+

मलाई थाहा थियो, म मेस्सी होइन ….

२०७५ मंसिर  २१ गते १७:०० २०७५ मंसिर २१ गते १७:००
मलाई थाहा थियो, म मेस्सी होइन ….

काठमाडौं । बोजान क्रिकिस, यो नाम पछिल्लो पुस्ताका धेरैका लागि नौलो हुन सक्छ । तर, उनी एक समय लियोनल मेस्सीसँग तुलना गरिएका स्पेनिस स्टार हुन् ।
अहिले २८ वर्ष पुगेका उनी इंग्लिस फुटबलको दोस्रो डिभिजनमा स्टोक सिटीबाट खेलिरहेका छन् ।

मेस्सी विश्व फुटबलमा उदाएपछि धेरै खेलाडीलाई उनीसँग तुलना गरिएको छ । कतिलाई त्यसले फाइदा पनि पुगेको छ । बोजान भने आफूलाई मेस्सीसँग तुलना गरिँदा धेरै दबाव महसुस भएको र कठिनाइहरु आएको बताउँछन् ।

सानो बेलामा नै बोजानको फुटबल कला सबैलाई आश्चर्यचकित पार्ने खालको थियो । आफूले ठूलो आश राखेर फुटबलमा धेरै मेहनत गरेको बोजान बताउँछन् । बार्सिलोनाको युवा टिममा रहेर ८ सय ५० गोल गरेका बोजान मुख्य टिममा उत्कृष्ट खेल देखाउन चाहन्थे । तर, २० वर्षको उमेरमा नै उनी बार्सिलोना छाडेर इटालियन क्लब रोमा गए । बार्सिलोनामा १ सय ६३ खेल खेदिसक्दा पनि प्लेइङ सेटमा पर्न गाह्रो भएपछि उनी रोमा लागेका थिए ।

रोमापछि उनले एसी मिलान, एजाक्स, मेन्ज, अलाभेस र स्टोक सिटीमा खेलिसकेका छन् । बार्सिलोनामा हुँदा आफूले मनबाट नभई दिमागबाट निर्णय लिएर हिँडेको बताउने उनी इंग्ल्याण्डमा रहँदा राम्रो अनुभव भइरहेको बताउँछन् ।

सम्मानको खोजी

बोजान स्टोक सिटी आएको झण्डै साढे चार वर्ष भयो । स्टोकबाटै १८ महिना लोनमा अरु क्लबमा गए उनी ।

बोजान भन्छन्, ‘इंग्ल्याण्डमा हुँदा मैदानमा मात्रै होइन मैदानबाहिर पनि सम्मानित महसुस गरिरहको छु । स्पेनमा इंग्ल्याण्डमा आˆनो फुटबल करिअरदेखि म सन्तुष्ट छु । स्पेनमा अवस्था अर्कै थियो । यहाँ मानिसहरु सम्मान दिइरहेका हुन्छन् ।’

‘च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि खेलेँ, ठूला भनिएका टिमहरुसँग खेलेँ । अहिले च्याम्पियनसिपमा खेलिरहेको छु । सोचेर ल्याउँदा यो कठिन परिस्थिति हो तर पनि मलाई रमाइलो लागिरहेको छ ।’ उनले थपे ।

खेलाडी कुनै खेल जित्दा राम्रो हुने र हार्दा नराम्रो हुने नभइ खेललाई ध्यान दिनुपर्ने बोजाको धारणा छ । उनी भन्छन्, ‘स्पेन र इटालीमा हुँदा खेल जित्यो भने मानिसहरु राम्रो खेलाडी भन्छन्, खेल हार्दा उही खेलाडी नराम्रो भन्छन् । अझ इटालीमा त खेल हारेपछि सडकमा निस्कन पनि मुस्किल हुन्छ ।’

‘एकपटक रोमामा हामीले एक खेल हारेर निस्कदा समर्थकहरुले घेरेर भनेका थिए, ‘यो खेल हारे पनि ठीकै छ तर अर्को खेलमा लाजियोसँग हार्न हुँदैन, कुनै पनि हालतमा हार्न हुँदैन ।’ उनीहरुको कुराले म दंग परेँ । असाध्यै नराम्रोसँग भनेका थिए ।’

‘सबै खेलाडीलाई होइन, केहीलाई अरुको कुराले दबाव महसुस हुन्छ र खेल्न नै कठीन हुन्छ’ उनले भने ।

मेस्सीसँगको तुलनाले दबाव

युथ टिममा बोजानले गरेका गोलहरु हेरेर नै मानिसहरु उनलाई मेस्सीसँग तुलना गर्न थालेका थिए । मेस्सीभन्दा तीन वर्ष कान्छा बोजान र मेस्सीको गोल गर्ने कला मिले पनि त्यो दबावले बोजानलाई भने सकस भयो ।

‘तपाइँले जे गर्न सक्नुहुन्छ त्यो मात्रै तपाइँको नियन्त्रणमा रहन्छ,’ उनले भने । १७ वर्षको उमेरमा नै च्याम्पियन्स लिगमा गोल गरेका बोजान अहिले इंग्लिस फुटबलको दोस्रो डिभिजनमा रहँदा केही नराम्रो भने लागेको बताउँछन् । उनले बार्सिलोनामा हुँदा २००८-०९ र २०१०-११ को च्याम्पियन्स लिग नै जितेका थिए ।

‘मैले पहिलो वर्ष नै बार्सिलोनाको सिनियर टिमबाट ला लिगामा १० गोल गरेँ । त्यो पछि त झनै मानिसहरुले नयाँ मेस्सी भन्न थाले । त्यसले ममा दबाव बढ्यो’ उनले भने,
‘त्यसमा मैले गर्न सक्ने सबै गरेकै हुँ । मलाई थाहा थियो, म मेस्सी होइन । म बोजान हुँ । मानिसहरुले मलाई नयाँ मेस्सी नभनिदिएको भए हुन्थ्यो, म अझै राम्रो बोजान बन्न सक्थेँ’ उनले भने ।

‘म इटाली गइसक्दा पनि मेस्सीको ट्यागले मलाई पछ्याउन छाडेको थिएन । म रोमा र एसी मिलानमा जाँदा पनि बोजान थिइनँ, एउटा नयाँ केटो, नयाँ मेस्सी थिएँ’ उनले भने, ‘मेस्सी बन्नु सजिलो कुरा होइन । जस्तो कि मेस्सीले लगातार तीन खेलमा गोल गरे, तपाइँले गर्नुभएन भने तपाइँ मेस्सी हुनुभएन । मेस्सीले पाएका हरेक सफलतामा मेस्सी जस्तै बन्न जोसुकै नयाँ खेलाडीलाई पनि कठीन हुन्छ ।’

‘तपाइँले हरेक खेलमा राम्रो खेलेर मात्रै भएन, मेस्सीले जस्तै खेल्नुपर्‍यो । उत्कृष्ट नै हुनुपर्‍यो । त्यही कुरा हो जसले मलाई अप्ठ्यारोमा पार्‍यो ।’

२० वर्षमा लिएको त्यो निर्णय

२० वर्षको उमेरमा बार्सिलोनाबाट खेलेका १ सय ६३ खेलमा उनले ४१ गोल गरेका थिए ।

बार्सिलोनामा उनले तीनपटक ला लिगा, दुई पटक च्याम्पियन्स लिग, दुई स्पेनिस सुपर कप, कोपा डेल रे, युइएफए सुपर कप र क्लब विश्वकप जितेका थिए ।

बार्सिलोनाको युथ टिममा रहेका उत्कृष्ट खेलाडीहरु जाभी, इनिएस्टा, बुस्केट्स, पियोल र मेस्सीले आˆनो खेल जीवनको उत्कृष्ट समय बार्सिलोनामा नै बिताउँदा भर्खर २० वर्ष पुगेका बोजानले भने क्लब छाड्ने निर्णय गरे ।

‘म यस्तो ठाउँमा थिएँ जहाँ अरु क्लबमा गएर खेल्ने र अरु सहरमा बस्ने कल्पना नै हुँदैन । मैले क्लब छाड्ने निर्णय मनबाट गरेकै होइन, मनले यो तेरो ठाउँ हो, तेरो सहर हो नछाड भनिरहेको थियो’ उनले भने, ‘अहिले मैले बुझिरहेको छु, बार्सिलोनाभन्दा बाहिर पनि एउटा सुन्दर विश्व रहेछ । मैले ढोका खोल्न सकेँ र पो यो सबै बुझेँ ।’

‘यदि तिमी कमजोर छु जस्तो देखायौ भने मानिसहरुले ठाडै खाइदिन्छन् । टिममा २५ भन्दा धेरै खेलाडी हुन्छन् जहाँ अवसर पाउने त ११ जनाले मात्रै हो । त्यसैले सधैँ बलियो बनेर बस्नुपर्छ ।’

सर्वियन रगत

बोजानका पिता सर्वियाका फुटबलर हुन् । उनी पछि स्पेन क्याटालोनिया बसाईं सरेका थिए । बोजान बार्सिलोना जानुअघिदेखि नै बार्सिलोना समर्थक थिए ।

बोजानले स्पेनका लागि पनि एक खेल खेलेका छन् । विश्वकप छनोट २००८ मा उनले अर्मानियाविरुद्ध स्पेन राष्ट्रिय टिमको जर्सी लगाएर खेलेका थिए । त्यसपछि नै सर्वियन भएको भन्दै फिफाले स्पेनबाट खेल्न उनीमाथि प्रतिबन्ध लगाइदियो । २०१६ मा उनले राष्ट्रियता परिवर्तन गर्न आवेदन दिए पनि स्वीकार भएन ।

‘मेरो आमा क्याटालोनियाकै भए पनि हो ममा सर्वियन रगन नै छ । बार्सिलोनामा खेल्नुअघि म हरेक वर्ष सर्विया जान्थेँ । अहिले पनि समय मिलेको बेला गइरहेको हुन्छु’ उनले भने, ‘म सानो हुँदा सर्वियन भाषा नै राम्ररी बोल्थेँ । त्यसपछि क्याटालान र पछि स्पेनिस सिकेँ । अहिले त बोल्न छाडेर मेरो सर्वियन नराम्रो भइसक्यो ।’

बीबीसीको सहयोगमा

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय