Comments Add Comment

हुवावे काण्डले चर्काउँदै अमेरिका–चीन व्यापार युद्ध

२४ मंसिर, काठमाडौं । क्यानडामा हालै चिनियाँ कम्पनी हुवावेकी एक उच्च अधिकारी पक्राउ परेको घटनापछि प्रविधि उद्योगमा हलचल नै मच्चिएको छ भने चीन र अमेरिका बीचको व्यापार युद्ध झनै पेचिलो बन्ने देखिएको छ ।

अमेरिकी अधिकारीहरुको आग्रहमा हुवावेकी प्रमुख वित्तिय अधिकृत मेंग वान्झोउ गत शनिवार क्यानडाको भ्यानकुभरमा पक्राउ परिन् ।

क्यानेडाली अभियोजकहरुका अनुसार इरानमाथिको प्रतिबन्धको उल्लंघनका लागि हुवावेले भूमिका खेलेको आरोप अमेरिकी अधिकारीहरुले लगाएका छन् ।

हुवावे कम्पनी अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चुनौती बनेको आरोप अमेरिकी सांसदहरुले लगाउँदै आएका छन् । तर चीनले भने हुवावे कम्पनीकी अधिकारी मेंगलाई रिहा गर्न आग्रह गरेको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा अमेरिकाको आलोचना गर्दै व्यवसायिक प्रतिस्पर्धीको रुपमा रहेको हुवावे कम्पनीलाई धरासायी बनाउने प्रपञ्च गरेको जनाएको छ ।

विज्ञहरुका अनुसार यो घटनाले अमेरिका र चीनको वृहत व्यापारिक सम्बन्धमा ठूलो प्रभाव पार्ने देखिएको छ ।

के हो हुवावे ?

चिनियाँ कम्पनी हुवावे विश्वभर स्मार्टफोन तथा टेलिकम उपकरणहरु उत्पादन र बिक्री गर्ने कम्पनी हो । यसको मुख्यालय चीनको शेन्झेनमा रहेको छ । अघिल्लो वर्ष हुवावे कम्पनी विश्वको दोश्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी बनेको थियो । आइडिसीका अनुसार स्मार्टफोन बिक्रीको हिसाबले सामसुङपछि हुवावे दोश्रो स्थानमा रहेको छ । हुवावे कम्पनीले एप्पलले भन्दा धेरै स्मार्टफोन बेच्न सफल भएको छ ।

चीनमा प्रविधि क्षेत्रको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको हुवावेले विश्वमा प्रविधि जगतको सुपरपावर बन्ने चिनियाँ लक्ष्यपूर्तिमा ठूलो भूमिका खेल्ने देखिएको छ । यो कम्पनीले फाइभ जी टेक्नोलोजीको विकासमा काम गरिरहेको छ । सुपर फास्ट वायरलेस नेटवर्कको क्षेत्रमा प्रभुत्व कायम गर्ने चीनको योजना पूरा गर्नमा यो निकै महत्वपूर्ण सावित हुनेछ ।

तर हुवावेका स्मार्टफोनले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको गुनासोसँगै कम्पनीको विश्वव्यापीकरणमा गम्भीर प्रभाव परेको छ ।

अमेरिकाले आफ्ना जनतालई हुवावेका स्मार्टफोन नकिन्न भनेको छ भने सरकारी एजेन्सीहरुमा हुवावेका स्मार्टफोन तथा अन्य उपकरण खरीदमा प्रतिबन्ध लगाएको छ । उता बेलायत, न्युजिल्याण्ड र अष्ट्रेलियाले पनि फाइभ जी नेटवर्कमा हुवावेका उपकरण प्रयोगमा रोक लगाएका छन् ।

तर आफ्ना उत्पादनहरुमा विश्वका १ सय ७० देशले विश्वास गरिरहेको हुवावेले जनाएको छ । सन् २०१८ को पहिलो त्रैमासिकमा कम्पनीले ४७ अर्ब ४० करोड आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा १५ प्रतिशतले बढी हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment