Comments Add Comment

सुमनको दुःखमा साथ दिन परदेशसम्म आइपुगिन् सबिता

युएर्इ / श्रीमान, श्रीमती एकै रथका दुई पांग्रा । यो उखानको भाव देखिन्थ्यो, आबुधावीको खालिफा अस्पतालको बेड नं. २२ मा ।

दुवै मिर्गाैला बिग्ररिएर अस्पतालमा नियमित डायलसिस गराइरहेका चितवन रत्ननगर-२ टाँडीका सुमन परियारलाई श्रीमती सबिताले हिम्मत दिइरहेकी छिन् ।

परदेशको अपस्तालमा श्रीमानको कुरुवा बस्नकै लागि आउनुपर्ला भन्ने उनको मनमा थिएन। सुमन ६ महिनाअघि विदामा नेपाल गएका थिए । त्योबेला सबितालाई छोडेर आउदाँ सुमनले युएई ल्याउने बाचा त गरेका थिए । तर, दुवैजना मिलेर रोजगारी गर्ने योजनामा ।

तिहारको रमझम गाँउघरमा सकिदैँ थियो । साँझको समय खाना खाएर सबैजना भेला भएका थिए । सबिताको मोबाइलमा फोन बज्यो । त्यो फोन युएईबाट सुमनका कम्पनी म्यानेजर सन्जु तमुले गरेका थिए ।

सुमनको रोगका बारेमा सन्जुले सुनाउदाँको क्षण सबिता अहिले पनि सम्झन सक्दिनन् । फोनको कुरापछि उनको मुहारको भाव परिवारले ठयाक्कै बुझ्न त सकेनन् । तर, केहीँ अडक्ल काट्दै थिए ।

घरको एक्लो छोरो । दुवै मिर्गाैला बिग्रिएर परदेशको अस्पतालबाट आफूलाई बचाइदिन हारगुहार गरेको खबर सुन्दा बुबाआमाको मन कस्तो भयो होला ? सबिताको आँखामा परिवारको दुःख देख्न सकिन्थ्यो ।

सुमनलाई अस्पताल भर्ना गरेदेखि उनी कार्यरत कम्पनीका म्यानेजर चितवनकै सन्जु तमु र साथीहरुले हेरविचार गरिरहेका थिए । उनी सबैका प्यारा । त्यसभएरपनि समय मिलाएर कोहीँ न कोहीँ दिनमा एकजना उनको साथमा रहन्थेँ।

परिवारका सदस्य यहाँ भए उनको आत्मबल बढ्ने बुझेर गायक प्रकाश पौडेलले सुमनको श्रीमती सबितालाई भिजिटमा युएई ल्याउन सहयोग गरे।

सुमन छुट्टिमा घर जाँदाको सल्लाह अनुसार सबिताको पनि राहदानी बनिसकेको थियो। यहाँको प्रकृया पूरा गरेर पौडेलले भिसा र टिकट पठाए ।

एक सातादेखि सबिताले सुमनलाई हेरचाह गरिरहेकी छिन्। उनको साथ पाएपछि सुमनमा पनि रोगसँग लड्ने आत्मबल बढेको देख्न सकिन्छ ।

कार्यबहाक राजदूत आफैँ पुगे अस्पताल

मोरङकी पुष्पा थापा त्यहीँ अस्पतालमा क्लिनरको काम गर्छिन्। सुमनलाई भेट्न दैनिकजसो नेपाली अस्पताल पुग्छन् ।

भेट्न पुग्नेहरुलाई उनी सुमनको कोठा देखाउँछिन । मंगलबार कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले पनि अस्तपताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको पुष्पाले बताइन।

राजदूतलाई सुमन उपचाररत कोठाबारे उनै पुष्पाले बताइन्। राजदूतसँगै गएका एकजनाले भने ‘उहाँ त राजदूत हो, सुमनलाई हेर्न आउनु भएको ।’

राजदूत भित्र प्रवेश गरे । बाहिर ती महिलाको गाइगुइँ सुनियो। ‘राजदूत पनि बिरामी भेट्न अस्पताल आउदाँ रहेछन् !’

यो पनि पढ्नुहोस परिवारलाई खुसी दिन परदेशिएका सुमन अस्पतालको बेडमा, सहयोगको अपील

राजदूत त्यहाँ पुग्दा एक किसिमको खुसी देखिन्थ्यो। राजदुतसँगै सुमनलाई भेट्न पुगेका प्रवासी मन्च युएईका उपाध्यक्ष महेश गिरीले अनलाइनखबरलाई सुनाए।

भित्र सुमनलाई हेरचाह गर्न उनकी श्रीमती थिइन। कार्यवहाक राजदूत फुयाँलले स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनले भने, ‘अब यहाँ हामी छौँ। नेपाली समुदाय छ । तपाईलाई केहीँ असहज भए साथीभाइलाई खबर गर्नुहोला। दुतावास पनि छ। तपाईको स्वास्थ्य अवस्थबारे हामी निरन्तर अपडेटमा रहन्छौँ । मनोबल बढाउनु होला।’ राजदूतले भनेको कुरा सबिताले सुनाइन ।

राजदूत आएको बारे सबिता र सुमन पनि बेखबर थिए । पछि थाहाँ पाए। सुमनले अब त बाँचेर फर्किन्छु भन्ने मनोबल बढेको बताए।

दूताबासबाट राजदुत स्वंयम आएर भेटिपछि केहीँ ढाडस् भयो । मेरालाई धेरैजनाले सहयोग गरिरहनु भएको रहेछ उनले सुनाए।

आमाले मिर्गौला दिने, १५ दिनमा ५ लाख जुटाउने

मंगलबारै सुमनलाई अस्पतालले डिस्चार्ज गर्‍यो । तर, हप्तामा तीनदिन डायलसीस गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

अहिले सुमनलाई बस्ने व्यवस्था सन्जुले गरेका छन्। आमाले आफ्नो मिर्गाैला  दिएर भएपनि छोरो बचाउने बताएकी छिन् ।

स्वास्थ्य अवस्थामा सुधार भएपछि मिगर्ौला प्रत्यारोपणका लागि नेपाल पठाउने यहाँ अस्पतालले जनाएको छ ।

युएईको सरकारी अस्पतालमा उनको उपचार भएकाले अस्पतालले धेरै छुटमा उपचार गरिदियो। सन्जुले भने, ‘अस्पतालले दिएको सुविधा प्रति खुसी लागको छ ।’

उनको थप उपचार र जीवन चलाउन सहज बनाउन अहिले सहयोग अभियान चलाइएको छ । गायक प्रकाश पौडेलको अगुवाइमा आबुधाबीमा सहयोग संकलन अभियान सुरु भएको हो ।

१५ दिनमा ५ लाख नेपाली रुपैयाँ जुटाउने लक्ष्य छ । सुमनले काम गरिरहेको कम्पनीका साथीहरुले पनि डेढलाख बढी नेपाली रकम जुटाइसकेका छन्।

विभिन्न संस्थाबाट र व्यक्तिबाट सहयोगको प्रतिवद्धता आइरहेको छ । अब छिटो भन्दा छिटो रकम जुटाएर सुमनको उपचार गरिने गायक पौडेलले अनलाइनखबरलाई बताए ।

सुमनलाई सहयोग गर्न चाहनेहरुले सुमनकी आमा चन्दा परियारलाई ९८४५५२३३१९ र बुवा शितलबाबु परियारलाई ९८४५४०६३५४ मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment