+
+
Shares

११ आयोजनाले पाए विद्युत् उत्पादन अनुमतिपत्र

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २३ गते १०:५९

२३ मंसिर, काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् ।

चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको तिला एक, ४२० मेगावाट क्षमताको तिला दुई ठूला आयोजना हुन् । ती आयोजना एससी पावर कम्पनीले निर्माण गर्न लागेका हुन् ।

यस्तै २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाले पनि त्यस्तो अनुमतिपत्र लिएको छ ।  सो आयोजनाको प्रवर्द्धक मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी रहेको छ ।

कूल १४० मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको प्रवर्द्धक बुटवल पावर कम्पनी रहेको छ । उक्त आयोजनाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ ।

विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार हृयाबिट्याट पावर कम्पनीले निर्माण गर्ने पाँच मेगावाट क्षमताको हेवा ए, युनिटेक हाइड्रो पावर कम्पनीले निर्माण गर्ने पाँच दशमलव आठ मेगावाट क्षमताको माथिल्लो फावाले पनि हालै विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ ।

सेञ्चुरी इनर्जी प्रालिले प्रवर्द्धन गर्ने शून्य दशमलब नौ सात मेगावाट क्षमताको हाडी खोला, गोरक्ष इनर्जी प्रवर्द्धक रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ ।

नीलगिरि खोला हाइड्रो पावर कम्पनीको प्रवर्द्धनमा निर्माण हुने ६२ मेगावाटको नीलगिरि खोला र शक्ति ऊर्जा विकास कम्पनीले प्रवर्द्धन गर्ने शून्य दशमलब नौ पाँच मेगावाट क्षमताको तौथली खोलाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ ।

विभागका अनुसार हाल सरकारको बास्केटमा रहेका आयोजनाको सङ्ख्या १०२ छन् । ती आयोजनाको क्षमता दुई हजार ७७० मेगावाट रहेको छ ।

यस्तै एक मेगावाटभन्दा माथि रहेका कूल ७४ आयोजनाबाट एक हजार तीन मेगावाट र एक मेगावाटभन्दा साना १५ आयोजनाबाट ११ मेगावाट गरी कूल एक हजार ११४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?