१३ मंसिर, काठमाडौं । विदेशी पाहुनाहरु आउँदा सडक खाली गराउने र जनतालाई सास्ती पुर्याउने कार्यको विकल्पमा अब विमानस्थलभित्रै पाँचतारे होटल खोल्नुपर्ने पूर्वप्रहरी इन्स्पेक्टर सीताराम हाछेथुको सुझाव छ ।
२९ वर्षसम्म ट्राफिक प्रहरीमा सेवा गरेका र काठमाडौं उपत्यकामा मात्रै २७ वर्ष बिताएका चर्चित पूर्वइन्स्पेक्टर हाछेथु सडक खाली गराएर भीभीआईपीको सवारी गराउनु नेपालको बाध्यता भएको बताउँछन् ।
आगामी दिनहरुमा यस्ता समस्या हुन नदिन एयरपोर्ट एरियाभित्रै सुविधासम्पन्न होटल खोल्न उनले सरकारलाई सुझाव दिए ।
‘पाहुनाहरुलाई सोल्टी होटलमा लगेर राखिदिँदा काठमाडौं मात्रै होइन, ललितपुर र भक्तपुरमा समेत ट्राफिक जाम हुन्छ,’ उनले भने, ‘त्यसैले सरकारले एयरपोर्टभित्रै पाँचतारे होटल बनाउनुपर्छ । ता कि विदेशी पाहुनाहरुलाई त्यहीँ राख्न सकियोस् र त्यहीँ कार्यक्रम गर्न सकियोस् ।’
विदेशमाजस्तो नेपालमा धेरै बाटाहरु नभएकाले गाडी चालक र पैदल यात्रुहरुलाई विकल्प दिन नसकिँदा सर्वसाधारणले केहीबेर दुःख पाउने गरेको बताउँदै उनले सकेसम्म कम समयमात्रै सडक खाली गराउनुपर्ने बताए ।
हाथेछुका अनुसार बानेश्वर, कोटेश्वर क्षेत्रमा एक मिनेटमा झण्डै १५० मोटरसाइकलहरु कुद्छन् । चार पांग्रे गाडीहरु झण्डै ६० वटासम्म कुद्छन् । आधा घण्टा मात्रै सडक खाली गराउने हो भने ४५ सय मोटरसाइकलहरु जाममा पर्छन् ।
ट्राफिक प्रहरी निरीक्षकबाट हालै अवकाश पाएका हाछेथुले सरकारी कदमको बचाऊ गर्दै पाहुनाको सुरक्षाका कारण सरकारले यस्तो गर्नुपरेको तर्क गरे । ‘कसैले कालोझण्डा देखाइदेला, कसैले ढुंगा नै हानिदेला, त्यसो भयो भने त नेपालकै बेइज्जत हुन्छ, हाम्रो देशको सुरक्षा प्रणालीमै प्रश्न उठ्छ, त्यसैले सरकारले सडक खाली गराउनु परेको हो ।’
प्रतिक्रिया 4