडे जो थियो ।

विजय, अमृत दाइ र अवतार दाइहरु लागे र धन्न सफल भए हामीलाई निकाल्न । हामीलाई सय र्‍याण्ड जरिवाना र आइन्दा त्यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा छाडियो । घर आयौँ । त्यतिबेला जे जस्तो तनावमा भए पनि अरुले चासो दिएर सोध्दा हामीले पनि उत्तिकै रोचकता साथ सुनायौँ ।

भोलिपल्ट, फेरि उही रुटिन दोहोर्‍याउनु छँदै थियो । निक्लियौँ घरबाट । टक्क एक छिन रोकियौँ । जहाँबाट हामीलाई फेरि एक बाटो रोज्नु जो थियो । अघिल्लो दिनको तनाव सम्झँदा र जेल सम्झँदा लामो बाटो नै हिँड्नुपर्छ भन्ने लाग्यो । तर, समय र ट्रयाकको बाटो हिँड्नेको घुइँचो देख्दा भने त्यही ट्रयाककै बाटो हिँड्ने निश्कर्ष निकाल्यौं र लाग्याैं अलि सतर्कता अपनाउँदै जे त पर्ला-पर्ला भन्दै  !

(केम्टोन पार्क, दक्षिण अफ्रिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment