Comments Add Comment

इटालियन फुटबलमा त्यो १५ सेकेण्ड

२४ मंसिर, काठमाडौं । युभेन्टस र इन्टर मिलानबीच १९९८ अप्रिल २६ मा भएको एउटा खेल, ९० मिनेटको खेल मध्ये पनि त्यो १५ सेकेण्ड, जसले इटालियन फुटबलमा अहिलेसम्म माहौल तताइरहेको छ छ । दुई क्लब युभेन्टस र इन्टर मिलान अहिलेसम्म मुख्य प्रतिस्पर्धी बनेका छन् ।

‘सिरी ए’ मा अन्तिम चार खेल बाँकी हुँदा इन्टर मिलान युभेन्टसभन्दा एक अंकले पछि थियो । घरेलु मैदान स्टेडियो डेले एल्पीमा डेल पिएरोको गोलले २१ औँ मिनेटमा अग्रता बनाएको युभेन्टसलाई बराबरीमा ल्याउने अवसर इन्टर मिलानले ६९ औँ मिनेटमा पाएको थियो ।

जतिबेला इन्टर मिलानका इभान जामोरानोले गोलका लागि बल बढाएका थिए । उनले बल लैजाँदा युभेन्टसका डिफेन्डर केही अस्तव्यस्त बनेका थिए । इभानसँग जुधेर फुस्किएको बल रोनाल्डोले भेट्टाए । डिबक्सभित्रबाट उनले पोस्टमा प्रहार गर्नुअघि नै युभेन्टसका डिफेन्डर मार्क लुलियानोले उनलाई लडाइदिए ।

इन्टर मिलानका खेलाडीहरु फोउलको माग गरिरहेका बेला युभेन्टसले काउन्टरमा बल बढायो । दर्शक, प्रशिक्षकदेखि सबैका आँखा रेफ्री पिएरो चेकारिनीमा थियो, उनले प्ले अनको इशारा गरे ।

इन्टर मिलानका प्रशिक्षक लुइजी सिमोनी मैदानभित्रै पसेर रेफ्रीको विरोध गरिरहेका थिए । युभेन्टसका एडगर डेभिडले बल बढाएर जिनेदिने जिदानलाई पास दिए । जिदानले बल दौडिरहेका डेल पिएरोलाई दिए ।

इन्टर मिलानका डिफेन्डर टारिवो वेस्टले उनलाई रोक्न लागिरहेका थिए । पिएरोले बल हान्न लाग्दा उनको खुट्टा भुँइमा ठोक्कियो र डिबक्सभित्र लडे । रेपि|mले फोउलको इशारा गरे र युभेन्टसलाई पेनाल्टी दिए । पिएरोले गोल त गरेनन् तर, इन्टर मिलानले नपाएको पेनाल्टीले खेलमा ठूलो प्रभाव बन्यो ।

त्यतिबेला चर्किएका खेलाडी, प्रशिक्षक र दर्शक अहिलेसम्म पनि उस्तै छन् । उनीहरुले मैदानमा गरिरहेको विरोधको कुनै वास्ता भएन ।

त्यो समय इटालियन फुटबल वैभवको अवस्थामा थियो । विश्वस्तरीय खेलाडीहरुले युभेन्टस र इन्टर मिलानको टिम भरिएको थियो ।

मार्सेलो लिप्पी प्रशिक्षक रहेको युभेन्टसमा डिडिएर डेसच्याम्प्स, एडगर डेभिड्स, फिलिपो इन्जाजी, जिनेदिने जिदान, एन्टोनियो कोन्टे र डेल पिएरो जस्ता खेलाडी थिए । इन्टर मिलानमा जेभिएर जानेटी, डिएगो सिमोन, आरोन विन्टर, युरी डेजरकेफ र रोनाल्डोजस्ता खेलाडी थिए ।

त्यो विवादास्पद अवस्थामा कोही पनि भिलेन भएनन् । त्यसको जिम्मा रेप|mी पिएरो चेकारिनीमा नै देखियो । भएको फोउलमा पेनाल्टी दिएनन्, नभएको फोउलमा पेनाल्टी दिए, जसले सिरी ए विजेता नै तलमाथि भयो ।

इटालियन फुटबल हल्लाइदिने गरी २००६ मा भएको म्याच फिक्सिङ काण्डपछि युभेन्टस ‘सिरी बी’मा रेलिगेसन भएको थियो । त्यतिबेला फुटबल विश्लेषकहरुले भनेका थिए, ‘इटालियन फुटबलमा रेफ्रीलाई डर, धम्की दिएर वा पैसाको खेलमा म्याच फिक्सिङ हुने गरेको पहिलेदेखि नै हो । ०९८ को युभेन्टस र इन्टर मिलानबीचको खेल हेर्दा पनि त्यो थाहा हुन्छ ।’

युभेन्टस रेलिगेसनमा परेर इन्टर मिलानले सिरी ए जितेपछि दुई क्लबबीचको प्रतिद्वन्द्वी चरित्रमा झनै विकास भएको थियो । ‘त्यही घटनापछि इटालियन फुटबलमा गएको २० वर्षमा त्यो कटुता र विषालुपन देखिने प्रतिस्पर्धा झनै बढिरहेको छ’ इटालियन फुटबल विज्ञ जेम्स हर्नकास्टलले भनेका छन्, ‘युभेन्टस र इन्टर मिलानबीचको खेललाई डर्बी डिटालिया भनेर १९६० को दशकमा नै खेल लेखक जियानी बेराले नाम दिएका थिए । किनभने त्यो बेलासम्म यिनै दुई क्लबले धेरै उपाधि जितिरहेका थिए । उनले दिएको नाम भने १९९८ को त्यही खेलपछि झनै सार्थक बन्यो ।’

१९९८ को त्यही १५ सेकेण्ड अहिलेसम्म पनि युभेन्टस र इन्टर मिलानका समर्थकले भुलेका छैनन् । खेलपछि युभेन्टसका खेलाडी विजयोत्सवमा थिए भने इन्टर मिलानका खेलाडी नराम्ररी टुटेका थिए ।

कुरा त्यतिमै सकिएन । त्यसको तीन दिन पछि हुनुपर्ने पेनाल्टी नदिइएको र नहुनुपर्ने पेनाल्टी दिइएको भन्दै इटालीको संसदमा सांसदहरु पक्ष विपक्षमा बहसमा उत्रिए ।
युभेन्टसबाट १९८० को दशकमा उपाधि जितेका मासिमो मोउरो सांसद थिए । उनी युभेन्टसको पक्षमा चर्को बोलिरहेका थिए भने अर्का सांसद डोमेनिको ग्रामाजियो रेफ्रीले भुल गरेर इन्टर मिलान अन्यायमा परेको बताइरहेका थिए ।

सांसद ग्रामाजियोले अफिसियलतर्फ संकेत गर्दै संसदमै भने, ‘तिनीहरु सबै चोर हुन् ।’ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको संसद बैठकमा सांसदहरुको चर्काचर्की सर्वसाधरणसम्म पुग्यो ।

बैठकमा उपप्रधानमन्त्री वाल्टर भेलटोरोनीले मध्य धार अपनाएर सबैलाई शान्त पार्ने कोशिस गरे । उनले भनेका थिए, ‘खेल हुँदा हामी मैदानमा थिएनौँ । खेलमा भएको निर्णयमा संसदमा यसरी बहस गर्नु शर्मनाक र बेतुकको छ ।’

त्यसबेला रेफ्री रहेका पिएरो चेकारिनीले २०१६ मा खेलबारे प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘लामो समय बितिसक्यो तर, अहिलेसम्म पनि म के कुरामा विश्वस्त छु भने रोनाल्डोविरुद्ध त्यो बेला फोउल भएको थिएन । त्यो कन्ट्याक पेनाल्टी हुने खालको हुँदै होइन । तर, दुःखको कुरा धेरैले त्यसमा मेरो दोष देखाउँछन् । म भन्न चाहन्छु जस्तोसुकै आश्वासन या धम्की आएकै भए पनि त्यसलाई म पेनाल्टी कदापि दिँदैनथेँ ।’

समय जति नै बिते पनि इन्टर मिलानका समर्थकले उक्त खेललाई अहिलेसम्म ‘ला ग्रान्डी रुबेरीया’ अर्थात एउटा ठूलो लुटपाटका रुपमा हेर्ने गर्दछन् ।

त्यस्तो प्रतिस्पर्धा पछिल्लो केही वर्षमा भने कमजोर बनेको देखिन्छ । युभेन्टसले लगातार ७ सिरी ए जित्दा इन्टर मिलान शीर्ष चारमा पनि दुई पटक मात्रै पुगेको छ । त्यसअघि २००५ देखि २०१० सम्म भने इन्टर मिलानले पनि लगातार पाँच पटक सिरी ए जितेको थियो ।

२०१६ मा चाइनिज व्यापारीले इन्टर मिलान किनेपछि भने उनीहरु ९० को दशकमा जस्तै छाप छाड्न लालायित छन्, जसले गर्दा मात्र २६ वर्षका स्टेभेन जांग इन्टर मिलानका अध्यक्ष बनाइएको छ । युभेन्टसमा ४३ वर्षका आन्द्रे एग्नेलीले ल्याएको परिवर्तन इन्टर मिलानमा स्टेभेनले ल्याउने विश्वास गरिएको छ ।

उक्त खेलमा के भएको थियो हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment