Comments Add Comment

रुकुमः एउटा अतिबाट अर्को अतिवादको यात्रा !

पहाडी बाटोमा गाडीको यात्रा दुस्साहसमध्येकै एउटा काम हो ।

केही समयअघि ठमेलमा भेटिएका एकजोडी पर्यटकले भनेका थिए, ‘हामीले युट्युबमा अपलोड भएको नेपाली राजमार्ग (लोकमार्ग) का दृश्यहरु हेर्‍यौं र हनिमुन मनाउन यहाँ आयौं ।’

हास्य ब्यङ्गको कुनै पञ्चलाइन जस्तो लाग्ने नवयौवनाहरुका ती वाक्य दाङबाट उकालो लाग्दासम्म मैले सम्झेको थिइनँ । जसै सल्यान हुँदै राप्ती राजमार्गले शारदा नदीको किनार समात्यो, भीमकाय पहाडबीचमा भत्कन थालेका साँघुरा सडकले मनभित्र डर उत्पन्न गराइदियो ।

बिहान ५ बजे बुटवलबाट हिँडेको १० सिटे स्कारपियोले कपिलबस्तु, दाङ र सल्यान पार गरेर हामीलाई साँझसम्म रुकुम पुर्‍याउने लक्ष्य लिएको छ । चालक राजु बोहारा जति थाक्दैछन्, उति अप्ठ्यारो बाटोको सामना गर्नुपर्दैछ ।

सोच्दैछु, ठमेलका ती जोडीले यस्तै अप्ठ्यारो भएर पुगिने दूरदराज क्षेत्रलाई हनिमुन गन्तव्य किन रोजे होलान् ?

सायद मानिस एउटा अतिवादबाट अर्को अतिवादतर्फ लम्कन मन गर्छ । विकासको चरमचुलीमा पुगेका पश्चिमाहरुलाई जिन्दगीमा नेपाली लोकमार्गको यात्रा मजेदार लाग्दो हो । हामीलाई भने १० घन्टे यो यात्रा ठूलो सास्ती भइरहेको छ ।

साथमा छन्, स्थानीय साहित्यकार पूर्ण वली । उनी यो बाटोलाई अप्ठ्यारो मान्ने पक्षमा छैनन् । भन्छन्, ‘पहिलेको तुलनामा यो स्वर्ग हो । रुकुमसम्म यसरी गाडीमा आइपुग्नु कुनैबेला हाम्रो ठूलो सपना थियो । बर्खाको समयमा आउनु भयो भने चाही खास समस्या देख्नुहुन्छ ।’

वली तत्कालीन माओवादीका चर्चित नेतामध्येका एक जनार्दन शर्मासँगै खलंगाको कलेजमा पढेका रहेछन् । उनीबेला बेला आफ्ना सहपाठीको ‘कलेज किस्सा’ सुनाउँदैछन् । यात्रामा रहेका काठमाडौंका साहित्यकार टोलीलाई जनार्दन शर्माका बहादुरीप्रति खासै रुचि देखिँदैन । हाम्रो अरुचि देखेर होला, वलीले थपे, ‘अरुतिर माओवादी प्रभाव घट्दै गए पनि गएको स्थानीय तह निर्वाचनमा सम्पूर्ण रुकुममा माओवादीले जित्यो । त्यसबाट पनि जनार्दनको प्रभाव कति छ, महसुस गर्न सक्नुहुन्छ ।’

हामी साहित्यिक पर्यटनको अभियान लिएर जनार्दन शर्माको घरसम्मै पुग्ने लक्ष्य लिएर हिँडेका थियौं । तर, टोली नेता कमल ढकाल (लेखन कुञ्जका अध्यक्ष) दुरुह बाटोका कारण वलीसँग प्रतिवाद गर्दै थिए, ‘यहाँको बाटो देखेरै जनार्दन शर्मा र माओवादी नेतृत्वले जिल्लामा के गरिरहेको छ, अन्दाज गर्न सकिन्छ ।’

यो जुहारीमा तीन लेखक-कवि नयनराज पाण्डे, युवराज नयाँघरे र भूपिन खड्काले रुचि देखाएनन् । उनीहरु बाटोभरि कवि बासु शशीको बिन्दास जीवनलाई बिम्ब बनाएर हाँसोको बहाना खोजिरहे ।

घाम पश्चिम ढल्कँदै गर्दा चिसो सिरेटो गाडीभित्र छिर्न थाल्यो । हामीले गाडीको झ्याल टम्म लगायौं । मधुरो घाम कहिले डाँडामुनि लुक्दै र कहिले देखिँदै गरेको अवस्थामा रुकुम जिल्ला प्रवेश गरेको खबर दिन एउटा ठूलो गेट देखापर्‍यो । जसमा लेखिएको थियो- ‘सहिद स्मृति रुकुम प्रवेशद्वार ।’

यो रुकुम जिल्लाको बहुचर्चित खारा क्षेत्र हो, जहाँ माओवादी द्वन्द्वकालमा निर्दोष स्थानीयले एकैपटक ठूलो सङ्ख्यामा ज्यान गुमाउनु परेको थियो । सक्रिय पत्रकारिता थालेको एकाध वर्षमै खाराको नाम यसरी सञ्चारमाध्यममा आउन थालेको थियो, मेरो मनमा यो गाउँ ध्वस्त भइसकेको एउटा उजाड बस्तीको बिम्बको रुपमा गडेको रहेछ । अहिले पनि स्थानीयहरु सञ्जयले महाभारत युद्धको वर्णन गरेझैं त्यो बेलाको वर्णन गर्छन् ।

खारामा देखिएको अतिवाद

झण्डै १९ वर्षअघि ०५६ सालको फागुन १० गते । युनिफाइड कमान्डको नाममा गठन भएको सुरक्षाकर्मीको टोलिले खारा गाउँलाई चारैतिरबाट घेरा हालेको थियो । किनभने केही दिनअघि मात्रै नजिकैको खुम्चेरी स्कुलमा माओवादीले जिल्ला सम्मेलन गरेको थियो । स्थानीयलाई संगठित पार्न गरेको सम्मेलनमा माओवादीले खेलकुद, हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रम गरेका थिए । कार्यक्रम स्थानीय माओवादी कार्यकर्ता सिर्जनको सक्रियतामा भएको बुझेको प्रहरी टोलीले उनको घरमा आगो लगाइदियो । त्यसपछि प्रहरीहरु खारा गाउँ पश्चिमतर्फको जंगलतिर लाग्यो ।

विद्यालयमा कार्यक्रम गरेर फर्किएका माओवादीमध्येको एक टोली त्यही जंगलमा थियो । प्रहरी देख्नेबित्तिकै टोलीले आक्रमण गर्‍यो र एकजनाको ज्यान लियो । प्रहरीको हतियार लिएर त्यो टोली आफ्नो गन्तब्यमा लाग्यो ।  गाउँमा निर्दोष गाउँलेहरु मात्र बाँकी थिए । तर, प्रहरीले त्यो आक्रमणमा गाउँले संलग्न भएको रिपोर्ट काठमाडौं पठायो । अनि आयो जिल्लाको युनिफाईड कमाण्डलाई तु. खारा घेर्ने आदेश ।

फागुन १० गते खारा पुगेको संयुक्त सुरक्षाकर्मीको टोलीले भेटिएका जति युवालाई त्यही विद्यालयमा जम्मा पार्‍यो र खारा र त्यस वरपरका ८० घरमा आगो लगाइदियो । गाउँ जलिरहेको बेला नेपाली काग्रेसबाट निर्वाचित वडा सदस्य त्रिभान वली, उनका दुई छोरासहित दर्जनौ युवकलाई लाइन लगाएर गोली हानियो । आफू जननिर्वाचित र नेपाली कांग्रेसको सक्रिय प्रतिनिधि भएको कागज देखाउँदै गर्दा त्रिभानलाई सरकारी फौजले गोली हानेको लोकबहादुर जिसीले बताए । ‘मलगायतका सामान्य माओवादी कार्यकर्ता गाउँबाट भागिसकेका थियौं’, उनले भने, ‘जो म माओवादी होइन, मलाई प्रहरीले केही गर्दैन भनेर गाउँमा बसे, उनीहरु मारिए ।’

त्यसदिन खारामा १६ जना निर्दोष गाउँलेको ज्यान लिइयो, दर्जनौंलाई घाइते पारियो । गावै जलाइएको त्यो घटनाले अन्तरर्राष्ट्रिय ध्यान आकृष्ट गर्‍यो । यही घटनापछि गाउँ-गाउँमा गैरसरकारी संस्थाहरु सक्रिय भए । त्यो परिवेशलाई माओवादीहरुले गाउँमा सक्रिय हुने अवसर बनाए । गाउँका प्रहरी चौकीहरु सदरमुकाम मुसिकोट सरे । त्यसरी गाउँहरुमा सरकारको उपस्थिति शून्य हुने र माओवादी फस्टाउने वातावरण बन्यो ।

सरकारी अतिवादकै कारण पूरै रुकुम रातारात माओवादी समर्थित भएको लोकबहादुर बिसी सम्झन्छन् । त्यही एउटा घटनाबाट जिल्लाभरि कांग्रेस र एमाले समर्थित व्यक्तिहरु निरीह बनेको उनले बताए ।

घाम अस्ताउन लाग्दा हामीले १९ वर्षअघि ध्वस्त भएका गाउँलाई अलि अग्लो ठाउँबाट नियाल्यौं । कुनैबेला त्यही ठाउँमा ८० वटा घर भष्म पारिएको सङ्केतसम्म थिएन ।

पहिले नास्तिक रुकुम जिल्लाको सदरमुकाममा अहिले ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, साइ केन्द्र, मानव धर्म सेवा समिति, सनातन धर्मका भवनहरु देखिन्छन् । गाउँहरुमा धमाधम चर्च पनि देखिन थालेका छन्

रुकुम यात्राको एक महिनाअघि मात्रै म जापानमा थिएँ । हिरोसिमामा अमेरिकी अणुबम खसेको ठाउँमा ठूलो पार्क बनाइएको रहेछ । पार्कको बीचमा त्यो बेलाको हिरोसिमा सहरका गतिविधि विद्यूतीय प्रकाशका माध्यमबाट देखाउने व्यवस्था गरिएको छ । तत्कालीन अवस्थाका तस्विरहरु संग्रहालयमा छन् । बमले ध्वस्त हुन बाँकी एउटा घरलाई जस्ताको तस्तै राखिएको छ । यिनै कुरा हेर्न वर्षेनी लाखौं पर्यटक हिरोसिमा पुग्छन् ।

युद्धको डोब पनि पर्यटन केन्द्र हुनसक्छ भन्ने हेरेर फर्किएको एक महिनामा म रुकुम पुगेको थिएँ, तर युद्धको अवशेषका रुपमा पीडित पात्र मात्रै भेटिए ।

खारा नजिकै झुल्नेटामा बनाइएको सहिदपार्क करिब-करिब संरक्षणविहीन अवस्थामा रहेछ ।

अर्को अतिको सुरुवात

खाराबाट उकालो लाग्दा रात परिसकेको थियो । मुसिकोट नपुग्दै सोलाबाङ्मा बास बसेपछि थाहा भयो, रुकुम एउटा अतिबाट अर्को अतिमा परिसकेको रहेछ । धेरैअघि यहाँका मानिस ठूलाबडाबाट सताइएका थिए । रुकुममा चौबिसे राज्यमध्येका रुकुमकोट, मुसिकोट, बाफिकोट, गोतामेकोट, जहारीकोट थिए । नामअनुसार नै भिन्नभिन्न शासन चल्थ्यो । बहादुर शाहका पालामा ती सबै राज्य नेपालको अधिनमा गए, तर शासनमा ति कोटका सामन्ती प्रथा कायम रहिरह्यो । पञ्चायतकालमा त्यहाँका पूर्वराजाहरु राजनीतिमा लागेर सर्वेसर्वा भए ।

लोकबहादुर बिसीका अनुसार, रुकुम अहिले पनि पहिलाजस्तै सरकार बिरोधी छ । ‘किनभने सरकारमा बसेकाहरुको चरित्र यो जिल्लाले सुरुदेखि नै अनुभव गरेको छ’, उनी भन्छन्, ‘जनतालाई एक बचन नसोधी पार्टी एकीकरण हुँदा हामीलाई कुनै आश्चर्य लागेन, यो सत्ताको चरित्र हो ।’एकथरि नारायणहिटी दरवारमा पहुँच राख्ने वर्गमा उदाए । बहुसंख्यक जनता भने अपहेलित अवस्थामा रहे । त्यसैको झिल्को ‘द्वन्द्वकाल’मा देखियो । त्यो बेला राज्यले सामान्य जनतालाई माओवादी देख्दा ठूलो जनधनको क्षति भयो । फलस्वरुप रोल्पापछि रुकुम जिल्ला माओवादीको पकडमा गयो । अहिले नेकपा (एमाले) र माओवादी एकीकरण भए पनि रुकुममा त्यसको छनकसम्म पाइदैन ।

यही अतिवादका कारण माओवादीका पूर्व लडाकुहरुको रुचि विप्लव समूहको गतिविधिमा छ । विप्लव समूहको काम कारवाही यहाँका स्थानीयहरु चासो दिएर सुन्ने गर्छन् । केही नजिकका कार्यकर्ता बाहेक माओवादी नेतृत्वसँग असन्तोष व्यक्त गर्छन् ।

सामान्य जनता भने स-साना धार्मिक, सांस्कृतिक समूहमा एकत्रित भएका छन् । पहिले नास्तिक रुकुम जिल्लाको सदरमुकाममा अहिले ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, साइ केन्द्र, मानव धर्म सेवा समिति, सनातन धर्मका भवनहरु देखिन्छन् । गाउँहरुमा धमाधम चर्च पनि देखिन थालेका छन् ।

पूर्ण वली आफैं ब्रम्हकुमारी राजयोगमा आवद्ध रहेछन् । दाजुभाइ र आफन्तहरु मानव धर्म सेवा समितिमा लागेको उनले बताए । एक साँझ साहित्यकारको टोली उनको घरमा खाना खान पुग्दा त्यहाँ भजनकिर्तन चलिरहेको थियो ।

पहिलेको एउटा रुकुम अहिले दुई जिल्लामा बाँडिएको छ । पूर्वी रुकुम भनेर छुट्याइएको भूभागमा मगर समुदायको बाक्लो बस्ती छ । ती बस्तीमा धमाधम चर्चहरु बनिरहेका छन् । क्षेत्रीबहुल पश्चिम रुकुममा हिन्दुका बिभिन्न धार्मिक गतिविधि बढेका छन् । निर्वाचनमा भने ईश्वरको अस्तित्व स्वीकार नगर्ने माओवादीले सफलता पाएको छ ।

जहाँसम्म विकासकोे कुरा छ, मध्यपहाडी लोकमार्ग निर्माणसँगै त्यो लहर पनि आउनसक्ने देखिन्छ । त्यो सम्भावनाको उत्साह जिल्ला यात्रामा राम्रैसँग अनुभव गर्न सकिन्छ ।

कामना गरौं- रुकुम एउटा अतिवादबाट अर्को अतिवादतर्फ नजाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment